शनिबार, माघ १२, २०८१

काङ्ग्रेसको महाधिवेशन मंसिरमा,प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म

मेरोन्यूज २०७८ साउन ३० गते १९:०४

काठमाडौं । सत्तारढ दल नेपाली काङ्ग्रेसको महाधिवेशन मंसिरमा हुने भएको छ ।

Advertisement

केन्द्रिय कार्य समितिको तेस्रो दिन शनिबार पनि जारी बैठकले मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको हो ।

केन्द्रीय समिति बैठकको निर्णय अनुसार अब भदौ २ गतेसम्म क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने समय तोकिएको छ । त्यस्तै भदौ २ गते नै निर्वाचन निर्देशिकालाई अन्तिम रुप दिने कांग्रेसको कार्यतालिका छ ।

वडा अधिवेशन भदौ १८, गाउँ तथा नगर अधिवेशन भदौ २७, प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन असोज १, संघीय निर्वाचन क्षेत्रको अधिवेशन असोज ५, जिल्ला अधिवेशन असोज १० र प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्मका लागि तोकिएको छ ।

वैठकमा नेताहरुले सबै विद्यार्थीहरुलाई कोरोनाविरुद्धको खोपको व्यवस्था तत्काल मिलाउन सरकारसँग माग समेत गरेका छन् । नेपाली काँग्रेसका केन्द्रिय सदस्यहरुले कोरोनाविरुद्धको खोप सबै विद्यार्थीहरुलाई तत्काल उपलब्ध गराई सबै तहको परीक्षा सूचारु गराउन सरकारको गम्भिर ध्यानाकर्षण गराएका हुन ।

खोपको अभावमा विद्यार्थीहरुले परीक्षा दिन नपाउने अवस्थाको अन्त्य गर्न पार्टीका केन्द्रिय सदस्यहरुले सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । बैठकमा नेताहरुले ईपीएस परीक्षा पास गरेर पनि दक्षिण कोरिया जान नपाएकाहरुलाई तत्काल कोरिया पठाउन पनि सरकारलाई सचेत गराएका थिए ।

पार्टीको सरकार भएका बेला परीक्षा पास गरेर अलपत्र अवस्थामा बसेका युवाहरुलाई तत्काल कोरिया जाने अवस्था मिलाउन पनि सरकारलाई नेताहरुले आग्रह गरेको पनि प्रवक्ता शर्माले बताए । भूतपूर्व गोर्खा सैनिकहरुले बेलायतमा विभिन्न माग राखेर धर्ना दिईरहेकाले उनीहरुको माग सम्बोधन गराउन कूटनीतिक पहल गर्न पनि सरकारलाई नेताहरुले दवाव थिएका थिए ।

अफगानिस्तानमा रहेका नेपाली युवाहरुको जीवन सुरक्षाका लागि पनि प्रधानमन्त्री देउवालाई काँग्रेस केन्द्रिय सदस्यहरुले आग्रह गर्नु भएको थियो । प्रवक्त शर्माले भने , ‘अफगानिस्तानमा पछिल्लो जे घटना भईरहेको छ । त्यो घटनामा नेपालबाट गएका नेपालीहरु कामको क्रममा त्यहाँ हुनुहुन्छ । उहाँहरु कसैको पनि जीवन जोखिममा नपरोस् । त्यहाँ रहेका नेपालीहरुको अवस्था के छ ? र आवश्यक प¥यो भने सरकारले उनीहरुलाई प्रक्रिया पु¥याएर उद्धार गर्न गम्भिर बन्नुपर्दछ भनेर सम्माननीय प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण पनि गराउनु भएको छ ।’

बैठकमा नेताहरुले पार्टीको आसन्न महाधिवेशनको कार्यतालिका, सरकारको प्रभावकारितालगायतका विषयमा पार्टी नेतृत्वलाई सुझाव दिने क्रम जारी रहेको नेपाली काँग्रेसले जनाएको छ ।

प्रतिक्रिया