आइतबार, वैशाख ७, २०८२

नेपाली राष्ट्रिय फुटबल टोली पुरस्कृत

मेरोन्यूज २०७८ असार २७ गते १६:२०


काठमाडौँ । ३७ वर्ष पछि घरेलु रंगशालामा थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलको उपाधि विजेता नेपाली राष्ट्रिय फुटबल टोलीलाई आज सरकारले नगदसहित पुरस्कृत गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेश, किर्गिस्तान र नेपाल सम्मिलित थ्री नेसन्स कपको विजेता नेपाली टोलीलाई पुरस्कृत गरेका छन् । २३ खेलाडी र ३ प्रशिक्षक नगद पुरस्कारबाट पुरस्कृत भए । गत चैत १६ भएको फाइनल खेलमा घरेलु टोली नेपालले बंगलादेशलाई २–१ ले हराउँदै उपाधि जितेको थियो ।

सोही नेपाली टोलीलाई जनही ४ लाख नगदसहित पुरस्कृत गरेको हो । यस्तै प्रशिक्षकलाई सरकारले नगद २ लाख रुपैयाँ प्रदान गरेको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा प्रधानमन्त्री केपी ओली उपस्थित भइ फाइनल खेल हेरेका थिए । सोही क्रममा विजेता लाई पुरस्कार दिने घोषणा गरेका थिए ।

थ्री नेसन्सको उपाधि जितेपछि बसेको मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीलाई जनही ४÷४ लाख दिने निर्णय गरेको थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सिफारिसमा सरकारले उपाधि विजेता खेलाडीलाई जनही ४ लाख दिने निर्णय गरेको थियो । फाइनलमा नेपाललाई उपाधि दिलाउन सजोक राई र विशाल राईले एक/एक गोल गरेका थिए ।

३७ वर्षपछि घरेलु भूमिमा उपाधि जितेको नेपालले सन १९८४ को सागमा घरेलु मैदानमा उपाधि जितेको थियो ।

प्रतिक्रिया