युगकविको सम्झना गरिँदै

ओखलढुङ्गा । युगकवि सिद्धिचरण श्रेष्ठको ११०औँ जन्मजयन्ती आज मनाइँदै छ । विसं १९६९ साल जेठ ९ गते आजकै दिन ओखलढुङ्गामा उनको जन्म भएको थियो । यस वर्ष पनि कोरोना कहरकाबीच उनको सम्झनामा गरिँदैछ । सोही अवसरमा ‘मेरो प्यारो ओखलढुङ्गा’ कविताको भिडियो आज सार्वजनिक गरिएको छ ।
यसमा युगकविको रचना एवं स्वरसम्राट नारायण गोपालको स्वर छ । युगकवि सिद्धिचरण प्रतिष्ठानले तयार गरेको उक्त भिडियोलाई दिनेश डिसीले निर्देशन गरेका छन् । युगकविको जन्मस्थलसम्मको खोजमूलक यात्रालाई प्रस्तुत गरिएको भिडियोमा समीक्षा पोखरेल, महेश खड्का एवं डिसीको अभिनय छ । कोरोना कहरका कारण युगकविको जन्मजयन्ती औपचारिक कार्यक्रम गरी मनाउन नसकिएको उनका छोरा रविचरण श्रेष्ठले जानकारी दिए । युगकविको परिवारले काठमाडौँको न्युरोडस्थित धर्मपथमा रहेको शालिकमा माल्यार्पण गरी जन्मजयन्ती मनाएको छ ।
विगत वर्षमा विविध साहित्यिक कार्यक्रम गरेर जन्मभूमिमा सिद्धिचरणको जन्मजयन्ती बनाउने गरिए पनि यस वर्ष कुनै औपचारिक सभासमारोह राखिएका छैनन् । सिद्धिचरण संग्रहालय समिति र स्थानीय साहित्यिक व्यक्तिले आआफ्नै किसिमले युगकविलाई सम्झिएको समितिका ध्रुवकुमार राजभण्डारीले बताए । युगकवि नेपाली साहित्यमा स्वच्छन्दतावादी काव्यधारका प्रवर्तक मानिन्छन् । उनी नेपाल भाषामा कविरत्नका रुपमा पनि चिनिन्छन् ।
उनले आफ्नो जीवनको साढे छ दशक साहित्य साधनाका सन्दर्भमा फुटकर कविता, गीत, खण्डकाव्य, नाटक, पद्यनाटक, कथा, निबन्ध, समालोचना, यात्रा संस्मरणलगायत विधामा सफलतापूर्वक कलम चलाएका थिए । उनका ‘मेरो प्यारो ओखलढुङ्गा’, ‘निर्झर’, ‘भीमसेन थापा’, ‘शबरी’, ‘जूनकीरी’ लगायत मर्मस्पर्शी रचना सर्वाधिक चर्चामा छन् । उनका कविता सङ्ग्रह ‘मेरो प्रतिबिम्ब’, ‘कोपिला’, ‘कुहिरो र घाम’ लगायत खण्डकाव्य ‘उर्वशी’, ‘ज्यानमारा शैल’, ‘आँसु’ लगायत कृति छन् । युगकविको २०४९ साल जेठ २२ गते निधन भएको हो । रासस












भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
कम्पनीको कागजात दुरूपयोग गरी ‘ई सेवा’मार्फत करोडौँ रकम कारोबार गर्ने उप्रेती पक्राउ
यस्तो छ आजका लागि कालीमाटीको कृषिउपज थोक मूल्य
प्रहरीको मनोबल कहिल्यै खस्केको थिएन र खस्किने पनि छैन : प्रवक्ता काफ्ले
राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट चार जनाको मनोनयन दर्ता
चुनावी सरकारमा चार महिना काम गरेर बिदा भए कुलमान, प्रधानमन्त्रीलाई बुझाए राजीनामा
कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान
राष्ट्रियसभा निर्वाचनका लागि कांग्रेसले टुंग्यायाे उम्मेदवार
प्रतिक्रिया