‘कोरोनाबाट बच्न खोप एक मात्र अचुक उपाय हो’

काठमाडौं । अहिले कोरोना संक्रमितको संख्या विगत ३ हप्ताको तुलनामा केही कम र स्थिर छ । वैशाखको पहिलो साता टेकु अस्पतालको इमर्जेन्सीमा जुन दरमा सिकिस्त बिरामी आएका थिए, जेठको अन्तिम साता आइपुग्दा त्यही दरमा बिरामी भर्ना भएका छन् । तर, वैशाखको पहिलो साताको तथ्यांक बढ्दो क्रममा थियो भने अहिले घट्दो क्रममा छ ।
यो डेढ महिना कोभिडका सिकिस्त बिरामीको उपचारमा हामी अहोरात्र खट्यौं । यति संवेदनशील अवस्थासम्म आयो कि इमर्जेन्सीमा एकै दिन ५ जनासम्म बिरामीको मृत्यु भयो । हामीले चाहेर पनि इमर्जेन्सीका सिकिस्त बिरामीलाई भेन्टिलेटरसम्म लैजानै पाएनौं ।
टेकु अस्पतालमा २४ बेडको आईसीयू बढाएर २८ बेड पुग्यो । कोभिडको पहिलो लहरमा ७ वटा भेन्टिलेटर थियो भने अहिले २२ वटा भेन्टिलेटर छन् । तर, अहिले पनि आईसीयू बेड र भेन्टिलेटर भरिएका छन् । यसको अर्थ हो, अस्पतालको हालको क्षमताबराबर सिकिस्त बिरामी उपचाररत छन् ।
अहिले इमर्जेन्सीमा आउने सिकिस्त बिरामीको संख्या केही घटेको छ, यो दर स्थिर र अझै घट्दो क्रममा जाने सम्भावना छ । तर, अहिले काठमाडौैंबाहिर बाट सिकिस्त भएर बिरामी आउने क्रम जारी छ । यसले गाउँ-गाउँमा सिकिस्त बिरामी यत्तिकै बसिरहेका त छैनन् भन्ने शंका उब्जाएको छ ।
दोस्रो लहरको उत्कर्षमा अस्पतालमा बेड अभावले बिरामी घरैमा सिकिस्त हुन्जेल बस्नुपर्ने वाध्यताले गर्दा धेरैको ज्यान गुमायौं । त्यो, महामारीको एउटा रुप नै हो । यद्यपि, अस्पताल आइपुगेका बिरामीको उपचारमा हामीले कुनै कसर बाँकी राखेनौं ।
दोस्रो लहरको एउटा सुखद अनुभव भनौं, खोप लगाएका मानिस संक्रमित त भए, तर, कम मात्र सिकिस्त भए ।
यसले के देखाउँछ भने, कोरोनाबाट बच्न खोप एक मात्र अचुक उपाय हो । अबको अभियान धेरैभन्दा धेरैलाई खोपको व्यवस्था नै हो ।
खोपको उपलब्धता नहुँदासम्म अनावश्यक औषधि सेवन गरेर कोभिडका बिरामी घरैमा बसिरहनु खतरा हुन सक्छ । कोभिड निमोनिया भएको ६-७ दिनमा बिरामीलाई निकै गाह्रो पर्छ, त्यो बेला सामान्य ठानेर अस्पताल नआउँदा बिरामी जोखिममा पर्न सक्छन् । यो समय सबैले ध्यान दिनु जरुरी छ ।
बिरामी बेलैमा अस्पताल आइपुगे उपचारका अनेक उपाय अपनाउने सम्भावना रहन्छ । तर, घरै बसेर अन्तिम अवस्थामा अस्पताल आउँदा ढिला हुन सक्छ । अब, स्वास्प्रस्वासमा समस्या भएका बिरामीलाई अस्पताल ल्याउन ढिलाइ नगरौं । अहिले बिरामी व्यवस्थापन गर्न सक्ने अवस्थामा अस्पताल आइपुगेका छन् ।
सम्भवतस् दोस्रो लहरको डरलाग्दो समय पार हुने चरणमा छ । तर, धेरैभन्दा धेरैलाई खोपको व्यवस्था हुन नसके र सुरक्षाका मापदण्ड पालना नगरे यो महामारीले अर्को रुप नलेला भन्न सकिन्न । दोस्रो लहरको उत्कर्षमा भोग्नु परेको बेहाल अवस्था फेरि पनि आइलागेमा धान्न सक्ने धैर्यता सायद नरहन सक्छ ।
(शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका कोभिड फोकल पर्सन बास्तोलाको सामाजिक संजालबाट साभार )










नबिल बैंकको छैटौं प्रायोरिटी बैंकिङ लाउञ्ज पोखरा शाखामा
मुलुक निर्वाचनमा होमिइसक्याे : मन्त्री खरेल
राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष श्रेष्ठ र सदस्य हाडाले लिए शपथ
माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार बढी रुख काटियो
Government decides to accept Rs 14.38 billion soft loan from ADB
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
एनपीएल च्याम्पियन लुम्बिनी लायन्सलाई प्रधानमन्त्रीकाे बधाई
उत्कृष्ट खेलाडी बन्दै रोहित पौडेलले जिते कार
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
प्रतिक्रिया