शुक्रबार, मंसिर ५, २०८२

प्रदेश सरकारद्वारा मनाङका सरकारी कार्यालयलाई सोलार

मेरोन्यूज २०७८ असार १८ गते ६:५४

पोखरा । मनाङका १६ वटा सरकारी कार्यालयका लागि गण्डकी प्रदेश सरकारले सोलार प्यानल, इन्भर्टर र ब्याट्री उपलब्ध गराएको छ ।

बिजुली नभएका कारण अस्पतालको उपचार सेवा र सरकारी काम प्रभावित भएकाले प्रदेश सरकारले सोलार खरिद गरी पठाइएको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले छरितो प्रक्रियामार्फत सामान खरिद गरी पठाएको बताए ।

उनका अनुसार करिब १९ लाखको सामान खरिद गरेर हेलिकोप्टरमार्फत चामे पठाउने व्यवस्था गरिएको छ । सामान ढुवानीका लागि लागेको चार लाख ३१ हजार गण्डकी सरकारले नै व्यहोरेको छ ।

सार्वजनिक खरिद ऐनको दफा ४१ (१) (घ) (३) बमोजिम विशेष परिस्थितिमा सार्वजनिक खरिद प्रक्रिया अपनाई सामान पठाइएको हो ।

सामान खरिद गरेर लमजुङ सदरमुकाम बेँसीशहरमा पुर्‍याइएको छ । बुधबार नै सामान बेँसीशहर पुर्‍याएको भए पनि मौसम खराब भएका कारण हेलिकोप्टर उड्न नसकेकाले समस्या आएको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका सचिव रामचन्द्र श्रेष्ठले बताए ।

मनसुन शुरुसँगै मनाङ जिल्ला अन्धकारमा छ । बाढी पहिरोका कारण स्थानीयस्तरका लघुजलविद्युत योजनामा क्षति पुगेको छ ।

राष्ट्रिय प्रसारण लाइनको पोल ढलेका कारण मनाङ सदरमुकाम चामेसहित गाउँहरूमा बिजुली बलेको छैन । असार मसान्तमा सम्पादन गर्ने कामसमेत बिजुली नभएकै कारण प्रभावित भएको छ ।

जिल्ला प्रशासन कार्यालय मनाङले तोकेको प्राथमिकता क्रमअनुसार सोलार सरकारी कार्यालयलाई प्रदान गर्न लागिएको हो ।

कृष्णचन्द्र नेपाली पोखरेलको अध्यक्षतामा असार ६ गते बसेको प्रदेश विपद् व्यवस्थापन समितिको बैठकले सोलार खरिद गरेर पठाउने निर्णय गरेको हो । विद्युतीय भुक्तानी र कम्प्युटर प्रणालीमा आधारित सेवा प्रवाह प्रभावित भएको थियो ।

स्वास्थ्य कार्यालय प्रमुख बद्री आचार्यले बिजुली नहुँदा कोभिडविरुद्धको खोप जोगाउन समस्या भएको बताए । अनुकूल मिलाएर पोखरादेखि आइस ब्याग मगाएर खोप जोगाएको उनले जानकारी दिए ।

जेनेरेटर प्रयोग गर्न पनि इन्धनको अभाव, दिनभरि घाम नलाग्ने हुँदा पनि खोप बिग्रन्छ कि भन्ने डर रहेको उनको भनाइ छ ।

प्रतिक्रिया