तनहुँको व्यास नगरपालिकाले वडावडामा गर्यो मेलमिलाप केन्द्र स्थापना

दमौली । तनहुँको व्यास नगरपालिकाले प्रत्येक वडामा मेलमिलाप केन्द्र स्थापना शुरु गरेको छ । सामान्य विवादका घटना वडामै मिलाउने उद्देश्यसहित नगरपालिकाले वडावडामा नै मेलमिलाप केन्द्र स्थापना शुरु गरेको हो ।
चौध वडा रहेको नगरपालिकाका पाँच वटा वडामा मेलमिलाप केन्द्र स्थापना भइसकेको नगरपालिकाका उपप्रमुख एवं न्यायिक समितिका संयोजक मीरा जोशीले जानकारी दिइन् । उनका अनुसार वडा नं १०, ११, १२, १३ र १४ वडामा मेलमिलाप केन्द्र स्थापना गरिएको छ ।
“सबै वडामा मेलमिलाप केन्द्र स्थापना गर्छौं, अहिले कोरोना जोखिमका कारण केही वडामा स्थापना गर्न ढिलाइ भएको छ”, जोशीले भनिन् ।
न्यायिक समितिमा मुद्दाको चाप घटाउने र सामान्य विवादका घटनालाई वडाबाटै निरुपण गर्ने उद्देश्यले मेलमिलाप केन्द्र स्थापना गर्न थालिएको जोशीले जानकारी दिइन् ।
“सबै मुद्दा न्यायिक समितिमा पठाउँदा मुद्दाको चाप बढी हुने गर्छ, सामान्य विवादलाई वडामै छलफलबाट टुङ्ग्याउन सकिन्छ”, जोशीले भनिन्, “कतिपय मुद्दाहरु सीधै न्यायिक समितिमा आए पनि त्यसलाई मेलमिलाप केन्द्रमा नै पठाउने गरिएको छ ।”
नगरपालिकाले सबै वडाका तीन/तीन जनालाई मेलमिलाप तालीम दिइसकेको छ । तालीम लिएकाहरु नगरपालिकाको मेलमिलापकर्ताका रुपमा सूचीकृत भएका छन् ।
“तालीम लिएका मेलमिलापकर्तालाई नै मेलमिलापका लागि खटाउँछौं”, उनले भनिन् । जोशीका अनुसार मेलमिलाप केन्द्रमा समाधान हुन नसकेका मुद्दा मात्रै न्यायिक समितिमा पठाइन्छ । “कतिपय मुद्दा न्यायिक समितिबाटै निरुपण गर्नुपर्ने हुन्छ, त्यस्ता मुद्दा मेलमिलाप केन्द्रबाट न्यायिक समितिमा आउँछ”, उनले भनिन्, “बाँकी सबै मुद्दालाई मेलमिलाप केन्द्रबाट मिलाउँछौं ।”
स्थानीय शासन ऐन २०७४ बमोजिम नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा न्यायिक समिति गठन भएको छ । न्यायिक समितिमा दर्ता हुने केही मुद्दामा न्यायिक समितिले फैसला गर्ने र केही मुद्दा मेलमिलापबाट टुङ्गो लगाउनुपर्ने कानूनी प्रावधान रहेको छ ।
स्थानीयस्तरमा शान्ति, सौहार्द र मेलमिलाप कायम गरी स्थानीय विकास प्रक्रियालाई टेवा पुर्याउन, महिला, दलित, आदिवासी, जनजाति, मधेशी, मुसलमान, पिछडा वर्ग, सीमान्तकृत समुदायको सशक्तीकरण गरी सहभागितामूलक तरिकाबाट विवाद समाधान गर्न सहयोग गरी समाजमा न्याय, मानवाधिकार र नागरिक हितको सम्बर्दनमा मेलमिलाप केन्द्रले सहयोग पुग्ने विश्वास गरिएको छ । (रासस)















रोशीमा बाढी आउँदा बिपी राजमार्ग बन्द
घुस लिएको आरोपमा सई दिनेश राउतविरुद्ध मुद्दा दायर
तेह्रथुममा नौ दिनदेखि हराइरहेकी महिला मृत फेला
सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश, हर्कले गरे स्वागत
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया