मंगलबार, वैशाख २२, २०८३

बढी भाडा लिने ७७ सार्वजनिक यातायात कारवाहीमा

मेरोन्यूज २०७८ साउन ४ गते ९:४९
फाइल तस्बिर

काठमाडौं । सार्वजनिक यातायातमा तोकेभन्दा बढी भाडा लिने ७७ सवारीलाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

Advertisement
NiccNicc

यातायात व्यवस्था विभागले अन्तर प्रदेश चल्ने सवारीसाधनमा यही साउन १ गतेदेखि लागु हुने गरी असार ३१ गते भाडा बढाउने सूची वेबसाइटमार्फत सार्वजनिक गरेको थियो । साउन १ गतेदेखि २८ प्रतिशत भाडा बढेको भन्दै काठमाडौं उपत्यकालगायत प्रदेशभित्र चल्ने सवारीमा समेत मनपरी भाडा लिन थालेपछि ट्राफिक प्रहरी अनुगमन गरी कारबाही गर्न सक्रिय भएको महाशाखाका प्रवक्ता सञ्जीव शर्मा दासले जानकारी दिए ।

महाशाखाले शुक्रबारदेखि शनिबार बिहानसम्म बढी भाडा लिने १६० सवारीलाई कार्बाही गरेको थियो । शनिबारदेखि आइतबार अपराह्न ४ बजेसम्म बढी भाडा लिने ७७ सवारीलाई कारबाही गरिएको हो ।

बढी भाडा लिने सवारीका बारेमा ट्राफिक प्रहरीको निःशुल्क नम्बर–१०३ मा फोन गरेर सूचना दिन महाशाखाले आह्वान गरेको छ । बढी भाडा लिने सवारीलाई ५०० देखि एक हजार ५०० रुपैयाँसम्म जरिवाना भइरहेको छ ।

एउटै सवारीले पटक–पटक बढी भाडा लिएको पाइएमा पाँच हजार रुपैयाँ जरिवानासहित सवारी ‘सिज’ गर्नेसम्मका कारबाही गरिने तयारी भएको प्रवक्ता शर्मा दासले बताए । शुक्रबार कारबाही गरिएपछि शनिबारदेखि बढी भाडा लिने क्रम घट्दै गएको महाशाखाले जनाएको छ । रासस

प्रतिक्रिया