माथिल्लो त्रिशूली ३ ‘बी’को निर्माण पुनः शुरु

काठमाडौँ । कोभिड–१९ को महामारीको चपेटामा परेको कूल ३७ मेगावाटकोे माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजनाको काम पुनः शुरु भएको छ । नयाँ वर्ष मनाउन २०७६ साल माघको दोस्रो साता आफ्नो घर गएका चिनियाँ कामदारहरु कोभिड–१९ का कारण फर्कन नसक्दा र चीनबाट उपकरण तथा सामग्री ल्याउन नसक्दा पूर्ण रुपमा काम भइरहेको आयोजनाको निर्माण करीब १४ महिना ठप्प भएको थियो ।
ठेकेदार चिनियाँ कम्पनी सिचुआन एएनएचई हाइड्रोइलेक्ट्रिक इन्जिनीयरिङले अहिले मुख्य सुरुङ, विद्युत्गृह लगायतका संरचना निर्माणको काम गरिरहेको आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडका प्रबन्ध–सञ्चालक मोहनप्रसाद गौतमले बताए । अहिले निर्माणमा ६४ जना चिनियाँ र ८१ जना नेपाली श्रमिक खटिएका छन् । “नयाँ वर्ष मनाउन २०७६ को माघमा आफ्नो देश गएका ठेकेदार कम्पनीका कर्मचारीहरु कोभिड–१९ का कारण फर्कन नसक्दा करीब १४ महिना निर्माण ठप्प भएको आयोजनाको निर्माण निरन्तरको प्रयासपछि शुरु भएको छ”, उनले भने ।
चीनसँगका भन्सार नाकाहरु अझै पूर्ण रुपमा नखुल्दा ठेकेदार कम्पनीले चीनमा खरीद गरिसकेका तथा खरीद आदेश दिई उत्पादन र प्याकेजिङको चरणमा रहेका निर्माण उपकरण तथा सामग्रीहरु ढुवानी गरी निर्माणस्थलसम्म ल्याउन सकिएको छैन । चीनबाट उपकरण आयातका विषयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ, अर्थ मन्त्रालय लगायतका निकायसँग आवश्यक समन्वय भइरहेको गौतमले उल्लेख गरे । जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत रसुवा र नुवाकोटमा निर्माणाधीन ३७ मेगावाटकोे माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजना गत फागुन भित्रै सम्पन्न लक्ष्य राखी निर्माण शुरु गरिएको थियो ।
कोभिड–१९ का कारण लगातार १४ महिना काम बन्द भएको र यस वर्षको हिउँदमा पनि काम शुरु हुन नसकेकाले आयोजनाको निर्माण २०७९ चैतभित्रमा सक्ने लक्ष्य राखिएको छ । इन्जिनीयरिङ, खरीद तथा निर्माण ९इपिसी० मोडेलमा आयोजना निर्माणका लागि चिनियाँ कम्पनी सिचुआन एएनएचई हाइड्रोइलेक्ट्रिक इन्जिनीयरिङसँग २०७४ साल माघ २९ गते तीन करोड १८ लाख ४७ हजार अमेरिकी डलर र रु एक अर्ब ९१ करोड ४६ लाखमा ठेक्का सम्झौता भएको थियो । ठेकेदार कम्पनीले आयोजनाको सिभिल, इलेक्ट्रोमेकानिकल र हाइड्रो मेकानिकल तर्फका सम्पूर्ण संरचना र उपकरणको डिजाइन, निर्माण, जडान तथा सञ्चालन गर्नेछ ।
आयोजनाको समग्र भौतिक प्रगति ४७ प्रतिशत छ । आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडमा जनताको जलविद्युत् कार्यक्रम अन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री पत्नी राधिका शाक्य, तत्कालीन ऊर्जामन्त्री वर्षमान पुन लगायतको २०/२० कित्ता शेयर छ । कम्पनीले सर्वसाधारणका ३७ लाख पाँच हजार कित्ता शेयर बिक्री गर्दा प्रधानमन्त्री, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री लगायतले खरीद गर्नुभएको थियो । आयोजनाको ३.८ किलोमिटर मुख्य सुरुङमध्ये १.८ किलोमिटर खनिएको छ ।
विद्युत् गृहको पहिलो चरणको खन्ने र सपोर्टको काम क्रमशः ७६ र ३५ प्रतिशत सकिएको छ । नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको ६० मेगावाटको माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको क्यास्केड भएकाले त्रिशूली ३ ‘बी’ले बाँध, बालुवा थिग्र्याउने पोखरी (डिसेन्डर) लगायतका संरचना बनाउनु पर्दैन । माथिल्लो त्रिशुली थ्री ‘ए’को विद्युत् गृहबाट निक्लिएको पानीलाई आयोजनाको सुरुङमा पठाउन आवश्यक पर्ने गेट जडान गरिसकिएको छ । सोही विद्युत् गृहबाट निक्लिएको पानीलाई आयोजनाको सुरुङसम्म ल्याउनका लागि आवश्यक पर्ने ‘बक्स कल्भर्ट’ बनाउन शुरु गरिएको छ । आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडमा प्राधिकरण र नेपाल टेलिकमको ३०/३० प्रतिशत संस्थापक शेयर छ ।
कम्पनीमा रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको पाँच, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको पाँच, रसुवा तथा नुवाकोटवासीको १०, सर्वसाधारणको १५ र प्राधिकरण तथा टेलिकमका कर्मचारीको पाँच प्रतिशत शेयर रहनेछ । अनुमानित निर्माण लागत सात अर्ब ४४ करोड र निर्माण अवधिको प्रक्षेपित ब्याज रु ७८ करोड रहेको छ । आयोजनामा ३० प्रतिशत इक्विटी (दुई अर्ब ४७ करोड) र ७० प्रतिशत ऋण (पाँच अर्ब ७६ करोड)बाट लगानी जुटाइएको छ ।
आयोजनाबाट सुक्खायाममा (मङ्सिर १६ देखि जेठ १५ सम्म) १३ करोड ४८ लाख ८० हजार र वर्षायाममा (जेठ १६ देखि मङ्सिर १५ सम्म) १५ करोड ७७ लाख १० हजार युनिट विद्युत् उत्पादन हुनेछ । आयोजनाको विद्युत् गृहबाट करीब तीन किलोमिटर प्रसारण लाइनमार्फत त्रिशूली ३ ‘बी’ हब सबस्टेशनमा पु¥याई राष्ट्रिय प्रसारण लाइनमा प्रवाह गरिनेछ । ––– रासस
















जम्मु कश्मीरमा हिम–पहिरो, ७ जनाको मृत्यु
ग्रीसको समुन्द्री तटमा फसेको डुङ्गामा ६ दिन पछि २२ जना आप्रवासीको मृत्यु
छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु
प्रधानमन्त्रीद्वारा भारत र पाकिस्तानका नेताहरुप्रति कृतज्ञता व्यक्त, सहकार्यको प्रतिबद्धता
मेक्सिकोमा हराएका एक लाख ३० हजार मध्ये करिब ४० हजार अझै जीवित
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँले मुल्य बढ्यो
सिरहा हत्या प्रकरण : ५४ दिनमा पनि पत्ता लागेन दोषी
तीन महिनाका लागि एन्फा निलम्वन
प्रतिक्रिया