सोमबार, वैशाख ८, २०८२

बर्साइत पर्व मनाउँदै मिथिलानी, निषेधाज्ञाले घरघरमै सीमित

मेरोन्यूज २०७८ जेठ २७ गते ९:०४

महोत्तरी । विवाहित हिन्दू मैथिल नारीले आज बरसाइत (वटसावित्री) पर्व मनाइरहेका छन् । जेठ औंंसीका दिन अटल सौभाग्यको कामना गर्दै मनाइने यो पर्व मिथिलानी (मिथिलाका नारी) ले आज मनाइरहेका हुन् ।

सत्ययुगमा सती सावित्रीले आफ्नो तपश्या र साधनाले जेठ औंसीका दिन अटल सौभाग्यको वरदान पाएको विश्वासका आधारमा यो पर्व मनाउने मैथिल परम्परा छ ।

जेठ कृष्ण चतुर्दशीका दिन चोखोनितो खाएर व्रत सङ्कल्प गरेपछि औंसीका दिन निराहार व्रत बसेर आफ्नो बस्ती नजिकको वट वृक्ष (वरको रुख) को फेदमा बर्तालु मिथिलानीले सामूहिकरूपमा सावित्रीलाई सम्झँदै व्रह्मा, विष्णु र महेश्वरसहितका इष्टदेवको पूजा आराधना गर्दै यो पर्व मनाउँछन् ।

बर्तालुले जेठ शुक्ल प्रतिपदाका दिन बिहान सूर्योदयसँगै यो व्रत सम्पन्न गर्ने परम्परा छ । यसपालि भने कोरोना सन्त्रास छल्न जारी निषेधाज्ञाभित्रै मिथिलानीले घरघरमै बर्साइत मनाउने तयारी गरेका छन् । पर्वमा वट वृक्षको महत्व हुने हुँदा घरमै गमलामा सजाइएको वरको बिरुवामा पूजा गर्ने तयारी छ ।

सावित्रीले आफ्नो तपोबलले इष्टदेव रिझाएर ढलेका (अचेत भइ ढलेका, कतिपय सन्दर्भमा मृतजस्तै पनि भनिएको छ) आफ्ना पति सत्यवानलाई जगाएर अटल सौभाग्यको वर पाएकी पौराणिक कथा नै यो पर्वको परम्परा रहेको छ ।

वरको रुखमा व्रह्मा, विष्णु र महेश्वरसहितका तीनै देवताको बास हुने मैथिल जनविश्वासअनुसार यो पर्वको सङ्कल्प, पूजाआराधना र समापन पनि वरकै रुख तल सम्पन्न गरिने परम्परा रहेको आज घरमै पर्व मनाइरहेकी महोत्तरीको भङ्गाहा नगरपालिका–४ रामनगरकी श्यामा झा बताउँछिन् ।

नयाँनयाँ वस्त्र परिधानमा सजिएर वटवृक्ष परिसर सरसफाइ गर्नेदेखि औंसीका दिन सावित्री कथा वाचन र श्रवण गर्ने यो व्रत परम्परा छ ।

साथीसङ्गीसँग नाच्दै, गाउँदै वट वृक्षमुनि वटसावित्री कथा सुनेर मनाइने यो पर्व मिथिलानीहरुका लागि भेटघाट, हँसीमजाक र घरायसी दुखःसुख एकअर्कालाई सुनाउने अवसरसमेत हुने गरेपनि यसपालि कोभिड–१९ महाव्याधि छल्न जारी निषेधाज्ञाभित्र पर्व मनाउनुपरेकाले घरघरै छुट्टाछुट्टै पर्व गर्नुपरेको मिथिलानी बताउँछन् ।

गत वर्ष पनि पर्वको बेला कोरोना कहरले जारी लकडाउनभित्रै पर्व मनाउनुपरेको मिथिलानी सम्झन्छन् ।

प्रतिक्रिया