मंगलबार, वैशाख ९, २०८२

बजेटमा खोट नभेटेपछि वातावरणको मुद्दा उठाएर विवाद झिकिएकाे अर्थमन्त्रीकाे गुनासाे

मेरोन्यूज २०७८ जेठ २४ गते २१:३९

काठमाडाैं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटमा खोट खोज्न चाहनेले खोट नभेटेपछि वातावरणको मुद्दा उठाएर विवाद झिकेको बताएका छन् । सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको बजेट कार्यान्वयन चुनौती र समाधान विषयक अन्र्तक्रियामा बोल्दै उपप्रधान तथा अर्थमन्त्री पौडेलले यस्तो धारणा राखेका हुन् ।

‘बजेटमा केही खोट नपाएपछि अतिरञ्जनापूर्ण ढंगले वातावरणको मुद्दा उठाएर विवाद झिकिएको छ, विवाद निकाल्नेहरुलाई म स्पष्ट पार्न चाहन्छु सरकार वातावरण संरक्षणमा प्रतिबद्ध छ,’ उपप्रधान एवं अर्थमन्त्री पौडेलले भने । सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/७९ को बजेटले असाधारण सर्मथन पाएको पनि उनले बताए ।

कोभिड प्रभावित नागरिकको जीवन रक्षा बजेटको प्राथमिकता भएको भन्दै उनले बजेटका सन्र्दभमा उठेका सकारात्मक र रचनात्मक सुझावलाई स्वीकार गर्ने पनि बताए । ‘स्रोत अभाव र महामारीको जटिल अवस्थामा हामीले निकै राम्रो बजेट प्रस्तुत गर्न सकेका छौं, यसलाई सबै क्षेत्रबाट असाधारण सर्मथन मिल्दै गएको छ,’ उपप्रधान एवं अर्थमन्त्री पौडेलले भने ।

सबै नेपालीलाई निःशुल्क कोभिड भ्याक्सिनको व्यवस्था गर्न बजेट केन्द्रित रहने भन्दै उनले कोभिड महामारीले जीवीकोपार्जन, रोजगारी र उत्पादन सृजनामा पु¥याएको असरको समाधान गर्दै पुर्नउत्थानको लागि प्राथमिकताका साथ काम गर्ने पनि उनले प्रतिबद्धता जनाए । राष्ट्रिय गौरव तथा रुपान्तरणकारी परियोजना सम्पन्न गर्न अलग्गै संयन्त्र बनाइएको भन्दै अर्थमन्त्री पौडेलले बजेट कार्यान्वयनको स्पष्ट खाका मन्त्रालयले तयार गरेको पनि बताए ।

यो पनि पढ्नुहोस्

बजेटले स्थानीय तहलाई अंगीकार गरेको छ ?

प्रतिक्रिया