दम्पती हत्याको आरोपमा सात जना कारागार चलान

जलेश्वर । एक दम्पतीको हत्या प्रकरणमा पक्राउ परेका सात जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । घरमा सुतिरहेका अवस्थामा महोत्तरीको पिपरा गाउँपालिका–५ का ६५ वर्षीय मुसाफिर झा र उनकी ५८ वर्षीया पत्नी गीतादेवीलाई गत फागुन १० गते राति ओछ्यानसहित बेपत्ता पारी हत्या गरेको आरोपमा जिल्ला अदालत महोत्तरीेले पक्राउ परेका सात जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको हो ।
अदालतका श्रेस्तेदार मदनप्रसाद जयसवालका अनुसार हत्या भएका झा दम्पतीका छोरा मनिषको जाहेरीका आधारमा वादी नेपाल सरकार भएको अपहरण, शरीर बन्धक, ज्यान सम्बन्धी कसुर, अपराधिक षड्यन्त्र, लागुऔषध र चोरी मुद्दाका प्रतिवादी सात जनालाई पुर्पक्षका लागि जलेश्वर कारागारमा पठाइएको छ ।
न्यायाधीश डा रमेशप्रसाद रिजालको इजलासले प्रतिवादी कैलाश झा, हरेन्द्र ठाकुर, रामबाबु यादव, सुरेन्द्र यादव, राजेन्द्र भनिने राजिन्द्र यादव र विकास भनिने बबलु झालाई थुनामा राखी मुद्दाको कारबाही गर्ने र तारादेवी झालाई रु दुई लाख धरौटीमा तारेखमा राखी मुद्दाको कारबाही गर्ने आदेश भएकोमा तारादेवीले धरौटी रकम बुझाउन नसक्दा उनीसहित सातै जनालाई पुर्पक्षका लागि जलेश्वर कारागारमा पठाइएको हो । घटनामा संलग्न रन्जित मिश्र र तेजनारायण झाका हकमा पक्राउ पूर्जी म्याद जारी गर्न आदेश भएको हो ।
गत फागुन १० गते सुतेकै अवस्थामा घरबाट गायब झा दम्पतीको शव गत चैत १२ गते प्लाष्टिकका बोरामा राखेर गाडिएका अवस्थामा भेटिएको थियो । पिपरा गाउँपालिका–२ स्थित पिपरा–धिरापुर सडकखण्डमा गत वर्ष बाढीले २० फिट गहिरो हुने गरी माटो बगाई बनाएको खाल्डो पुर्ने क्रममा स्काइभेटरको बकेटमा कङ्काल रहेको बोरा भेटिएपछि झा दम्पतीको पत्तो लागेको थियो ।
घटनामा संलग्न नौ जनामध्ये जिल्ला प्रहरी कार्यालय महोत्तरीले सात जनालाई पक्राउ गरी मुद्दा चलाएर जिल्ला अदालतमा उपस्थित गराएकोमा सातै जना जेल चलान भएका हुन् । घटनामा संलग्न अन्य दुईको खोजी जारी रहेको महोत्तरीका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले बताए । रासस

















मधेस प्रदेशमा ४८१ थान इजाजत प्राप्त हतियार बुझाइयो
सिरहामा करेन्ट लागेर टिपर चालकको मृत्यु
22 candidates open bank accounts for election purpose
आज शुक्रबार कतिमा किनबेच हुँदैछ सुन ?
6 days to HoR election: Alcoholic products sale and consumption to be banned
साम्बाले भनिन् – उपचारखर्च जुटिसक्यो, सहयोग रोक्नुस्
मौद्रिक नीति अर्धवार्षिक समीक्षाः क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण
इटहरीवासीलाई बालेनले साेधे – तरकारी कहाँको खानुभयो ? बोर्डर पारीको ?’
सुरक्षा खतराको कारण घर छाडेका अष्ट्रेलियाका प्रधानमन्त्री निवासमा फिर्ता
क्रिकेटर करण केसीले गरे बिहे
प्रतिक्रिया