एमाले स्थायी कमिटि बैठक आज
पार्टी विधानमा निर्वाचित पदाधिकारी र ७० वर्षे हदबन्दीको प्रावधान के होला ?

काठमाडौं । विधान महाधिवेशनका दस्तावेजमाथि छलफल र नेताको कार्यविभाजन हेरफेर गर्न नेकपा एमालेले पार्टी स्थायी कमिटी बैठक बोलाएको छ । आज बस्ने बैठकमा विधान महाविधेशनमा प्रस्तुत हुने प्रस्ताव तथा तयारीको बारेमा छलफल हुने एमालेले जनाएको छ ।
एमालेको विधान महाधिवेशन असोज ४ र ५ गते काठमाडौंमा हुँदैछ । त्यसका लागि एमालेले प्रस्तावित नयाँ विधान स्थायी समितिबाट पारित गरेर तल्लो तहमा सुझावका लागि पठाईसकेको छ ।
प्रस्तावित नयाँ विधानमा दशौं महाधिवेशनबाट पार्टी अध्यक्ष र केन्द्रीय सदस्यमात्रै निर्वाचित हुने व्यवस्था गरिएपछि एमालेभित्रै ठूलै बहस सिर्जना भएको छ । केन्द्रीय कमिटी बैठकमा प्रस्ताव गरिएको विधान संशोधन मस्यौदामा एमालेमा उपाध्यक्षको संख्या घटाइएको र सचिव संख्या बढाउने तथा ७० वर्षे प्रावधान जस्ता विषयले बहस सिर्जना भएको हो ।
विधानमा उपाध्यक्षको संख्या घटाइएको र सचिवहरुको संख्या बढाइएको छ । अध्यक्ष मात्रै निर्वाचित हुने उपाध्यक्ष महासचिव लगायत अन्य कुनै पनि पदाधिकारीहरु निर्वाचित नभई महाधिवेशनवाट निर्वाचित केन्द्रीय कमिटीले चयन गर्ने प्रस्ताव भएपछि त्यसको बारेमा थप बहस सिर्जना भएको हो ।
‘अध्यक्ष र सदस्य महाविधेशन वा अधिवेशनबाट निर्वाचित हुने । अन्य पदाधिकारी कमिटीले निर्वाचित गर्ने । निर्वाचनमा प्यानल बनाउन बन्देज गर्ने’, संशोधित विधानको निर्वाचन प्रणाली अन्र्तगत उल्लेख गरिएको छ । पदाधिकारीमा लोकतान्त्रिक विधि अपनाउदै आएको पार्टीले अध्यक्ष बाहेक सबै पदाधिकारी किन केन्द्रीय कमिटीले चयन गर्ने प्रावधान राखियो भन्ने बारेमा बहस सिर्जना भएको हो ।
नवौ महाधिवेशनको विधानमा सबै पदाधिकारी निर्वाचित हुने व्यवस्था गरिएको थियो । त्यही अनुसार पाँच उपाध्यक्ष, एक महासचिव, दुई, उपमहासचिव, पाँच सचिव निर्वाचित भएका थिए । नवौ महाधिवेशनबाट, केपी ओली अध्यक्ष, वामदेव गौतम, युवराज ज्ञावाली, विद्या भण्डारी, अष्टलक्ष्मी शाक्य, भीम रावल निर्वाचित भएका थिए । भण्डारी राष्ट्रपतिमा निर्वाचित भएपछि उनको स्थान अहिलेसम्म खाली नै छ । महासचिवमा इश्वर पोखरेल निर्वाचित थिए । त्यसैगरी उपमहासचिवमा विष्णु पौडेल र घनश्याम भूषाल तथा सचिवहरुमा योगेश भट्टराई, प्रदीप ज्ञावली, पृथ्वी सुब्बा गुरुङ, भीम आचार्य, गोकर्ण विष्ट निर्वाचित भएका थिए ।
अहिलेको विधानले सचिवहरुको संख्या बढाउने विषयलाई अघि सारेको छ । ‘ अध्यक्ष– १, उपाध्यक्ष– २, महासचिव– १, उपमहासचिव– २, सचिव– ७ हुनेछन्’, संशोधित विधानमा उल्लेख छ । उपाध्यक्षको संख्या घटाउदा अहिले पदाधिकारीमा रहेकाहरुलाई समेत अप्ठेरो पर्ने अवस्था देखिएको छ । पार्टीको एक कार्यकाल अध्यक्ष केपी शर्मा ओली नै दोहोरिएमा इश्वर पोखरेल, सुवास नेम्वाङ, रामबहादुर थापा, पृथ्वी सुब्बा गुरुङ, अष्टलक्ष्मी शाक्य, भीम रावल, युवराज ज्ञावाली, उपाध्यक्षका दावेदार हुन् ।
अहिलेको व्यवस्थाले दुई जना मात्रै उपाध्यक्ष भएमा केन्द्रीय कमिटीले छानेका दुई जना बाहेक सबै नेताहरु बाहिर रहनेछन् । ‘पार्टी एकिकरणकै प्रकृयामा एमालेभित्र रहेका रामबहादुर थापालाई उपाध्यक्ष भन्दा तल ल्याएमा अपमान हुने अवस्था हुन्छ त्यसकारण उनका लागि त्यो सिट सुरक्षित हो’, ओली पक्षका एक नेताले भने ।
पार्टीमा सबैभन्दा महत्वपूर्ण पक्ष भनेको ७० वर्ष उमेरहदको विषय छ । विधान मस्यौदामा त्यो विषय नवौ महाधिवेशनकै निरन्तरता हो । त्यसो हुँदा आउँदो फागुनमा केपी शर्मा ओली पनि ७० वर्ष पूरा हुनेछन् । मंसिरमै महाधिवेशन भए एक कार्यकालका लागि अध्यक्ष हुन पाउनेछन् । ओलीले आन्तरिक रुपमा एउटा चुनाव गराउने र त्यहीबाट ७० वर्षको प्रावधानमा आफूले पार्टी दोस्रो पुस्तालाई हस्तान्तरण गर्ने बताइसकेका छन् ।
‘केन्द्रीय कमिटीबाट पदाधिकारी चयन गर्ने विषय यही ७० वर्षे प्रावधानसँग जोडिएको छ तर विधान अधिवेशनमा यसको विरोध हुनसक्छ र पदाधिकारी प्रतिनीधिमार्फत चयन गर्ने व्यवस्था हुनसक्छ’, एमालेका एक स्थायी कमिटी सदस्यले भने । उनका अनुसार दुईजना महासचिव हुने कार्यविभाजन विधानमा स्पष्ट गर्न उल्लेख गरिनेछ ।
एक व्यक्ति दुई कार्यकालभन्दा बढी एउटै पदमा दोहोरिन नपाउने भएपछि इश्वर पोखरेल उपाध्यक्षमा जाने संभावना बढेको छ । त्यस्तै सुवास नेम्वाङका लागि अर्को स्थान नभएकाले उनी पनि उपाध्यक्षकै दावेदार हुन् । भीम रावल, अष्टलक्ष्मी र युवराज ज्ञावालीका लागि पनि अर्को उपयुक्त स्थान नभएकाले उपाध्यक्षमै थन्किने संभावना बढेको बेला दुई उपाध्यक्ष रहने व्यवस्थालाई हटाएर फेरी पनि एमालेमा पाँच उपाध्यक्षको व्यवस्था रहने संभावना बढ्दै गएको छ ।
‘पार्टीमै रहेका र पाटीबाट आएका नेताहरुको व्यवस्थापनका लागि नि उपाध्यक्षको संख्या बढाउनु पर्ने आवश्यकता देखिएको छ यो विधान मस्यौदा फेरी पनि संशोधन हुन्छ’, एमाले स्रोतले भन्यो । एमालेमा २०६५ सालदेखि बहुपदीय प्रणाली लागू गरिएको थियो । २०६५ मा भएको आठौं महाधिवेशनबाट अध्यक्ष, तीन जना उपाध्यक्ष, एक जना महासचिव र तीन जना सचिव निर्वाचित भएका थिए ।
त्यसपछि नवौं महाधिवेशनबाट अध्यक्ष, पाँच जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र पाँच सचिव निर्वाचित भएका थिए । निवर्तमान अध्यक्ष स्वतः वरिष्ठ नेता र वरिष्ठ नेता पदाधिकारी हुने विधानमा प्रावधान थियो ।
विधान मस्यौदामाथि देशभर छलफल गरेर सुझाव एमालेले मागेको छ । स्थायी कमिटी बैठकले प्रस्तावमाथि छलफल गरि आवश्यक सुझावसहित केन्द्रीय कमिटी बैठकमा पेश गर्ने तयारी छ । एमालेको केन्द्रीय कमिटी बैठक असोजर १ र २ गते बस्ने बताइएको छ ।
आज बस्ने बैठकले नेताहरुको कार्यविभाजनमा पनि छलफल गर्ने सम्भावना रहेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरवहादुर तामाङले जानकारी दिए ।
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
प्रतिक्रिया