सोमबार, वैशाख ७, २०८३

प्रतिनिधिसभा विघटनकाे ६ युवा संगठनद्वारा विराेध

मेरोन्यूज २०७८ जेठ ८ गते २०:११

काठमाडाैं । विपक्षी दल सम्बद्ध विभिन्न ६ युवा संगठनले प्रतिनिधिसभा विघटनकाे विराेध गर्दै असंवैधानिक कदम खारेज गर्न माग गरेका छन् ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले)काे माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टी (जसपा), विवेकशील साझा पार्टीलगायत दलका युवा संगठनले विज्ञप्ति जारी गर्दै विराेध गरेका हुन् ।

ओली विद्या प्रतिगमन विरूद्ध ६ युवा संगठनको संयुक्त वक्तव्य विषय : संयुक्त प्रेश विज्ञप्ति

मिति २०७८ जेष्ठ ७ गते

राति राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी मन्त्रिपरिषद्को सिफारिसमा नयाँ निर्वाचन घोषणा गरेको घटनाले आम नेपाली युवाहरुको ध्यानाकर्षण भएको छ । प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री पदबाट राजिनामा नै नदिई आफुसँग संसदको विश्वास लिन सक्ने परिस्थिति नरहेको भन्दै संविधानको धारा ७६ (५) को प्रकृया आरम्भ गर्न राष्ट्रपति समक्ष अनुरोध पेश गर्नु र राष्ट्रपति विद्यादेवि भण्डारीले सोही धारा अनुसार प्रधानमन्त्री नियुक्ति प्रायोजनका लागि आधार प्रस्तुत गर्न प्रतिनिधिसभा सदस्यलाई आव्हान गर्नु आफैमा असंवैधानिक कदम हो । अझ कोभिड संकटको यो घडिमा केवल २१ घण्टाको मात्र समय दिइन जुन आफैमा दुराशायपुर्ण थियो । राष्ट्रपतिको आव्हानकै आधारमा तोकिएकै समयमा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्दै १४९ संसदले दाबी पेश गरे लगत्तै ओलीले आफ्नो पक्षमा बहुमत रहेको फर्जी दावी पेश गरे । देशलाई संवैधानिक संकटको दिशामा धकेल्दै राष्ट्रपतिले प्रधानमन्त्रीका लागि गरिएको दावि स्विकार गर्न नसक्ने जानकारी दिइन र प्रधानमन्त्री ओलीलाई संसद विघटनको सिफारिस गर्ने मार्ग प्रसस्त गरिदिइन् । जेष्ठ ७ गते मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकले असंवैधानिक रुपमा प्रतिनिधिसभा भंग गर्ने सिफारिस राष्ट्रपति समक्ष सिफारिश भयो र राष्ट्रपति कार्यालयबाट तत्काल कार्यान्वयन भयो । यसरी संघिय लोकतान्त्रीक गणतन्त्र प्रति सुरुदेखि नै पुर्वाग्रह राख्ने ओलीले संवैधानिक संकट निम्त्याउने आफ्नो प्रयत्नलाई एक कदम अगाडी बढाएका छन् । यो उनको २०७७ पुष ५को असफल संसद विघटनको निरन्तरता मात्र हो । ओली बास्तवमा नेपाललाई संवैधानिक संकटको व्यवस्था सृजना गर्दै सिक्किमिकरणको दिशामा लान उद्यत छन् । विदेशी शक्तिकेन्द्रहरुको इच्छा अनुसार नेपालमा अस्थिरता सृजना गर्ने योजना अनुसार यस्तो कदम चालिएको हो भन्नेमा कुनै शंका छैन । दुखको कुरा देशको सर्वोच्च सम्मानिय संस्थाले समेत ओलीका असवैधानिक कदमलाई रवरस्ट्याम्पको रुपमा मतियारी दिदैँ आएको छ । संसद विघटन मार्फत संवैधानिक संकट निम्त्याउने ओलीको यस कदमको हामीहरु घोर भत्सर्ना गर्न चाहन्छौ । सवै मिलेर कोभिड–१९ ले निम्त्याउने संकटको निवारण गर्ने समयमा चुनावको नाटक गर्दै चालिएको असंवैधानिक कदमको हामी निन्दा गर्दछौं । साथै राजनीतिक दलहरुलाई पटकपटक संविधानको हत्या गर्ने राष्ट्रपति विद्यादेवि भण्डारीलाई यथाशिघ्र कानुनी कठघरामा उभ्याउन माग गर्दछौं । यस्तो अक्षम्य अपराधमा संलग्न भण्डारी तथा ओलीलाई पदमुक्त भईसकेपश्चात समेत कारवाही गर्ने वातावरण राजनीतिक तथा संवैधानिक हिसाबले समेत निर्माण गर्न अपिल गर्दर्छौ । ओलीले चाल्ने हरेक गैरसंवैधानिक र राष्ट्रघाति कदमको डटेर सामना गर्न हामी आम नेपाली युवाहरुलाई आव्हान गर्न चाहन्छौं । युवाहरुले इतिहासको कालखण्डमा हरेका तानशाहहरुलाई घुडा टेकाएका छन्, युवाहरुको संयुक्त संघर्ष मार्फत हरेक मोर्चामा ओलीलाई परास्त गर्दै देशलाई पुनः संवैधानिक व्यवस्था र राजनैतिक स्थायित्वको अवस्थामा पुर्याउन हामीहरु सक्षम हुने छौं भन्ने सुनिश्चितता हामी आम जनसमुदायलाई व्यक्त गर्न चाहन्छौं ।

  • जितजंग बस्नेत अध्यक्ष नेपाल तरुण दल
  • राम प्रसाद सापकोटा ‘दीपशिखा’ अध्यक्ष योङ कम्युनिष्ट नेपाल (Y.C.L.)
  • नरेश कुमार शाही अध्यक्ष युवा संघ नेपाल
  • योगेन्द्र राय यादव अध्यक्ष समाजवादी युवा संघ– नेपाल
  • अनिलकिशोर घिमिरे अध्यक्ष अखिल नेपाल युवक संघ
  • अब्दुस मिया अध्यक्ष विवेकशिल साझा युवा संगठन
  • मितिः २०७८ जेष्ठ ८ गते

प्रतिक्रिया