आइतबार, जेठ ११, २०८२

प्रतिनिधिसभा विघटनसम्वन्धी रिटमाथि आजबाट नियमित सुनुवाई

३० वटा रिटमाथिको बहस ३२ घण्टामा सिध्याउने

मेरोन्यूज २०७८ असार ९ गते ७:४८

काठमाडौं । प्रतिनिधिसभा विघटन सम्वन्धी रिटमाथि सर्वोच्चको अदालतको संवैधानिक इजलासमा आजबाट निरन्तर सुनुवाई शुरु हुँदैछ ।

सरकारको कदम विरुद्ध परेका ३० वटा रिटमाथि संवैधानिक इजलासले प्रारम्भिक सुनुवाई गर्दै गत जेठ २६ गते आजबाट नियमित सुनुवाई गर्ने आदेश गरेको थियो ।

रिट निवेदकले सरकारको निर्णय खारेज गरी तत्काल प्रतिनिधि सभा पुनर्स्थापना गर्न माग गरेका छन् । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा सहित १ सय ४६ प्रतिनिधि सभाका सदस्यहरुले संसद विघटन बदर गरेर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेशको माग गरेका छन् ।

सो रिटमाथिको सुनुवाइका लागी प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सहित न्यायाधीशहरु दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई सदस्य रहेको संवैधानिक इजलास गठन भएको छ ।

संवैधानिक इजलासमा सम्मिलित न्यायाधीश संवैधानिक इजलासको रोष्टरमा रहेका मध्येका बरिष्ठ हुन् । सो इजलासले निरन्तर सुनुवाई शुरु भएपछि ३२ घण्टामा बहस सिध्याउन यसअघि नै आदेश गरेको थियो ।

रिट निवेदक तर्फका कानुन व्यवसायीलाई १५ घण्टा, प्रधानमन्त्री केपी शर्मा ओलीका कानुन व्यवसायी र सरकारी वकिललाई बहसका लागी १५ घण्टा समय छुट्याइएको छ ।

एमिकस क्युरीका लागी दुई घण्टा समय छुट्याइएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ८ गते प्रतिनिधि सभा विघटन गरेकी थिइन् ।

यसअघि गत पुष ५ गते पनि पहिलो पटक सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी थिइन् । सो कदम असंवैधानिक भएको ठहर सहित सर्वोच्चले गत फागुन ११ गते पुनर्स्थापना गराएको गराएको थियो ।

प्रतिक्रिया