पोखरा–सिमरा उडान : दुई प्रदेशलाई जोड्ने महत्वपूर्ण माध्यम

पोखरा । गण्डकी प्रदेशको पोखरा र प्रदेश २ को सिमरामा सीधा उडान सुरु भएसँगै यो उडान दुवै प्रदेशलाई जोड्ने महत्वपूर्ण आधार बनेको छ ।
लामो समयदेखि चासो र चर्चा पाएको पोखरा–सिमराबीचको सीधा उडानका लागि नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेश र नाट्टा प्रदेश २ ले विशेष पहल गरेका थिए ।
पहलस्वरुप बुधबारदेखि बुद्ध एयरले प्रत्येक हप्ता तीन दिनका लागि नियमित उडान थालेको नाट्टा गण्डकी प्रदेशका प्रथम उपाध्यक्ष एवं कार्यक्रम संयोजक हरिराम अधिकारीले बताए ।
पोखरा–सिमरा हवाई सेवाबाट जोडिएका अवसरमा नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेश र नाट्टा प्रदेश २ एवं बुद्ध एयरको सहकार्यमा बुधबार उडानमार्फत सिमरा आएको गण्डकी प्रदेशका पर्यटन, उद्योग तथा वाणिज्य व्यवस्थामन्त्री मणिभद्र कँडेलसहितको टोलीले विभिन्न सरोकारवाला निकायसँग छलफल एवं अन्तक्रिया गरेको छ ।
अन्तक्रियामा वक्ताले पोखरा–सिमरा उडानले दुवै प्रदेशबीचका सम्बन्धलाई थप प्रगाढ बनाउँदै पर्यटकीय साझेदारीका साथै औद्योगिकलगायतका हरेक क्षेत्रमा साझेदारी बढ्ने विश्वास व्यक्त गरे ।
बुधबार सिमरा विमानस्थल, पर्सा राष्ट्रिय निकुञ्ज, महागढीमाई नगरपालिका र वीरगञ्जमा छुट्टाछुट्टै आयोजित कार्यक्रममा वक्ताले पोखरा–सिमरा उडानले भारतीय पर्यटकको आवागमन बढ्नाका साथै आन्तरिक पर्यटनमा समेत महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे ।
गण्डकी प्रदेशका पर्यटन, उद्योग तथा वाणिज्य व्यवस्था मन्त्री कँडेलले भारतीय पर्यटकसहित वीरगञ्ज र समग्र प्रदेश नं २ का पर्यटकलाई मुक्तिनाथसम्मको धार्मिक पर्यटकीय यात्राका लागि उडान महत्वपूर्ण बन्ने विश्वास व्यक्त गरे । सीधा उडानबाट गण्डकी प्रदेश र प्रदेश २ दुवै लाभान्वित बन्ने विश्वास व्यक्त गरे ।
प्रदेश २ का उद्योग, पर्यटन मन्त्री रामनरेश राय यादवले प्रदेश हवाई उडानमार्फत जोडिनु महत्वपूर्ण उपलब्धि भएको जनाउँदै यसलाई व्यवस्थित र नियमित बनाउनेतर्फ सबैको चासो पुग्नुपर्ने बताए ।
प्रदेश २ का ऊर्जा तथा खानेपानीमन्त्री ओमप्रकाश शर्माले सुरु भएको उडान अब बन्द हुन नहुने बताउँदै त्यसका लागि प्रदेश २ सरकार प्रतिबद्ध रहेकोमा जोड दिए ।
महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्रप्रसाद यादवले गढीमाई क्षेत्रको ठूलो धार्मिक तथा सांस्कृतिक महत्व रहेको जनाउँदै गढीमाई र गण्डकी प्रदेशका धार्मिक पर्यटकीय तीर्थस्थल एकापसमा जोडिनुपर्ने आवश्यकता औँल्याए ।
नाट्टा प्रदेश २ का अध्यक्ष मोहन शर्माले पोखरा–सिमरा उडानका लागि नाट्टाका तर्फबाट निरन्तर प्रयास भएको जनाउँदै आगामी दिनमा यो उडानलाई व्यवस्थित र निरन्तरता गराउनेतर्फ ध्यान दिनुपर्ने बताए ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपिबहादुर भट्टराईले पर्यटकीय गतिविधि बढ्नका लागि हवाई सञ्जालसँग जोडिनु आवश्यक भएको बताउँदै पोखरा–सिमरा उडानले गाडीबाट गर्नुपर्ने १० घण्टाको यात्रालाई आधा घण्टामा छोट्याएको बताए ।
कोरोनाले थलिएको पर्यटनलाई अघि बढाउनका लागि सीमानाका स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै तत्काल खोल्नुपर्नेमा उनले जोड दिए ।

















मौन अवधिमा आचारसंहिताको पूर्ण पालना गर्न पत्रकार महासङ्घको आग्रह
मध्यपूर्वका हवाई क्षेत्र बन्द, हजारौँ उडान रद्द
मध्यपूर्वमा १७ लाखभन्दा बढी नेपाली, सुरक्षा र उद्धारका लागि के गर्दैछ सरकार?
उडान खुल्ने प्रतीक्षामा विमानस्थलमा अलपत्र यात्री
युक्रेन युद्ध अन्त्यका लागि हतार नगर्ने रुसको घोषणा
इरान र अमेरिकी प्रतिनिधिमण्डल वार्ता सहमति नजिक !
जापानमा वृद्ध व्यक्ति भित्तेचित्र कोरेको आरोपमा पक्राउ
अबको पाँच वर्ष स्वर्णिम बनाउने छौँ, मुलुकलाई दुर्घटनामा पर्न दिन्नौँ : सभापति थापा
सामसङकाे ग्यालेक्सी एस २६ सार्वजनिक
प्रतिक्रिया