मेलम्ची खोलाले फेरी मच्चायो बितण्डा
असार १ को बाढीबाट बचेको भाैतिक संरचनामा थप क्षति, रेडियो मेलम्चीको भवन बगायो
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकस्थित मेलम्ची खोलामा गएराति फेरि ठूलो बाढी आएको छ । स्थानीयका अनुसार यो बाढी गत असार १ को जति नै ठूलो थियो । असार १ गते आएको बाढीका कारण त्यहाँ ठूलो जनधनको क्षती भएको थियो ।
गए राति आएको बाढीका कारण केही घरमा क्षति पुगेको छ । त्यस्तै तालामाराङको प्रहरी चौकी विस्थापित भएको छ ।
गए रातिको बाढीले रेडियो मेलम्चीको भवन बगाएको स्टेसन म्यानेजर देवराज सुवेदीले जानकारी दिए । साथै खोलाको धार परिवर्तन भइ तालामाराङ प्रहरी चौकीको भान्छा घर समेत बगाएको उनको भनाइ छ ।
रेडियो मेलम्चीको भवन ढलेको छ साथै मीन देउजाका अनुसार खोलाको धार परिवर्तन भई तालामाराङ प्रहरी चौकीको भान्छा घर समेत लगेको भन्ने खबर आयो, सुवेदीले फेसबुकमा लेखेका छन्,अब हाम्रो वस्ति तिर छिर्ने संभावना बढेर गएको छ सबै सुरक्षित बस्नुहोला ।
राति करिब पौने ९ बजेतिर आएको बाढीले चनौटै, ग्याल्थुङ बजार तहसनहस बनाएको छ । असार १ को बाढीले क्षति पुर्याएको ठाउँमा बाढीले थप क्षति पुर्याएको हो ।
मेलम्ची नगरपालिकाका मेयर डम्बर बहादुर अर्यालले यसअघि गत असार १ गतेको बाढीले बगाएर बचेको खेत खोलाले धार परिवर्तन गर्दा हिजाेको बाढीले बगाएको बताए ।
मेलम्ची तिम्बु जोड्ने सडक बाढीले तीन ठाउँमा क्षति पुर्याएको उनले बताए । माथिल्लो क्षेत्रमा रहेका सवारी साधन भने हिजो साँझ नै मेलम्ची बजार भन्दा तल्लो सुरक्षित स्थानमा सारिएको मेयर अर्यालले बताए ।
माथिल्लो क्षेत्रबाट समयमा नै जानकारुी आएकाले समयमा नै स्थानीयलाई सुरक्षित स्थानमा सारिएकाले मानवीय क्षति भने नभएको उनको भनाई छ ।
प्रतिक्रिया