बिहीबार, फागुन १४, २०८२

पूर्वसावधानी अपनाउन विपद् व्यवस्थापन समितिको आग्रह

मेरोन्यूज २०७८ असार ३ गते १०:१२

रसुवा । भारी वर्षाका कारण पहिरो जानेक्रम शुरू भइसकेकाले कुनै स्थानको यात्रा गर्नुपर्दा पूर्वसावधानी अपनाउन स्थानीयवासीलाई आग्रह गरिएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

निरन्तर वर्षा हुँदा राजमार्ग अवरूद्व हुन थालेको, साना ठाडो खोल्साहरूबाट पानी झर्न थालेपछि त्रिशूली नदीमा पानीको सतह बढ्न थालेको तथा ठाउँठाउँमा स–साना पहिरोसमेत जान थालेका कारण सुरक्षित स्थानमा बसोबास गर्न र खोला आसपासको क्षेत्रमा नजान जिल्ला विपद् व्यवस्थापन समिति रसुवाले स्थानीयवासीलाई आग्रह गरेको हो ।

पैदल मार्गका भिरालो ठाउँमा ढुङ्गासमेत झर्न थालेकाले अत्यावश्यक कामवाहेक पैदल यात्रा नगर्न र यात्रा गर्नुपरेमा साथीका साथमा होसियारपूर्वक यात्रा गर्नसमेत अनुरोध गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष ईश्वरीप्रसाद ढकालका अनुसार भारी वर्षाले राम्चे–स्याफ्रु खण्डको मूलखर्क, धुञ्चे त्रिशूली खोला, सानुभार्खु, याङयाङका साथै स्याफ्रु–टिमुरे खण्डको मेदाङफुलुङसमेतका स्थानमा पहिरोका कारण अवरूद्व राजमार्ग तत्काल खुलाइएको छ ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसमेतका सुरक्षा निकायको जनशक्ति एवं निर्माणाधीन रसुवागढी तथा लाङ्टाङ एण्ड भोटेकोशी हाइड्रोपावरको डोजरको सहयोगले राजमार्गको अवरोध हटाइएको छ ।

स्याफ्रुबेँसीको भोटेकोशी पुलजनिक याङयाङ क्षेत्रको राजमार्ग विस्तार भइरहेकाले चीनबाट आयात भएका मालसामग्री बोक्ने मालवाहक कन्टेनरको आवागमन सहज पार्न स्थानीय प्रशासनले सडक विस्तार आयोजनालाई आग्रह गरिसकेको छ ।

यस्तै वर्षायामको समयमा पासाङल्हामु राजमार्ग निर्वाध सञ्चालन गराउन कम्तीमा तीन वटा डोजर तैनाथका लागि स्थानीय प्रशासनको तर्फबाट डिभिजन सडक कार्यालय नुवाकोटलाई अनुरोध गरिसकिएको प्रजिअ ढकालले जानकारी दिए ।

विसं २०७२ को भूकम्पपश्चात हाकुको गोगनेबाट विस्थापित परिवारलाई अस्थायी बसोबास गराइएको उत्तरगया गाउँपालिका–५ खाल्टेबगरको बस्ती भने जोखिममा रहेको छ । खाल्टेबगर क्षेत्रमा ३२७ घर परिवारको बसोबास छ ।

विस्थापितका अगुवा छेकु लामाले त्रिशूली नदीको किनारमा बसोबास गर्ने व्यक्ति नदी बढेको बेला रातभर जाग्राम बस्नुपरेको बताए ।

वर्षायाममा नदीको डर तथा हिउँदमा हावाहुरीले बसोबासका लागि बनाइएको जस्ताका टहरा उडाउने समस्या बढ्दै गएको छ ।

प्रतिक्रिया