भारतमा कोरोना संक्रमित घट्न थाले
काठमाडौँ । भारतमा कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित हुनेको संख्यामा कमी आउन थालेको छ । कोरोनाबाट प्रभावित धेरै राज्य र शहरमा निषेधाज्ञा घोषणा गरिएसँगै संक्रमितको संख्या घट्न थालेको समाचारमा जनाइएको छ ।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले विगत २४ घण्टामा तीन लाख २९ हजार ९४२ जना नयाँ संक्रमित थपिएको जनाएको छ । योसहित भारतमा हालसम्म कूल संक्रमितको संख्या दुई करोड २९ लाख ९२ हजार पुगेको छ ।
यसैबीच, कोरोनाबाट थप तीन हजार ८७६ जनाको मृत्यु भएको छ । योसहित भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख ४९ हजार ९९२ जना पुगेको मन्त्रालयले जनाएको छ ।
भारतमा हाल ३७ लाख १५ हजार सक्रिय संक्रमित अवस्थामा छन् । जुन अघिल्लो दिनभन्दा ३० हजारले कमी हो । हालसम्म एक करोड ९० लाख २७ हजार व्यक्ति कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।
कोरोनाबाट निकै प्रभावित राजधानी नयाँ दिल्लीमा आगामी मे १७ सम्म लकडाउन घोषणा गरिएको छ । मन्त्रालयका अनुसार गत जनवरीबाट सुरु भएको खोप अभियानमार्फत् हालसम्म १७ करोड २० लाख व्यक्ति लाभान्वित भएका छन् ।
भारतीय स्वास्थ्य अनुसन्धान परिषदले देशभर हालसम्म ३० करोड नमुना परीक्षण गरिएको जनाएको छ ।
प्रतिक्रिया