मंगलबार, चैत ५, २०८१

नेप्सेमा निरन्तर ओरालो, शेयर किनबेच गर्दा १० पैसामा झर्यो

मेरोन्यूज २०७८ असार १० गते १५:४३

काठमाडौं । साताको केही दिन लगातार उकालो लागेको शेयर कारोबार मापक नेप्से परिसुचक बुधबारदेखि लगातार ओरालो लागेको छ ।

कारोबार हुने साताको अन्तिम दिन आज बिहिबार बजार परिसुचक १६ दशमलब ९६ अंकले घटेर २ हजार ८ सय ४३ बिन्दुमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा १ प्रतिशत कम हो ।

कारोबार भएका १३ कम्पनी समहुका उपसुचकमध्ये होटल र पर्यटन तथा जलविद्युत बाहेक अरु ११ ले घाटा व्यहोरेका छन् ।

कूल २ सय १९ कम्पनीका ७८ हजार ९ सय ८३ कारोबारबाट ७ अर्ब ३ करोड ३६ लाख ३ हजार ७ सय ४० रुपैयाँ बराबरका १ करोड ३२ लाख १० हजार ३ सय ६९ कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ ।

यसैबीच नेपाल धितोपत्र बोर्डले कुनै पनि कम्पनीको सेयर दोस्रो बजारमा किनबेच गर्दा लगाइने मूल्य १० पैसामा झारेको छ ।

दोस्रो बजारमा हाल सेयर खरिद वा बिक्री अर्डरका लागि मूल्य प्रविष्ट गर्दा १ रुपैयाँको फरकमात्र राख्न पाइने व्यवस्था रहेको थियो । बोर्डले बिहीबार एक निर्देशन जारी गर्दै अब यो १ रुपैयाँको फरकलाई बाई–सेल अर्डर गर्दा घटाएर १० पैसा कायम गरेको हो ।

बोर्डले धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को दोस्रो संशोधन (धितोपत्र कारोबार सञ्चालन) दोस्रो संशोधन विनियमावली, २०७८) स्वीकृत गर्दै यो व्यवस्था कायम गर्न स्वीकृति दिएको हो । यो व्यवस्थालाई आवश्यक प्रबन्ध मिलाई नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई कार्यान्वयनमा ल्याउन पनि बोर्डले निर्देशन दिएको छ ।

यसबाट खरिदकर्ता र बिक्रीकर्ताले प्रतिस्पर्धी मूल्यमा धितोपत्र खरिदबिक्री गर्न सक्नुका साथै कारोबारमा समेत वृद्धि हुने देखिएको धितोपत्र बोर्डले जनाएको छ ।

यस्तै बोर्डले सेयर बजारको नियमित कारोबार हुनु अघि प्रि–ओपन सेसनमा हुने कारोबारमा अबदेखि दुई प्रतिशत मात्रै मूल्य घटबढ गर्न पाइने व्यवस्था गरेको छ । यसअघि अधिकतम पाँच प्रतिशतसम्म रहेको मूल्य घटबढ गर्न सक्ने सीमालाई दुई प्रतिशतमा झारेको हो ।

प्रतिक्रिया