बुधबार, फागुन १३, २०८२

मुलुकका अधिकांश भाग ठप्प, १० जिल्ला मात्र खुला

मेरोन्यूज २०७८ वैशाख २६ गते १७:१९

काठमाडौँ । तीव्रत्तर रुपमा फैलिरहेको दोस्रो लहरको कोभिड–१९ संक्रमणका कारण मुलुकका अधिकांश भाग ठप्प हुन पुगेका छन् । संक्रमण न्यूनीकरण हुनुको साटो बढ्दो क्रममा रहेकाले मुलुक झण्डै बन्दाबन्दीको अवस्थामा पुगेको छ । अत्यावश्यक बाहेकका गतिविधि वैशाख पहिलो सातादेखि ठप्प छ । मानिसको आवागमनसमेत प्रभावित हुँदै आएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

सरकारले संक्रमणको साङ्लो तोड्ने प्रयास जारी राखेको भए पनि कतिपय अवस्थामा कतै चुकेको देखिने र कतै सर्वसाधारणको हेल्चेक्र्याइँसमेत देखिएको जनस्वास्थ्यविद् औँल्याउँछन् । आजका मितिसम्म १० जिल्लाले मात्रै निषेधाज्ञा जारी गर्न बाँकी छ । झण्डै २० दिनको अवधिमा मुलुकका ६७ जिल्लामा निषेधाज्ञा जारी गरी संक्रमण रोकथामको प्रयास भइरहेको छ । त्यस्ता जिल्लामा अत्यावश्यक बाहेकका सबै गतिविधिमा रोक लगाइएको छ । त्यसमध्ये नौ जिल्लामा आंशिक निषेधाज्ञा छ ।

खुला रहेकामध्ये अधिकांश हिमाली जिल्ला छन् । देशका अधिकांश भाग ठप्प हुँदा आदेश जारी गर्न बाँकी रहेका ती जिल्लाका गतिविधिसमेत चलायमान हुन सकेको छैन । खुला रहेका १० जिल्लाले आदेश जारी गर्न बाँकी भए पनि मन्त्रिपरिषद्को यही वैशाख ६ गतेको निर्णयलाई आधार मानेर उच्च सावधानी अपनाउने तथा स्वास्थ्यका मापदण्ड पूर्ण कार्यान्वयनका लागि विभिन्न निर्णय गर्दै कोरोना फैलिन नदिन उच्च सावधानी अपनाउँदै आएको छ । केही जिल्ला भने निषेधाज्ञा जारी गर्ने तयारीमा पुगेका जनाइएको छ । अब निषेधाज्ञा जारी गर्न बाँकी रहेका जिल्लामा सोलुखुम्बु, मनाङ, मुस्ताङ, रसुवा, तेह्रथुम, खोटाङ, भोजपुर, पाँचथर, लमजुङ र रुकुम पूर्व रहेका छन् ।

यद्यपि लमजुङ भने केही वडामा सीमित गतिविधि रोक लगाएर नियन्त्रण प्रयासमा रहेको प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले जानकारी दिए । “यहाँ छिट्फुट संक्रमण देखिन्छ, महामारीको अवस्था छैन, फरक तरिकाले नियन्त्रण गर्ने प्रयास जारी छ”, प्रजिअ लुइँटेलले भने, “कसरी जाने भनेर छलफलमै छौँ ।” उनका अनुसार लमजुङमा अहिलेसम्म ९२ जना संक्रमित भेटिएका छन् । दुई सय संक्रमित नपुगेकाले उक्त जिल्लाले निषेधाज्ञा जारी नगरेको हो । तेह्रथुमले पनि भीडभाड हुने क्षेत्र तोकेर त्यस्ता गतिविधि रोक लगाइसकेको छ । पाँचथरले विभिन्न स्थानीय तहमा आलोपालो सेवा दिने गरी उच्च सावधानी अपनाउँदै आएको जनाएको छ । भोजपुरले पनि सीमित समय तोकेर मात्रै सञ्चालन गर्ने गरी आदेश जारी गरिसकेको छ ।

सोलुखुम्बुमा मन्त्रिपरिषद्को वैशाख ६ गतेको निर्णयअनुसार आदेश जारी गरी उच्च सावधानीका कार्यक्रम सञ्चालन गरिरहेको छ । अहिलेसम्म खुला रहेको ओखलढुङ्गा र सङ्खुवासभाले आज रातिदेखि लागू हुने गरी आदेश जारी गरिसकेको छ । मनाङले भने यही वैशाख १३ गतेको निर्णयअनुसार आवश्यक तयारीका साथ सम्पर्कमा रहेका व्यक्तिको परीक्षणलाई तीव्रता दिँदै संक्रमण भित्रिन नदिन सतर्कता अपनाउने निर्णय गरेको छ । मुस्ताङले जिल्ला प्रशासन कार्यालयबाट दिने अत्यावश्यकबाहेकका सेवा रोकिसकेको छ । मुस्ताङले अन्य निर्णय भने गरेको छैन । रसुवाले पनि प्रशासन कार्यालयबाट हुने अत्यावश्यक बाहेकका गतिविधिमा रोक लगाइसकेको छ । समग्रमा भन्दा खुला रहेका कतिपय जिल्ला पनि निकट भविष्यमा निषेधाज्ञा जारी गर्ने अवस्थामा पुगेका छन् ।

गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहाल आवश्यकतानुसार निषेधको आदेश जारी गरी रोकथाममा लाग्न जिल्लालाई निर्देशन दिइसकेको र सोही अनुसार आदेश जारी गरी कार्यान्वयन भइरहेको बताए । मुलुकमा पछिल्ला केही दिनमा नौ हजारको हाराहारीमा दैनिक संक्रमित फेला पर्दै आएका छन् भने दैनिक ५० भन्दा माथि मानिसको मृत्यु हुँदै आएको छ । रासस

प्रतिक्रिया