शनिबार, फागुन १६, २०८२

राजस्व छलेको अभियोगमा तीन लाख जरिवाना

मेरोन्यूज २०७८ असार २८ गते २१:०४

परासी । राजस्व छलेको अभियोगमा यहाँका एक व्यवसायीलाई रु तीन लाख जरिवाना भएको छ । रामग्राम नगरपालिका—१६ हकुईस्थित विष्णु जनरल स्टोर्सले स्वीकृति बिना नै सूर्तिजन्य पदार्थ बिक्री गरी राजस्व छलेको पाइएपछि जिल्ला प्रशासन कार्यालय नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) ले सो जरिवाना गरेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीे नेतृत्वको संयुक्त बजार अनुगमन समितिले आइतबार साँझ बजार अनुगमन गर्ने क्रममा उक्त पसलले अनुमति नलिई वस्तु बिक्री गरेको पाइएपछि जरिवाना गरेको बताइएको छ । स्वीकृति बिना नै बिक्रीका लागि राखिएका सुर्तिजन्य पदार्थ र म्याद गुज्रेका वस्तु अनुगमन टोलीले जफत गरी नष्ट गर्ने क्रममा व्यवसायी र आफन्तले अनुगमन समितिलाई घेराउ गरी अवरोध समेत गरेका थिए ।

उक्त पसलका सञ्चालकले खाद्यान्न, पेयपदार्थ र सूर्तिजन्य पदार्थको बिक्री वितरणका लागि तीन वटा छुट्टा छुट्टै फर्म दर्ता गरेपनि अनुमति लिएको फर्मभन्दा अन्य फर्मबाट सूर्तिजन्य पदार्थ बिक्री गरेको पाइएको थियो । टोलीले रामग्राम—१० को मन्झरिया, नदवा र रामग्राम—१६ हकुईका किराना, कपडा, हार्डवेयर, होटल, मिठाई पसललगायत विभिन्न २२ पसलको अनुगमन गरेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नेत्रप्रसाद भुसालले जानकारी दिए ।

त्यसक्रममा भेटिएका अखाद्य पदार्थ, म्याद गुज्रेका तथा लेभल नभएका वस्तु जफत गरी नष्ट गरिएको थियो । अधिकांश पसल दर्ता बिना नै सञ्चालनमा रहेको, साइनबोर्ड र मूल्य सूचि नभएको, खुद्रा व्यवसाय दर्ता गरी थोक बिक्री गरिरहेको, बील प्रयोग नगरेको, मिठाई पसलमा सरसफाइको अभाव रहेको भेटिएकाले तीनदेखि सात दिनसम्मको म्याद दिएर सुधारका लागि सचेत गराइएको उनले बताए । अनुगमनमा उद्योग वाणिज्य सङ्घ, उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधि, पत्रकार, सुरक्षाकर्मी लगायतको पनि सहभागिता थियो ।

प्रतिक्रिया