मंगलबार, चैत २४, २०८२

नेपाली सेनाको व्यवस्थापनमा सामाखुशीमा कोरोना खोप केन्द्र सञ्चालन

मेरोन्यूज २०७८ असार ३१ गते २१:०५
फाइल फाेटाे

काठमाडाैं । नेपाली सेनाको व्यवस्थापनमा राधास्वामी सत्संग व्यास नेपाल टोखामा कोरोना खोप केन्द्र सञ्चालनमा आएको छ । सरकारले असार ३० देखि साउन २ गतेसम्म कोरोना खोप लगाउने मिति तय गरेसँगै नेपाली सेनाको व्यवस्थापनमा टोखा नगरपालिका–१० सामाखुशीस्थित राधास्वामी सत्संग व्यास नेपालको भवनमा बुधबारदेखि कोरोना खोप केन्द्र सञ्चालनमा ल्याइएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

धास्वामी कोभिड आइसोलेशन तथा अक्सिजन थेरापी केन्द्रका क्लिनिकल रजिष्ट्रर महासेनानी डा सुमनराज डङ्गोलले सेनाको व्यवस्थापनमा वीरेन्द्र सैनिक अस्पतालका साथसाथै राधास्वामी भवनमा कोभिड खोप केन्द्र सञ्चालनमा ल्याइएको जानकारी दिए ।

बुधबारदेखि शुरु भएको खोप केन्द्रमा ५५ वर्ष वा सोभन्दामाथि उमेरका सबै नागरिक, विश्वविद्यालय र विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक तथा सहचालक, नेपाल सरकारले तोकेका अत्यावश्यक सेवामा कार्यरत खोप लाउन छुट भएका व्यक्ति र खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकले खोप लगाउन पाउनेछन् ।

बुधबार ८४८ जनाले खोप लगाएको उक्त केन्द्रमा आज ८०० जनालाई खोप लगाउने कार्यक्रम रहेको डा डङ्गोलले बताए । काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा जेठ ८ गतेदेखि सञ्चालनमा ल्याइएको उक्त राधास्वामी कोभिड आइसोलेशन तथा अक्सिजन थेरापी केन्द्रमा हाल १८२ कोरोना सङ्क्रमितले उपचार गरेर घर फर्किसकेका छन् ।

अक्सिजनसहित ८८ श्यया र अक्सिजनविनाको ९६ श्यया रहेको उक्त आइसोलेसन केन्द्रमा अहिले ३७ जनाले कोरोना सङ्क्रमितले उपचार गराइरहेका केन्द्रका कन्सल्टेन्ट फेमिली फिजिसियन डा विश्वराज दवाडीले जानकारी दिए । उक्त आइसोलेशन केन्द्रमा बस्ने बिरामी तथा बिरामीको उपचारमा खट्ने चिकित्सकको निःशुल्क खानाको व्यवस्था भने राधास्वामी सत्संग व्यास नेपालले मिलाएको छ ।

उक्त राधास्वी संस्थाले बिरामीका लागि दैनिक झोल पदार्थसहित छ पटक खानेकुरा खुवाउँदै आएको छ । कोरोना सङ्क्रमित भएर घरमा बस्न अप्ठ्यारो परेका वा आर्थिक अवस्था कमजोर भएका जो कोही बिरामी पनि उपचारका लागि उक्त केन्द्रमा जान पाउनेछन् । उक्त आइसोलेशन केन्द्रमा दुई जना कन्सल्टेन्ट डाक्टर, आठ जना मेडिकल अफिसर, छ जना विएन नर्स, ३४ जना स्टाफ नर्र्स र २४ जना हेल्थ एटेण्डेन्ट करारमा कार्यरत छन् ।

प्रतिक्रिया