आइतबार, मंसिर ७, २०८२

माधव नेपाल निवास किन धाईरहेछन् नेताहरू ?

शित्तल शर्मा २०७८ असार ३१ गते १६:३४

काठमाडौं । सर्वाेच्च अदालतले संसद पूर्नस्थापना गरेर कांग्रेस सभापति शेरवहादुर देउवालाई परमादेशका आधारमा प्रधानमन्त्री नियुक्त गरेपछि राजनीतिमा नयाँ कोर्श शुरु भएको छ । त्यसपछि देउवा निवास वुढानिलकन्ठमा बधाई दिने र भेटन जाने नेता-कार्यकर्ताको घुइँचो छ । देउवा निवासवाट वालुवाटार सरिनसकेका कारण पनि वुढानिलकन्ठमा मान्छेहरुको ओइरो लागेको हो ।

देउवा निवासमा मान्छेहरुको बाक्लो भीडभाड भएपनि राजनीतिको मियो भने एमाले वरिष्ठ नेता माधव नेपालको निवास कोटेश्वर हुन थालेको छ । अर्थात भनौं, एमाले नेता नेपाल निवासमा चार दिन यता निक्कै अर्थपूर्ण राजनीतिक भेटघाट हुन थालेको छ ।

एमालेभित्र आन्तरिक एकताको प्रयासमा दोस्रो तहका नेता जुटिरहेपनि अध्यक्ष ओली र वरिष्ठ नेता नेपालको एकताको गाँठो वाँधिने लक्षण छैन । ओली नेपाल समुहका अन्यलाई पार्टीभित्र हुलेर नेपाललाई वाहिरै मिल्काउने दाउमा छन, उता नेपाल पनि ओलीसँग कुनै ‘कम्प्रमाइज’ गर्ने र मिलेर जाने पक्षमै देखिन्नन ।

नेपाल समुहका २३ सांसदले अदालतमा समेत पुगेर देउवाको पक्षमा सनाखत गरेपछि ओलीको प्रधानमन्त्री पद गुमेको छ । त्यसपछि ओली नेपालसँग वढी आक्रोशित छन् । उनले वुधबार मात्रै पनि नेपाललाई ‘विकाउ’ नेता, राष्ट्रिय गद्दार मात्रै भनेनन्, एमालेमा स्थान नहुने सम्मका सार्वजनिक अभिब्यक्ति नै दिए ।

यता नेपालले पनि संसद वचाउन र ५ वर्ष नै संसद चल्न दिन आफुहरुले मेहनत गरेको र त्यसका लागि कांग्रेस नेतृत्वको यो सरकारलाई विश्वासको मत दिने आश्वासन देउवालाई दिईरहेका छन् ।

यसले एमाले भित्रको एकता झन–झन कठिन तर ओलीइतरका राजनीतिक शक्तिहरुको राणनीति सफल वन्दै जान थालेको छ । देउवाको सरकार कामचलाउमा पुराउने या संसद वचाएर सरकारको कार्यकारी अधिकार समेत लम्वाउने भन्नेमा यतिवेला पनि नेता नेपाल नै निर्णायक देखिएका छन् ।

हुन त नेता नेपाल एमालेभित्रको राजनीतिमा असाध्यै कमजोर बन्न पुगेका छन् । नेपाल समुहकै कतिपय नेतालाई ओलीले कार्यदल मार्फत एमालेभित्रै रहने गरी उनीहरुले खोजेजसरी नै ‘सेफल्यान्डिङ’को वातावरण बनाईदिएका छन् ।

प्रधानमन्त्री देउवा एमाले वरिष्ठ नेता माधव नेपाल भेटन कोटेश्वरमा

तर नेपाल त्यसरी एमालेमा ओलीसँग मिल्न फर्किने र नेपाललाई पनि सजिल्यै घरभित्र फर्काउनेमा ओली कठोर देखिएका छन् । वुधबार मात्रै नेपाललाई लक्षित गदै ओलीले वालुवाटारवाट बालकोट पुगेर भनेका थिए,- ‘विश्वासघाती र अन्तरघाती तत्त्वहरूको पछाडि लाग्ने केही व्यक्तिहरूको हकमा कमीकमजोरी महसुस गर्दै पार्टीमा आएर काम गर्न चाहे मौका दिन्छौं, तर माधव नेपालको हकमा आत्मालोचना, गल्ती कमी स्वीकार्ने कुनै ठाउँ छैन । नेपाली जनताले माधव नेपालजस्ता राष्ट्रिय गद्दारलाई कुनै क्षमा गर्दैनन् ।’

नेपालप्रति यति कठोर अभिब्यक्ति दिएकै केही समयमा प्रधानमन्त्री देउवा भने नेपाल भेटन उनकै निवास कोटेश्वर पुगेका थिए । कोटेश्वरमा नेपालसँग देउवाले आफु नेतृत्वको सरकार निर्माणमा एमाले पार्टीभित्रै जोखिम मोलेर भूमिका खेलेकोमा धन्यवाद ब्यक्त गरेका थिए । त्यसपछि भने उनले नेपाल समुहलाई सरकारमै सहभागी भएर सहयोग गर्न आग्रह गरेका थिए ।

सर्वाेच्चले २८ असारमा ओलीको सिफारिसमा राष्टपति विद्या भण्डारीले विघटन गरेको संसद पूर्नस्थापना गरेर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि नेपालकै निम्तोमा कोटेश्वरस्थित नेपालको निवास छेउमै रहेको बन पैदावरमा काग्रेस, माओवादी, नेपाल समुह, जसपाको उपेन्द्र –बाबुराम समुह र राष्ट्रिय जनमोर्चाका वीचमा सम्वाद भएको थियो ।

त्यस दिन नेपालले संसद पूनस्थापनासम्म धोका नदिने वचनमा आफु प्रतिवद्ध रहेको र त्यही अनुसारको भूमिका खेलेको भन्दै आफनो पार्टीभित्र अब एकताको छुट्टै वातावरण वन्न लागेकोले गठवन्धनवाट वाहिरिएरै सहयोग गर्ने धारणा देउवा र प्रचण्ड लगायत नेताहरुलाई सुनाएका थिए ।

प्रतिनिधिसभा ब्युँतिएलगत्तै विपक्षी गठबन्धन छोडेको घोषणा गरेका नेपाल समूहका २३ सांसदले विश्वासको मत नदिए आफनो नेतृत्वको सरकारलाई एक महिनामै कामचलाउ बनाईदिन सक्ने आंकलन देउवामा थियो । त्यही भएर उनी नेपाल निवासमै प्रधानमन्त्री चयन भएपछि पहिलो पटक भेटन पुगेका थिए । त्यहाँ देउवाले नेपाल समुहले अवको राजनीतिक कदममा के स्टेप लिन्छ भन्ने जिज्ञासा राखेका थिए । तर नेपालले देउवाको आशंका निवारण गदै विश्वासको मत दिएर सहयोग गर्ने प्रतिवद्धता जनाईदिए ।

‘दुई–दुईपटक विघटन भएर पुनर्स्थापित भएको संसद पुरै कार्यकाल चलाउनु हाम्रो कर्तब्य हो । सकेसम्म सिंगो एमालेले नै विश्वासको मत दिने वातावरण तयार पार्छु नत्र रिट निवेदक २३ जनाको मत सरकारले पाउँछ, तपाईं ढुक्क हुनुस्,’ नेपालले प्रधानमन्त्री देउवालाई दिएको वचन उदधृत गदै भेटमा सँगै रहेका एमाले सांसद विरोध खतिवडाले मेरोन्यूजसँग भने ।

यसले पनि देउवालाई अझै विश्वासको मत दिएर सरकार कामचलाउमा जानवाट रोक्ने निर्णायक शक्ति नेपाल समुहनै देखिएको छ । जसका कारण पनि नेता नेपाल निवासलाई नेताहरुले राजनीतिको केन्द्रीय थलो बनाउन चाहेको देखिन्छ ।

प्रधानमन्त्री देउवा भन्दा अगाडी मात्रै पनि नेता नेपालको निवासमा वुधबार दिनभर नेताहरुको आउने-जाने क्रम चलिरहेकै थियो ।

विहानै एमाले उपाध्यक्ष वामदेव गौतम पनि कोटेश्वर नै पुगेर नेता नेपालसँग लामो सम्वाद गरेर फर्किएका थिए । माओवादी केन्द्रका प्रभावशाली नेता तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि नेता नेपाल निवास पुगेर सम्वाद गरेका थिए ।

प्रधानमन्त्री नेपाल भेटन कोटेश्वर पुगेपछि भीम रावल पनि नेपाल निवास पुगेर अव धेरै विद्रोही नवनौं, पार्टी एकता जोगाएर जाऔं भन्दै नेपाललाई सुझाव दिन पुगेका थिए ।

तर नेपाल राजनीतिक कोर्स अझै नसकिएको र संसद वचाउन एकपटक फेरि भूमिका खेल्नुपर्ने आफुहरुको काँधमा जिम्मेवारी आएको वताएर रावल लगायत नेतालाई फर्काइदिएका थिए । सोही कारण देउवालाई विश्वासको मत दिनुपर्ने पक्षमा नेपालको चट्टानी अडान कायमै छ ।

देउवाको सरकार गठन र सरकारको वचाउमा मात्र नेपालले वचन दिएका होइनन, उनी आवश्यक परे पार्टी नै नयाँ बनाएर वृहत वाम कम्युनिष्ट केन्द्र निर्माणको अभियानमा लाग्ने पक्षमा ढृढ देखिन्छन् । त्यसैका लागि पनि उनका केही भेटघाट अर्थपूर्ण छन् । विहिवार विहान मात्रै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव), र अर्का नेता धर्मेन्द्र बास्तोलासँगको उनको निवासकै भेट झन अर्थपूर्ण मानिएको छ ।

त्यो भेटमा नेताहरुका वीचमा समाजवादी पार्टी निर्माण गर्ने देखि कम्युनिष्ट धुव्रिकरणको आवश्यकता सम्ममा छलफल भएको स्रोतको भनाई छ । ओली नेतृत्वको सरकारसँग तीन वुँदे सहमति गरेर शािन्तपूर्ण राजनीतिमा आएपनि विप्लवका माग सरकारले पूरा गरेको छैन । वन्दी रिहाई अझै भएको छैन । यही विचमा ओलीको सरकारको वर्हिगमन र नयाँ सरकार गठनको प्रक्रिया चलेपछि त्यसवेलाको सहमति कार्यान्वयनमा अहिले विप्लव समुहको सवैभन्दा वढी चासो देखिन्छ ।

उसले संयुक्त प्रगतिशिल सरकार वन्ने अवस्था आए आफुहरु पनि सरकारमा जाने वताईरहेकै छ । त्यही तीन बुँदे सहमतिको प्रतिवद्दताको विश्वासका लागि उनी अहिले सरकार पक्ष रहेका नेताहरुको निवास धाउन थालेका छन् ।

त्यही क्रममा नेता उनीहरुका वीचमा वृहत कम्युनिष्ट एकताको बारेमा पनि चर्चा भएको हो । नेपाल समुह ओलीसँग टक्कर लिन र देखाउनकै लागि भएपनि कम्युनिष्ट एकताको पक्षमा छन् । त्यसको लागि पनि उनले सँगसँगै अर्थपूर्ण भेटघाटलाई निरन्तरता दिईरहेको वुझन सकिने विश्लेषण हुन थालेको छ ।

असार २८ यता नेपाल निवासका अर्थपूर्ण छलफल

विहिवार विहान माधव नेपाल निवासमा धर्मेन्द्र बास्तोला, प्रचण्ड, माधव नेपाल र नेत्रविक्रम चन्द (विप्लव)


असार २८ : माधव नेपालकै आयोजनामा विपक्षी गठवन्धनका नेताहरुको बैठक नेपाल निवास नजिकै बन पैदावरको कार्यालयमा वस्यो ।
असार २९ : एमाले अध्यक्ष एवंम निर्वतमान प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री शेरवहादुर देउवाको सपथ वहिष्कार गरेपनि देउवालाई शित्तल निवासमै पुगेर माधव नेपालले पहिलो बद्याई दिए ।

असार ३० : एमाले उपाध्यक्ष वामदेव गौतम विहान, त्यसलगत्तै एमाओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश) नेपाल भेटन कोटेश्वर पुगेका थिए । साँझ प्रधानामन्त्री शेरवहादुर देउवा माधव नेपालको निवासमै पुगेर नेपालसँग भेट गरेर फर्किए । लगत्तै एमाले उपाध्यक्ष भीम रावल नेपाल निवास पुगेका थिए ।
सार ३१ : माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) र नेता धर्मेन्द्र बास्तोलावीच सामुहिक छलफल ।

०००

प्रतिक्रिया