मम्मीको मंगलबार

काठमाडौं । मम्मी ! तपाईको छोरो पहिला झै ढिलोगरी ओछ्यानबाट उठ्छ । आङ बर्टार्दै । मोबाइल चलाउँछ । अनि आज के भन्ने था पाउँछ । सबैका फेसबुक, ट्वीटर लगायतका विभिन्न सामाजिक सञ्जालबाट ।
मम्मी ! मैले थाहा पाएँ । तपाईको मुख हेर्ने दिन ।
मंगलबारको दिन निशेधाज्ञा (लकडाउन) को समय । गत वर्ष बिहीबारको दिन पनि लकडाउन । मम्मी ! मैले कहिल्यै सिकिन आमा भन्न । तपाईले सिकाउनुभयो किताब पढ् भने झै मम्मी भन्न । त्यसैले मैले मम्मी ! गतवर्ष झै यो वर्ष पनि लकडाउन नै भन्छु, मम्मी !
………..
आज त सम्झनै पर्यो ! गत वर्ष के गरे ? त्यो बिहिबारभन्दा तपाई र मंगलबार म कहिल्यै बिर्सिदैन ।
२०४९ साल म कक्षा ३ मा पढ्दै गर्दा मंगलबारको दिन थियो । म र तपाईबीच भएका ति कुरा कहिल्यै बिर्सिदैन मम्मी !
मः— मम्मी ! रबीको घरमा आज खसी काट्दै छन्, कति ल्याउँने हाम्ले ? रबीले मलाई झ्यालबाट सोध्यो ।
मम्मी:— एक किलो ले न मज्जाले खाने ।
मः— हुन्छ मम्मी ! पैसा दिनुन । ल्याएर आउँछु ।
मम्मी:— छिमेकी रबीको घरमा चिच्चाउनुभो, रबी…रबी…, एक किलो दिनु है किरणेलाई, पैसा म पछि दिन्छु ।
म खुसी हुँदै रबीको घर गएँ, खसि काट्दा खुट्टा समाते, आन्द्रा धुँदा पानीको नल्का चलाएँ । रक्तो खाएँ, घरको लागी एक कचौरा रक्तो ल्याएँ ।
मम्मीले पकाउनुभो, हामी ३ जना म, बहिनी करुणा र भाइ किशोरलाई दिनुभो, हाम्ले खायौं, हाम्ले खाइसकेसी, मम्मी पूजा कोठामा छिर्नुभयो, पूजा गर्नुभो । टिका हाम्लाई लगाईदिदै लड्डु सहितको प्रसाद दिनुभो ।
हामी तीनै जनाले भन्यौं । मम्मी ! भात खानु न अब, मम्मीले हास्दै आज मंगलबार गणेशको ब्रत, अहिले केही नखाने साँझ रोटी खाने भन्नुभो । रोटीको पारखी म खुसी हुँदै साँझ रोटी खान पाइन्छ भन्दै कराएँ । तर मम्मीले नखाने भएर पनि हाम्रा लागि किन ल्याउनुभो खसीको मासु ? मेरो मनमा अहिले पनि झुण्डिरहन्छ ।
साँझ रोटी र मासु हाम्ले खाइम् । मम्मीले साग र रोटी । हाँस्दै मम्मीले भन्नुभो, “सन्तानको राम्रोको लागि मैले मंगलबार ब्रत बस्छु र साँझ एक छाक मात्र खान्छु ।”
……..
२०७२ माघ २५ गते सोमबार, म ८ बजे राति कोटेश्वर, काठमाडौंको कोठामा पुग्दा मम्मीलाई मासु खान मन लागेको सुनाउँनुभो, म फ्रेस भएर कोठा नजिकै मासु पसल पुग्दा कुनैमा पाईएन कुनै बन्द, कुनैमा सक्किएको । म रिक्तो हात फर्किए ।
कोठामा पुगेर मम्मी ! भोली खाम्ला आज पाइएन । सरी, मम्मी ! मम्मीले हाँस्दै भन्नुभो, “तैले खुवाउने ईच्छा राखिनस् पाइनस् केही छैन भोली खादिन मंगलबार मेरो ब्रत ।”
…………….
खाना खायौं, टेलिभिजन हेर्दै थियौं मम्मीले फेरी भन्नुभो, “दिनभरी समाचार बनाउँने काम गर्छ रेडियो कान्तिपुरमा । अहिले पनि समाचारको निहुँले टिभी हेर्छ, किताब पढ्नु पर्दैन ? भोली कलेजमा के पठाउँछस् ? अनि तैले पनि पिचडी पढ्ने तयारी गर्नुपर्दैन ? अब बिदेश तयारी होइन, नेपालमै पढ्ने हो, जा किताब पढ् !”
मैले हुन्छ मम्मी ! भन्दै उठेँ, म सुत्ने कोठामा गए किताब निकाले पढ्न बसे, केहि बेरमा मम्मी आउनु भो हास्दै पढ्दै रैछ, राम्ररी पढ है भन्दै जानुभो । म मुसुक्क हाँसे !
……………
टिभी हेरेर राती ११ बजेतिर मेरी बुढी समिता कोठामा आई ! केही बेर पढेँर सुते ।
………………..
नक नक….ढक ढक…..किरणे किरणे, हजुर मम्मी ! बुढी समिताले हजुर भन्दै ढोका खोली । मम्मीले किरणेलाई बोलाको, किरणे उठ न, “आए मम्मी” भन्दै नाइट ड्रेसमा मम्मी र भाइको कमन रुममा छिरें ।
…………………. ……………….
मैले घडि हेरेँ राती साढे २ बजेको थियो । के भो मम्मी, किशोर ? मरो प्रश्न नसकिदै मम्मीले सुत तँ, तेरो दाइले मसाज गर्दिन्छ मेरो पेटको भन्दै भाइलाई सुत्न पठाउनुभो । भाइ रोइरहेको थियो । ओछ्यानमा पल्टियो रुदै ।
मम्मीले भन्नुभो, “तैले इन्डियाको एम्स हस्पिटलमा मसाज गर्न सिकेको छस् नी डा.ले सिकाको झै पेट मसाज गर्दे न ।” मैले मसाज तेल निकाले हातमा राखे पेटको बिस्तारै मसाज गर्न थाले ।
मम्मिले भन्नुभो, “आधा घण्टाभन्दा बढी किशोरले पेट माड्द्यो, मलाई दुखेर हैरान भो, गाली गरे रोयो, अरु केही नसोध, हो यस्तै गरि माडिराख हस्,” “तँ जा त समितालाई बोला” राती ३ बजे मम्मीले भन्नभो ! “होइन मम्मी गारो भा छ भने हस्पिटल जाम् सन्चो भा छ भने किन समितालाई बोलाउने ?” मम्मी जुरुक्क उठ्नु भो अनि हाम्रो कोठामा गएर समितालाई बोलाउनुभो, अघि मलाई मात्र राख्ने मम्मीले बुहारीलाई बोलाएर आफूलाई गरेको माया सबैलाई गरेस् भन्नुभो । मेरि बुढीले हुन्छ भनी । सबैलाई सुत्न पठाउनुभो ।
…………………
विहान भाइ किशोर पढाउने कलेज, बुढी एम पि ए थेसीस ओरेन्टेसन क्लास पठाएँ । म मम्मिसँगै भात पकाउने निहुँले बसे जनमैत्री कलेजमा आफू आउन नपाउने जानकारी दिएँ, रेडियो कान्तिपुरमा ढिला आउने जानकारी दिएँ ।
मम्मीले बहिनी करुणा र ज्वाईसँगै भान्जी (मम्मीकी नातीनी) लाई बोला भन्नुभो । मैले बोलाएँ । कक्षा सकिएसी भाइ किशोर पनि आयो । अनि मम्मीले भन्नुभो, “हस्पिटल लैजाओ, समिता बुहारीलाई हस्पिटल बोलाओ, म मर्छु, डेरामा मर्दिन ।”
बहिनी करुणा र म रुन थाल्यौं । भाइले ट्याक्सी खोज्यो नजिकै सिभिल हस्पिटल, गयौं । सिभिलमा केहीबेर उपचारपछि टिचिङ रिफर गर्यो ।
…………………….
मम्मीको निमोनिया बिग्रेकोले उपचारको लागि छातिरोग बिज्ञ डा. अर्जुन कार्कीको रिफरमा भारतको एम्स हस्पिटल लगेका थियौं । उताको उपचारपछि घाटीमा सास फेर्न पारेको प्वाल (ट्याकोस्टोमी) को पाईप टिचिङ हस्पिटलका नाक, कान, घाटी विज्ञ हाल त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. धर्मकान्त बास्कोटाले निकालेकाले घाटीमा असर भएको हुनसक्ने भन्दै टिचिङ रिफर गरेकाले लग्यौं ।
बुढी समिताले जेठान दाइ लिला र सानिमा सासु तारालाई लिएर हस्पिटल पुगिन् । डा.ले उपचार गर्दै थिए । मम्मिको अनुरोधलाई डा.ले स्विकार्दै हामीलाई उपचार कक्षमा बोलावट भयो ।
मम्मीले भन्नुभो, “आज मंगलबार बिहान पूर्व प्रधानमन्त्री शुसिल कोइरालाको मृत्युको समाचार सुनेको थिएँ । अब म मर्छु मेरो समवेदना पत्रिकामा राखेस् हैं अनि मेरो अन्त्यष्टी पशुपतिमा गर्नु है ।” हामी रोयौं । डा.ले बाहिर जान आग्रह गरे । मम्मीले मेरो हात समाउनुुभो, राम्ररी किताब पढेस् है । यो मम्मीको मुखबाट निस्केको अन्तिम वाक्य थियो ।
…………………
यसैले मम्मी ! मोबाइलमा तपाईको फोटो खोजे, ढोगेँ, तपाईले मुसुक्क हाँस्दै फेरी पनि भन्नुभो पढ् हैँ किरणे । हुन्छ मम्मी ! म रुँदै भने । किनकी तपाईले पढ् भनेझै पढ्दै छुँ त्यस्तै किताब । उमेर, तपाईकी बुहारीको बुढो र तपाईकी नातिनीको बुुढा बा भएपनि किताब पढाईमा प्ले ग्रुपमै छुँ मम्मी !
……………
मैले मम्मीको मुख हेर्ने दिन मातातिर्थ औंसी र माघ २६ गते मंगलबार कहिल्यै बिर्सिदैन ।
मातृदेवो भव ।
पितृदेवो भव ।।
आचार्यदेवो भव ।।।
‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’
‘कुपुत्रो जायते क्वचिदपि कुमाता न भवति’
माघ २५ गते सोमबार मैले किन्न नपाएको खसीको मासुले जर्ज वासिंगटनको, “आज मैले जती गरे यी सबैका लागि म मेरी आमा प्रती ऋणी छु ।” लाई सापटी लिन्छुु । यो मासुमा होइन, मैले चाल्ने पाईला, काम र उत्तरदायित्वमा हो ।
………………….
आज मंगलबार मम्मीको मुख हेर्ने दिन फोटोमा ६ वर्ष बित्यो । हामी बाँच्दासम्म फोटोमा अनुहार हेर्छौ । तपाईको मंगलबारको ब्रतले तपाईको सन्तानलाई खुसी राख्छं मम्मी ।
मेरी मम्मीले जस्तै सबैका मम्मीले सन्तानलाई माया गर्नुहुन्छ । त्यसैले सबैले मम्मीप्रतिको उत्तरदायित्व सम्झेर बाँचुञ्जेल सेवा गर्न नर्बिसौं । होइन भने मैले जस्तै फोटोमा मात्र ह्याप्पी मदरर्स डे मम्मी भन्नुपर्छ । लकडाउन मात्र कारक होइन।
यो पनि पढ्नुहोस्
मम्मीको अन्तिम सास

किरण अधिकारी
मेराेन्यूजकर्मी अधिकारी अर्थसम्बन्धी विषयमा कलम चलाउँछन् ।
प्रतिक्रिया