मंगलबार, चैत ५, २०८१

कांग्रेस १४ औं महाधिवेशन

उदघाटन हुन ८५ दिन बाँकी रहँदा अझै थपिँदैछ सदस्यता इन्ट्रीको समय

पार्टी कतै कोल्याप्स त हुने होइन ? चिन्तामा देखिन्छन्, कांग्रेसका नेता-कार्यकर्ता

मेरोन्यूज २०७८ जेठ १५ गते ११:०१
फाइल फोटो


काठमाडौँ । आगामी भदौ १९ गतेसम्म पार्टीको १४ औं महाधिवेशन गर्ने पर्ने संवैधानिक बाध्यात्मक अवस्थामा नेपाली कांग्रेस छ । उसले भदौ ७ देखि १० गतेसम्म महाधिवेशनको मिति कार्यतालिकासहित तोकेको छ । तर, महाधिवेशनको प्रक्रिया पहिलो चरणबाट दोस्रो चरणमा प्रवेश गर्न नसकेकाले नेता कार्यकर्ता कतै संविधानमा उल्लेखित भएको समयभित्र महाधिवेशन नभई पार्टी कोल्याप्स त हुने होइन भन्ने चिन्तामा छन् ।


नेपालको संविधान २०७२ को धारा २६९ को उपधारा ४ (ख) मा ‘राजनीतिक दलको विधानमा कम्तीमा पाँच वर्षमा एक पटक दलका संघीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन हुने व्यवस्था हुनुपर्छ, तर विशेष परिस्थिति उत्पन्न भइ पाँच वर्षभित्रमा पदाधिकारीको निर्वाचन सम्पन्न हुन नसकेमा ६ महिनाभित्र त्यस्तो निर्वाचन गर्न सकिनेगरी राजनीतिक दलको विधानमा व्यवस्था गर्न बाधा पर्ने छैन,’ भन्ने उल्लेख छ ।
कांग्रेसको १३ औं महाधिवेशन २०७२ फागुन २० देखि २३ गतेसम्म काठमाडौंमा सम्पन्न भएकाले पार्टी कोल्याप्स हुन नदिन आगामी भदौ १९ गतेसम्म महाधिवेशन गर्नै पर्ने बाध्यता छ ।


तर, अहिलेसम्म महाधिवेशनका लागि भएका तयारी हेर्दा उक्त समयसिमाभित्र हुनेजस्तो छाटकाँट देखिन्न । महाधिवेशनको कार्यतालिकामा क्रियाशील सदस्यता छानबिन समितिले १७ जेठमा सदस्यताको फाइल सभापति शेरबहादुर देउवालाई दिने उल्लेख थियो । तर, त्यो समयको तीन दिन अगाडिमात्र शुक्रबार बसेको क्रियाशील सदस्यता छानबिन समिति बैठकले सदस्यता पार्टी कार्यालयको सर्भरमा इन्ट्री गर्ने समय १० दिन थप्ने निर्णय गरेको छ । साथै सदस्यता छानबिनका लागि मापदण्ड बनाउन छलफल अघि बढाएको छ ।

छानबिन समिति सदस्य प्रदीप पौडेलले पार्टी सर्भरमा इन्ट्री हुन बाँकी सदस्यता इन्ट्री गर्न १० दिन समय थप्ने र छानबिनको मापदण्ड बनाउन छलफल गर्ने तयारी भएको जानकारी दिए । पौडेलका अनुसार इन्ट्रीका लागि आजैबाट समय सुरु गर्ने तयारी भइरहेको छ । यसअघि १५ बैशाखबाट सदस्यता सर्भरमा इन्ट्री गर्न रोकिएको थियो ।


१० लाख सदस्यता पुरयाउने निर्णय गरेको कांग्रेसका चार लाख सदस्यको नाम मात्रै छानबिन समितिले सार्वजनिक गरेको छ । विवादका कारण सर्भरमा इन्ट्री भएका तीन लाख ५५ हजार सदस्यको नामावली सार्वजनिक गरिएको छैन । अझै १० लाख पुरयाउन दुई लाख ४५ हजार सदस्यता इन्ट्री गर्न नै बाँकी हुन्छ ।


सदस्यतामा नै लफडा देखिएकाले अर्को चरण प्रवेश गर्ने कहिले हो भन्नेमा नेताहरू अन्यौलमा छन् । ‘अहिले तय भएको कार्यातालिका अनुरुप काम अघि बढ्ने कुनै आधार नदेखिएकाले आन्तरिक कार्यतालिका खुम्च्याएर भए पनि अहिले तोकिएको समयमा महाधिवेशन गर्नै पर्ने बाध्यतामा हामी छौं । पार्टीलाई कोल्याप्स हुन दिन्नौ,’ एक नेताले भने ।

प्रतिक्रिया