सोमबार, पुष १४, २०८२

प्रदेश १ मा अपराधिक गतिविधिमा वृद्धि, चार वर्षमा ५२७ जनाको हत्या

दुई हजार ७ सय बढी बलात्कार, झण्डै ३ हजार महिला हिंसाका घटना दर्ता

दया दुदराज २०७८ भदौ १४ गते १९:४६

घटना–१

गत भदौ १२ गते बिहान १ बज्दै थियो । ८ वर्षीय कुमार राई (नाम परिवर्तन) एक्कासी झल्यास्स ब्युझिए । ब्युझिने वित्तिकै उनको आँखाबाट आँसु खस्न थाल्यो । कारण थियो – उनका आमामाथि खुकुरी प्रहार ।

कुमार आफ्नो आमामाथि खुकुरी प्रहार भएको देखेर अताल्लिए र हत्तारिदै स्थानीयलाई खबर गर्न पुगे । स्थानीयलाई लिएर कुमार आफ्नो घरमा फर्किए । तर, उनले आमालाई जिउँदो भेटाउन सकेनन् । उनले स्थानीयलाई बोलाएर ल्याँउदासम्म २८ वर्षीय ईन्द्रकला राईले प्राण त्यागिसकेकी थिइन् ।

आमाको मृत्युुको पुष्टि भएपछि कुमार आफ्नो बाबुलाई खोज्न थाले । उनले बाबुलाई फेला पार्न सकेनन् । खोज्ने क्रममा घरदेखि अन्दाजी ४० मिटर पर रहेको दुधिलोको रुखमा कपडाले पासो लगाएर झुण्डिएको अवथामा फेला पारे ।

स्थानीयले कुमारका बाबुको समेत मृत्यु भएको पुष्टि गरे । र, प्रहरीलाई खबर गरे । प्रहरीले उक्त सुचना पाउना साथ इलाका प्रहरी कार्यालय साङपाङ र इलाका प्रहरी कार्यालय तिवारी भञ्ज्याङबाट प्रहरी टोली घटनास्थलमा पुगेर थप अनुसन्धान सुरु गर्यो ।

अनुसन्धानमा प्रहरीले श्रीमतीलाई खुकुरी प्रहार गरेर ४० वर्षीय वुद्धिमान राईले आफैले आत्महत्या गरेको पुष्टि गरेको छ । सोही दिनदेखि ८ वर्षीय कुमार बेसाहरा भएका छन् ।

घटना–२

खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मजुवागढी नगरपालिका ३ काँडे बस्ने गिरिराज थापा ९ भदौमा दिउँसो ११ बजे घरबाट निष्किए । उनी घरबाट निष्किएको लामै समय भए पनि फर्केनन । परिवारले उनी फर्केर आउछन् कि भनेर बाटो कुरेर बसे । तर, उनको कुनै अत्तोपत्तो लागेन । त्यसपछि परिवारले स्थानीयको सहयोगमा खोजी कार्य शुरु गरे ।

खोजीको क्रममा १० भदौ बिहानको राति झण्डै २ बजे घरदेखि दुई सय मिटर पर रहेको बारीमा मृत अवस्थामा फेला परे । उनको शव देखेको परिवारले तुरुन्त प्रहरीलाई खबर गरे । खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले थापाको हत्या भएको पुष्टि गर्यो ।

प्रहरीले घटनाको प्रकृती, स्थानीयबासीसँगको सोधपुछ र अनुसन्धानपछि उनको हत्या आफ्नै भाइ र भतिजा मिलेर गरेको आशंका गरे । जिल्ला प्रहरी कार्यालयका अनुसार उनको ९ भदौमा नै भाइ नारायण थापा र भतिजा रुपन थापाले हत्या गरेको हुन सक्ने आशंका गरेको हो ।

प्रहरीको शंकामा रहेका २२ वर्षीय नारायण र १५ वर्षीय रुपनलाई प्रहरीले भदौ ११ गते पक्राउ गर्यो । पक्राउ परेका उनीहरूले घरायसी विवादका कारण हत्या गरेको प्रारम्भिक बयान दिएको प्रहरीले जनाएको छ । घरयासी विवादले भैँसी बाँध्ने प्लाष्टिकको डोरीले घाँटीमा कसेर हत्या गरेको खुलेको छ ।

घटना–३

अस्पतालमा आएका विरामीहरुलाई विभिन्न बाहना बनाएर निजी अस्पतालहरूका लागि विचौलियाको काम गर्ने १० जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगरबाट ८ भदौमा पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दुहवीका ५४ वर्षीय श्रीराम चौधरी, सिरहा–२ का २० वर्षीय सूर्य नारायण यादव, मोरङ कटहरी ३ का ४२ वर्षीय मोजलिद, विराटनगर ७ का १८ वर्षीय विश्वास मण्डल विराटनगर १४ का २३ वर्षीय रोशन गुप्ता, विराटनगर ४ का १९ वर्षीय सुजित यादव, विराटनगर ५ का २२ वर्षीय फिरोज रोय, २१ वर्षीय समिर खान, १८ वर्षीय सरोज खान र विराटनगर ३ का १८ वर्षीय अमित यादव रहेका छन् ।

प्रहरीका अनुसार उनीहरुले विराटनगर महानगरपालिका अन्तर्गतका विभिन्न अस्पतालमा उपचार गराउन आएका विरामी तथा विरामीका आफन्तहरूलाई भेटी ‘यहाँ डक्टर राम्रो छैन, यो अस्पतालमा कोरोना धेरै छ, उपचार राम्रो छैन, औषधी राम्रो छैन भन्ने जस्ता अफवाह फैलाई विरामी तथा आफन्तहरूलाई आफ्नो सम्पर्कमा भएको अस्पताल वा क्लिनिकमा उपचारको लागि प्रेरित गर्ने र सम्पर्कमा भएको फार्मेसीमा औषधी किन्न बाध्य गराउने काम गरेका थिए ।

ती व्यक्तिहरुले विचौलीयाको कार्य गरी सर्वसाधारण नागरिकलाई दुःख हैरानी दिने गरेको पाइएको हो ।
पक्राउ परेकामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ । यसअघि जिल्ला प्रहरी कार्यालय मोरङले २ जनालाई यस्तै विचौलियाको काम गरेको अभियोगमा पक्राउ गरी कारबाही गरेको थियो ।

यी त केही घटना मात्र हुन् । यी सबै घटनाहरु फेरि प्रदेश १ कै हुन् । हत्या जस्तो गम्भीर प्रकृतीको घटनाहरु प्रदेश १ मा प्रत्येक दिन जसो भएको पाइन्छ । यी तमाम घटनालाई नियाल्दा यो प्रदेशमा अपराधिक घटनाहरु बढेको बुझिन्छ । नेपालको पूर्वी क्षेत्रमा रहेको यो प्रदेशमा अपराधिक घटनाहरु बढेको तथ्याङ्कले पुष्टि गर्दछ । हत्या, महिला हिंसा, बलात्कार, अपहरण, ठगी जस्ता अपराधका घटनाहरु बढेको पाइन्छ ।

चार वर्षमा ५२७ जनाको हत्या

प्रदेश नम्बर १ मा पछिल्लो ४ वर्षमा ५ सयभन्दा बढी व्यक्तिको हत्या भएको छ । चार आर्थिक वर्षमा मात्रै ५०९ जनाको हत्या भएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त कुँवरले मेरोन्युजलाई जानकारी दिए ।

एसएसपी कुँवरका अनुसार आर्थिक वर्ष २०७४/०७५मा १७५ जना, आर्थिक वर्ष २०७५/०७६मा ११३ जना, आर्थिक वर्ष २०७६/०७७ मा १२९ जना र आर्थिक वर्ष २०७७/०७८ मा ११० जना गरी ४ आर्थिक वर्षमा ५२७ जनाको हत्या भएको हो ।

प्रहरीको तथ्याङ्कलाई हेर्दा हत्याको दरमा उतारचढाव देखिन्छ । हत्याका घटनाहरूलाई हर्दा पछिल्लो आर्थिक वर्षमा घटेको देखिन्छ

चार वर्षमा दुई हजार ७ सय बढी बलात्कारका घटना

प्रदेश नम्बर एकमा पछिल्लो ४ वर्षमा २ हजार ७ सय ७५ वटा बलात्कारका घटनाहरू दर्ता भएका छन् । नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता कुँवरले दिएको जानकारीअनुसार, आर्थिक वर्ष २०७४/०७५ मा ५७० जना, आर्थिक वर्ष २०७५/०७६ मा ७८१ जना, आर्थिक वर्ष २०७६/०७७ मा ६५४ जना र आर्थिक वर्ष २०७७/०७८ मा ७७० जना गरी ४ आर्थिक वर्षमा २ हजार ७७५ जना प्रदेश १ मा मात्रै बलात्कृत भएका छन् ।

महिला हिंसा उत्तिकै

महिलामाथि हुने अपराधिक घटनासमेत प्रदेश नम्बर १ मा उत्तिकै उच्च बिन्दुमा छ । बलात्कारको घटनालाई हेर्दै गर्दा अपराधिक घटनाका रुपमा रहेका महिला तथा बालबालिका हिंसासमेत उत्तिकै उच्च बिन्दुमा छ । घरेलु हिसां, यौन दुराचार, बहु विवाह, बाल विवाह, बोक्सीको आरोप, अप्राकृतिक मैथुन र अवैध गर्भपतन जस्ता घटनाहरु घटेका देखिन्छन् ।

नेपाल प्रहरीको केन्द्रीय कार्यालयले उपलब्ध गराएको तथ्याङ्कलाई हेर्दा पछिल्लो चार वर्षको ३ हजार ३ सय १५ वटा घरेलु हिंसा, ३४ वटा बालविवाह, २६ वटा बोक्सिको आरोप, २२ वटा अप्राकिृतिक मैथुन र २८ वटा अवैध गर्भपतनका घटनाहरु प्रहरी कार्यालयमा दर्ता भएका छन् । यी सबै प्रकारका हिंसामा समेत घरेलु हिंसा उच्च बिन्दुमा रहेको तथ्याङ्कले पुष्टि गर्दछ ।

अपहरणको अवस्था कस्तो छ ?

शारीरिक रुपमा बन्दक बनाएर फिरौती लिने अपराधिक गतिविधि समेत प्रदेश १ मा बढेको छ । केन्द्रीय कार्यालयको तथ्याङ्कलाई हेर्दा प्रदेश नम्बर १ मा अपहरणको घटनासमेत बढेको देखिन्छ । प्रहरी तथ्याङ्कअनुसार पछिल्लो चार वर्षमा ६४ वटा अपहरणका घटना दर्ता भएका छन् ।

आर्थिक वर्ष २०७४/०७५मा १३ वटा, आर्थिक वर्ष २०७५/०७६मा १२ वटा, आर्थिक २०७६/०७७मा २१ वटा र आर्थिक वर्ष २०७७/०७८मा १८ वटा गरी ४ वर्षमा जम्मा ६४ वटा घटनाहरु दर्ता भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुँवरले जनाएका छन् ।

प्रहरीका अनुसार शारीरिक रुपमा बन्धक बनाउने र फिरौती रकम माग्ने जस्ता घटनाहरु बढ्दै गएको देखिन्छ । कुनै व्यक्तिको सम्पत्तिमाथि कुदृष्टि राखेर उनको कमजोरीलाई प्रयोग गर्ने, व्यक्तिका प्रिय मान्छेलाई बन्धक बनाएर फिरौती रकम माग्ने जस्ता घटनाहरुमा वृद्धि भएको छ ।

साथै बन्धक बनाएर जबरजस्ती करणी गर्ने जस्ता घटनासमेत बढेका छ । पछिल्लो ४ वर्षमा १० वटा भने शारीरिक रुपमा बन्धक बनाएर जबरजस्ती करणी गरेको घटनाहरु दर्ता भएको प्रहरीको तथ्याङ्कले देखाएको छ ।

ठगीका घटनामा छैन सुधार

मानिसलाई विभिन्न बाहना देखाएर पैसा असुल्ने वा सम्पत्ति हडप्ने अपराधिक शैली नै ठगी हो । कुनै पनि व्यक्तिलाई आश्वासन देखाएर पैसा असुली गर्ने वा सम्पत्ति हडप्ने जस्ता घटनाहरु प्रदेश नम्बर १ मा बढेको देखिन्छ । नेपाल प्रहरीको तथ्याङ्कलाई हेर्दा यस्ता ठगीका घटनाहरू बड्ने र घट्ने क्रम देखिन्छ ।

आर्थिक वर्ष २०७४/०७५मा ८६ वटा, आर्थिक वर्ष २०७५/०७६ मा ८८ वटा, आर्थिक वर्ष २०७६/०७७ मा १२४ वटा र आर्थिक वर्ष २०७७/०७८ मा ९९ गरी ४ आर्थिक वर्षमा २ सय ९७ वटा ठगीका घटनाहरु प्रहरी कार्यालयमा दर्ता भएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता कुँवरले जानकारी दिए ।

यी घटनाहरु कति अनलाइनका माध्यमबाट त कति किर्ते कामबाट भएका छन् । अञ्जान व्यक्ति बनेर विदेश पठाउँछु भन्दै रकम असुली गर्ने र सम्पर्कविहीन हुने खालका घटनाहरु बढी दर्ता भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पहाडी क्षेत्रमा रहेका पुरुषहरूलाई आकर्षक मुलुक पठाउने भन्दै अवैध रकम असुली गर्ने र रकम असुल गरेर सम्पर्कविहीन हुने जस्ता घटनाहरु बढी दर्ता भएका हुन् ।

दया दुदराज

<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>

प्रतिक्रिया