८० वर्ष पुरानो मौलिक गोल घरमा प्रवलीकरण
गोरखा । गोरखाको सिरानचोक गाँउपालिका वडा नम्बर ७ सिरानाथकोटमा ८० बर्ष पुरानो ऐतिहासिक महत्व बोकेको ढुंगामाटोले बनेको परम्परागत गोल घरको प्रवलीकरण गरिएको छ ।
सिरानचोक गाँउपालिका तथा भारत सरकारद्धारा सहयोग प्राप्त नेपाल आवास पुनर्निर्माण परियोजनाको समन्वयमा उक्त गोल घरको प्रवलीकरण गरिएको हो । २०७२ सालको भूकम्पले आंशिक क्षति भएको गोल घर पुर्खौली घर भएकाले समेत संरक्षण गर्न आवश्यक रहेको ८१ बर्षीय घरधनी डोलानाथ पाण्डेले बताए । उनले भने, “हाम्रा पालामा धेरै गोल घर बन्ने चलन थियो, ति सबै बनेका घरहरु भूकम्पले पूर्ण क्षति भए, र यो घर भने आंशिक क्षति भएर बचेकाले प्रवलीकरण गर्न पाउँदा निकै खुसी छु, यो घरले हाम्रो मौलिक परम्परा जिवन्त राख्ने छ ।”
ऐतिहासिक एवम् मौलिक संरचनाहरुको सम्र्वधन र संरक्षणमा जोड दिने कार्यलाई निरन्तरता दिने क्रममा गोल घर पनि मौलिक संरचना भएकाले यस घरलाई समेत प्रवलीकरण माध्यमबाट भूकम्प प्रतिरोधी बनाई जगेर्ना गर्न गाँउपालिका समेत लागि परेको गाँउपालिका अध्यक्ष राजु गुरुङ्गले जानकारी दिए । “गाँउपालिकामा समेत गोल घर नमुनायुक्त भएकाले परियोजनाको सहजिकरणमा प्रवलीकरण गर्नु आवश्यक छ ,” अध्यक्ष गुरुङ्गले भने । मौलिक घरको जगेर्ना गर्न गोल घरमा प्रवलीकरण गर्नु अति महत्वपुर्ण रहेको र परियोजनाको सहजिकरणमा यो कार्य सम्भव भएकोमा परियोजना प्रति उपाध्यक्ष रिता देवकोटाले बताईन् ।
भूकम्प पश्चात आशिंक क्षति भएका मौलिक तथा पुराना ढुंगामाटोले बनेका परम्परागत घरमा परियोजनाले कार्यस्थलमै स्थानीय डकर्मीको क्षमता अभिवृद्धि समेत गर्दै आएको छ । पालिकामा समेत नमुनाका रुपमा रहेको गोल घरमा तारजाली प्रविधिबाट प्रवलीकरणका साथै सो प्रविधि सम्बन्धी स्थानीय डकर्मीलाई क्षमता अभिवृद्धि गरिएको परियोजनका जिल्ला इन्जिनियर अमित श्रेष्ठले बताए । परियोजनाले हाल सम्म सामाजिक प्राविधिक सहजिकरण गरेर आफ्नो कार्य क्षेत्र रहेको गोरखा नगरपालिकामा ८, पालुङ्गटार नगरपालिका १५, सिरानचोक गाँउपालिका ६,शहिदलखन गाँउपालिका २, आरुघाट गाँउपालिकामा २,धार्चे गाँउपालिकामा ५ र गण्डकी गाँउपालिकामा गरि हाल सम्म जम्मा ४६ वटा घरमा प्रवलीकरण गरेको छ ।
साथै, परियोजनाले ढुंगामाटोले बनेको घरमा प्रवलीकरण सम्बन्धी ५१८ जना स्थानीय डकर्मीको क्षमता अभिवृद्धि तालिम दिएको छ । सो दक्ष डकर्मीहरुको विवरण सम्बन्धित पालिकालाई यथाशीघ्र बुझाउने तयारी गरेको परियोजनाका जिल्ला संयोजक घनश्याम खतिवडाले जानकारी दिए ।
प्रतिक्रिया