शुक्रबार, फागुन १५, २०८२

पर्वतमा कांग्रेसको पार्टी कार्यालयलाई कोभिड अस्पताल बनाईंदै

मेरोन्यूज २०७८ वैशाख २५ गते ९:२१

पर्वत । नेपाली कांग्रेस पर्वतको पार्टी कार्यालय भवनलाई कोभिड अस्पताल बनाइने भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

जिल्लामा सङ्क्रमण दर बढ्दै गएपछि नागरिकको उपचार सहज बनाउन विपी स्मृति भवनलाई कोभिड–१९ रोकथामका लागि अस्थायी अस्पताल बनाउन जिल्ला कोभिड व्यवस्थापन केन्द्रलाई स्वीकृति दिइएको हो ।

नागरिकले उपचारमा समस्या खेप्नुपरेकोले कोभिड अस्पताल बनाउन दिने निर्णय गरिएको कांग्रेसका केन्द्रीय सदस्य तथा भवन निर्माण समितिका संयोजक अर्जुनप्रसाद जोशीले बताए ।

सुविधासम्पन्न यो भवनमा ५० शैय्यासम्म राखेर सङ्क्रमितको उपचार गर्न सकिने उनको भनाइ छ । सदरमुकाम कुश्माबजारकै मुख्य भागमा रहेकाले यो भवनमा अस्पताल बनाउँदा सबैलाई सहज हुने जोशीले बताए ।

पर्वत सदरमुकाम कुश्माबजारमा गत वर्ष गुप्तेश्वर बहुमुखी क्याम्पसमा बनाइएको अस्थायी अस्पताल हटाएपछि अहिलेसम्म कोभिड अस्पताल सञ्चालनमा आउन सकेको छैन ।

स्याङ्जा पार्टी कार्यालयमा आइसोलेसन
यस्तै नेपाली कांग्रेस स्याङ्जाले आइसोलेसन कक्ष बनाउन आवश्यक परेमा पार्टी कार्यालय दिने निर्णय गरेको छ ।

कोभिड १९ सङ्क्रमणको जोखिम तथा नियन्त्रणका लागि आइसोलेसन वा कोभिड अस्पताल बनाउन पार्टी कार्यालय प्रयोग गर्न दिने निर्णय भएको कार्यबाहक जिल्ला सभापति बुद्धिबहादुर राना (कुमार) ले जानकारी दिए ।

“स्याङ्जामा पनि कोरोना सङ्क्रमितको दर बढेकाले अस्पतालमा शैय्या अभाव हुन सक्छ”, उनले भने, “बिरामीलाई राखेर उपचार गर्न ठाउँ अभाव भएमा पार्टी कार्यालयलाई आइसोलेसन वा कोभिड अस्पतालकारुपमा प्रयोग गर्न भवन उपलब्ध गराउने निर्णय गरेका हौं ।”

स्याङ्जा सदरमुकामस्थित अभियानपथमा रहेको भवनमा स्थानीय, प्रदेश, केन्द्रीय सरकार वा अन्य कुनै पनि गैह्रनाफामुखी संस्थाले आइसोलेसन कक्षकारुपमा प्रयोग गर्न चाहेमा तत्काल दिने उनले बताए । (रासस)

प्रतिक्रिया