प्रसारण लाइन टावर ढलेपछि चार जिल्लामा विद्युत आपूर्ति बन्द

पोखरा – अविरल वर्षाका कारण पर्वतमा प्रसारण लाइन टावर ढलेपछि गण्डकी प्रदेशका चार जिल्लामा विद्युत आपूर्ति बन्द भएको छ । शुक्रबार पर्वत सदरमुकाम कुश्मा नजिकै रहेको नेपाल विद्युत् प्राधिकरणको मोदी खोला विद्युत गृह र निजी क्षेत्रको युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले निर्माण गरेको मोदी खोला–१ जलविद्युत् आयोजनाकोबीचमा पर्ने टावर पहिरोले ढलेपछि चार जिल्लामा विद्युत प्रशारण बन्द भएको हो ।
पहिरोका कारण मोदी–१ जलविद्युत् आयोजनाको विद्युत् मोदी सबस्टेसनमा जोड्न कम्पनीले निर्माण गरेको १३२ केभी प्रसारण लाइनअन्तर्गत पर्वतको चुवामा पर्ने ४ नम्बर टावर ढलेको छ ।
प्रसारण लाइन टावर ढलेपछि पर्वत, म्याग्दी र मुस्ताङमा सञ्चालित विद्युत्गृहहरूको ६८.२ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
शुक्रबार विहान २ बजेबाट पर्वत, बाग्लुङ, म्यादी र मुस्ताङको विद्युत् आपूर्ति बन्द भएको छ । टावर ढल्दा म्याग्दीमा रहेका ४२ मेगावाटको मिस्त्री खोला तथा ५ मेगावाटको घलेम्दी खोला, मुस्ताङमा रहेको ११.२ मेगावाटको थापाखोला र पर्वतको १० मेगावाटको तल्लो मोदी–१ जलविद्युत् आयोजनाको उत्पादन बन्द भएको छ ।
प्राधिकरणले टावर मर्मतको काम तत्काल सुरु गर्न र विद्युत् आपूर्तिलाई सुचारु गर्न वितरण तथा ग्राहक सेवा गण्डकी प्रादेशिक कार्यालय पोखराका प्रमुख केदार सिलवाल, पोखरा ग्रीड प्रमुख माधव पौडेललगायतको टोली खटिएको छ ।
आतपत्कालीन रूपमा इमर्जेन्सी रेस्टोरेसन टावर प्रयोगमार्फत तत्काल काम थाली विद्युत् सञ्चालन र वैकल्पिक व्यवस्था गरी विद्युत् आपूर्ति सुरु गर्ने प्रयास भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । ‘लेदो आइरहेका कारण टावर ढलेको स्थानमा हाम्रो टिम जान सकेको छैन, इमर्जेन्सी रेस्टोरेसन टावर प्रयोग गरी जतिसक्दो छिट्टो लाइन सुरु गर्न प्रयास गरिरहेका छौं, यसका लागि बढीमा ५ दिन लाग्न सक्छ,’ घिसिङले भने ।
कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दाना सबस्टेसनमा जोडिएका मिस्त्री, थापाखोला र घलेम्दी आयोजनाको विद्युत कुश्मा सबस्टेसन हुदै मोदी–१ जलविद्युत आयोजनाको १३२ केभी प्रसारण लाइनमार्फत मोदी सबस्टेसन प्रवाह गरिएको छ ।

















मौन अवधिमा आचारसंहिताको पूर्ण पालना गर्न पत्रकार महासङ्घको आग्रह
मध्यपूर्वका हवाई क्षेत्र बन्द, हजारौँ उडान रद्द
मध्यपूर्वमा १७ लाखभन्दा बढी नेपाली, सुरक्षा र उद्धारका लागि के गर्दैछ सरकार?
उडान खुल्ने प्रतीक्षामा विमानस्थलमा अलपत्र यात्री
युक्रेन युद्ध अन्त्यका लागि हतार नगर्ने रुसको घोषणा
इरान र अमेरिकी प्रतिनिधिमण्डल वार्ता सहमति नजिक !
सामसङकाे ग्यालेक्सी एस २६ सार्वजनिक
जापानमा वृद्ध व्यक्ति भित्तेचित्र कोरेको आरोपमा पक्राउ
अबको पाँच वर्ष स्वर्णिम बनाउने छौँ, मुलुकलाई दुर्घटनामा पर्न दिन्नौँ : सभापति थापा
प्रतिक्रिया