शनिबार, फागुन १६, २०८२

‘हिमालयन ग्रेट ट्रेल’ निर्माणले जगायो आशा

देवराज सुवेदी २०७८ जेठ १२ गते २१:४५

सिन्धुपाल्चोक । जिल्लाको हेलम्बु गाउँपालिकाले आफ्नो गौरवको आयोजनामा ‘हिमालयन ग्रेट ट्रेल’ लाई अगाडि सारेको छ । गाउँपालिकाले आफ्नो पहिचान र पर्यटन आकर्षणका लागि गत वर्षदेखि ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’ (धर्मचक्र पर्खाल) को निर्माण शुरु गरेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

दुई हजार ३०० मिटरदेखि पाँच हजार मिटर उचाइमा बन्ने ट्रेल चीनपछि विश्वमै पहिलोपटक हेलम्बुमा निर्माण हुन लागेको हो । हेलम्बुको महत्वाकांक्षी योजनाको रुपमा अघि सारिएको यस परियोजना निर्माणको लागि प्रदेश र सङ्घीय सरकारले पनि बजेट हाल्ने प्रकृया अघि बढाएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए ।

गत वर्षदेखि निर्माण थालिएको ट्रेल दुई मिटर चौडाइको बाटोसहित साढे तीन मिटर चौडाइमा निर्माण हुनेछ । साठी किलोमिटर लामो ट्रेल निर्माणका लागि रु तीन अर्बभन्दा बढी खर्च लाग्ने अध्यक्ष शेर्पाले बताए । बौद्ध धर्मको इतिहास रहेको हेलम्बु क्षेत्रमा धार्मिक संस्कार र पर्यटन क्षेत्रको विकास गर्न यो ट्रेलले सहयोग गर्ने अपेक्षा रहेको उनकाे भनाइ छ ।

ट्रेलको निर्माणपछि पर्यटन प्रवद्र्धनको साथै स्थानीयवासिन्दाको जीवनस्तरमा सुधार आउन सक्ने विश्वास गरिएको छ । गत वर्षदेखि निर्माण शुरु भएको ट्रेल हाल नागीडाँडा, शेर्माथान र घोप्टेघ्याङ्ग गरी तीन स्थानमा करीब एक हजार ३०० मिटर निर्माण भएको छ ।

स्थानीय आन्तरिक स्रोत साधनको अभाव भएतापनि दृढ इच्छाशक्तिका साथ निर्माण शुरु गरिएको उक्त ग्रेट ट्रेल अब भने पर्यटकको आकर्षक केन्द्रको रुपमा हेर्न लायक भैसकेको उनको भनाइ छ । बन्दाबन्दी हुनुअघिसम्म यस ‘हिमालयन ग्रेट ट्रेल’मा आन्तरिक तथा बाह्य पर्यटकहरु अवलोकनका लागि पुग्ने गरेका थिए ।

हेलम्बुको बुद्धपार्कबाट शुरु हुने ट्रेल पूरै निर्माण भएपछि आमायाङ्ग्री (ह्योल्मो परम्परा अनुसार धनकी देवी), भेमेथाङ (गुरु रिन्पोछे तपस्यास्थल), मिलारेपा गुफा, पाल्चोक जयवागिश्वरी मन्दिरलगायत हेलम्बुका दर्जनौं गुम्बा तथा धार्मिकस्थल अवलोकन गर्न सकिन्छ । ट्रेलको भित्री भागमा मेसिनले काटेका स्थानीय ढुङ्गा प्रयोग गरिएको छ भने बाहिर राखिएका ढुङ्गा छिनोले कुँदिएको छ ।

सिंढीमा स्लेट प्रयोग गरिएको छ । समुद्री सतहबाट दुई हजार ४०० देखि पाँच हजार मिटर उचाइसम्म फैलने ट्रेल हिंडेर पूरै छिचोल्न नौ दिन लाग्नेछ । सो अवधिमा तामाङ, ह्योल्मो, गुरुङलगायत जातजातिको संस्कृति अवलोकन गर्न पाइनेछ । पर्वतीय उडानबाट देखिने यस ट्रेलबाट मध्य तथा पूर्वी क्षेत्रका हिमालमध्ये ८० प्रतिशत देख्न सकिन्छ ।

ट्रेलमै पर्ने पाके डाँडाबाट विश्वको सर्वो शिखर सगरमाथा समेत प्रष्टसँग अवलोकन गर्न सकिन्छ । यहाँको जङ्गलमा कालिज, घोरल, लेकाली भेडा, रेड पाण्डालगायत पशुपक्षी छन् । रेड पाण्डाको वासस्थान भएको लाङ्टाङ राष्ट्रिय निकुञ्जमा जनावरलाई बाधा नपुग्ने गरी संरचना बनाउन निकुञ्ज प्रशासनसँग समन्वय भइरहेको शेर्पाको भनाइ छ ।

ट्रेलको सेमिसिधाङबाट गोसाइँकुण्ड एक किलोमिटरको दूरीमा छ । ट्रेल क्षेत्रभित्रै क्यानोनिङ र पाराग्लाइडिङको सम्भाव्यता अध्ययन भइसकेको र बञ्जी पुलको निर्माण कार्य अन्तिम चरणमा पुगिसकेको अध्यक्ष शेर्पाले जानकारी दिए । काठमाडौँमा पानी लैजाने मेलम्ची आयोजनाको मुहान अम्बाथान पनि हेलम्बुमै क्षेत्रमै पर्छ । यो ठाउँ काठमाडौंँको जोरपाटीदेखि साँखुहुँदै ५५ किलोमिटर र सुन्दरीजल हुँदै ५० किलोमिटर टाढा छ ।

प्रतिक्रिया