शुक्रबार, वैशाख २६, २०८२

एमाले स्थायी कमिटि बैठक आज

पार्टी विधानमा निर्वाचित पदाधिकारी र ७० वर्षे हदबन्दीको प्रावधान के होला ?

मेरोन्यूज २०७८ भदौ २५ गते १०:०३
फाइल फोटो

काठमाडौं । विधान महाधिवेशनका दस्तावेजमाथि छलफल र नेताको कार्यविभाजन हेरफेर गर्न नेकपा एमालेले पार्टी स्थायी कमिटी बैठक बोलाएको छ । आज बस्ने बैठकमा विधान महाविधेशनमा प्रस्तुत हुने प्रस्ताव तथा तयारीको बारेमा छलफल हुने एमालेले जनाएको छ ।

एमालेको विधान महाधिवेशन असोज ४ र ५ गते काठमाडौंमा हुँदैछ । त्यसका लागि एमालेले प्रस्तावित नयाँ विधान स्थायी समितिबाट पारित गरेर तल्लो तहमा सुझावका लागि पठाईसकेको छ ।


प्रस्तावित नयाँ विधानमा दशौं महाधिवेशनबाट पार्टी अध्यक्ष र केन्द्रीय सदस्यमात्रै निर्वाचित हुने व्यवस्था गरिएपछि एमालेभित्रै ठूलै बहस सिर्जना भएको छ । केन्द्रीय कमिटी बैठकमा प्रस्ताव गरिएको विधान संशोधन मस्यौदामा एमालेमा उपाध्यक्षको संख्या घटाइएको र सचिव संख्या बढाउने तथा ७० वर्षे प्रावधान जस्ता विषयले बहस सिर्जना भएको हो ।


विधानमा उपाध्यक्षको संख्या घटाइएको र सचिवहरुको संख्या बढाइएको छ । अध्यक्ष मात्रै निर्वाचित हुने उपाध्यक्ष महासचिव लगायत अन्य कुनै पनि पदाधिकारीहरु निर्वाचित नभई महाधिवेशनवाट निर्वाचित केन्द्रीय कमिटीले चयन गर्ने प्रस्ताव भएपछि त्यसको बारेमा थप बहस सिर्जना भएको हो ।


‘अध्यक्ष र सदस्य महाविधेशन वा अधिवेशनबाट निर्वाचित हुने । अन्य पदाधिकारी कमिटीले निर्वाचित गर्ने । निर्वाचनमा प्यानल बनाउन बन्देज गर्ने’, संशोधित विधानको निर्वाचन प्रणाली अन्र्तगत उल्लेख गरिएको छ । पदाधिकारीमा लोकतान्त्रिक विधि अपनाउदै आएको पार्टीले अध्यक्ष बाहेक सबै पदाधिकारी किन केन्द्रीय कमिटीले चयन गर्ने प्रावधान राखियो भन्ने बारेमा बहस सिर्जना भएको हो ।


नवौ महाधिवेशनको विधानमा सबै पदाधिकारी निर्वाचित हुने व्यवस्था गरिएको थियो । त्यही अनुसार पाँच उपाध्यक्ष, एक महासचिव, दुई, उपमहासचिव, पाँच सचिव निर्वाचित भएका थिए । नवौ महाधिवेशनबाट, केपी ओली अध्यक्ष, वामदेव गौतम, युवराज ज्ञावाली, विद्या भण्डारी, अष्टलक्ष्मी शाक्य, भीम रावल निर्वाचित भएका थिए । भण्डारी राष्ट्रपतिमा निर्वाचित भएपछि उनको स्थान अहिलेसम्म खाली नै छ । महासचिवमा इश्वर पोखरेल निर्वाचित थिए । त्यसैगरी उपमहासचिवमा विष्णु पौडेल र घनश्याम भूषाल तथा सचिवहरुमा योगेश भट्टराई, प्रदीप ज्ञावली, पृथ्वी सुब्बा गुरुङ, भीम आचार्य, गोकर्ण विष्ट निर्वाचित भएका थिए ।


अहिलेको विधानले सचिवहरुको संख्या बढाउने विषयलाई अघि सारेको छ । ‘ अध्यक्ष– १, उपाध्यक्ष– २, महासचिव– १, उपमहासचिव– २, सचिव– ७ हुनेछन्’, संशोधित विधानमा उल्लेख छ । उपाध्यक्षको संख्या घटाउदा अहिले पदाधिकारीमा रहेकाहरुलाई समेत अप्ठेरो पर्ने अवस्था देखिएको छ । पार्टीको एक कार्यकाल अध्यक्ष केपी शर्मा ओली नै दोहोरिएमा इश्वर पोखरेल, सुवास नेम्वाङ, रामबहादुर थापा, पृथ्वी सुब्बा गुरुङ, अष्टलक्ष्मी शाक्य, भीम रावल, युवराज ज्ञावाली, उपाध्यक्षका दावेदार हुन् ।


अहिलेको व्यवस्थाले दुई जना मात्रै उपाध्यक्ष भएमा केन्द्रीय कमिटीले छानेका दुई जना बाहेक सबै नेताहरु बाहिर रहनेछन् । ‘पार्टी एकिकरणकै प्रकृयामा एमालेभित्र रहेका रामबहादुर थापालाई उपाध्यक्ष भन्दा तल ल्याएमा अपमान हुने अवस्था हुन्छ त्यसकारण उनका लागि त्यो सिट सुरक्षित हो’, ओली पक्षका एक नेताले भने ।


पार्टीमा सबैभन्दा महत्वपूर्ण पक्ष भनेको ७० वर्ष उमेरहदको विषय छ । विधान मस्यौदामा त्यो विषय नवौ महाधिवेशनकै निरन्तरता हो । त्यसो हुँदा आउँदो फागुनमा केपी शर्मा ओली पनि ७० वर्ष पूरा हुनेछन् । मंसिरमै महाधिवेशन भए एक कार्यकालका लागि अध्यक्ष हुन पाउनेछन् । ओलीले आन्तरिक रुपमा एउटा चुनाव गराउने र त्यहीबाट ७० वर्षको प्रावधानमा आफूले पार्टी दोस्रो पुस्तालाई हस्तान्तरण गर्ने बताइसकेका छन् ।


‘केन्द्रीय कमिटीबाट पदाधिकारी चयन गर्ने विषय यही ७० वर्षे प्रावधानसँग जोडिएको छ तर विधान अधिवेशनमा यसको विरोध हुनसक्छ र पदाधिकारी प्रतिनीधिमार्फत चयन गर्ने व्यवस्था हुनसक्छ’, एमालेका एक स्थायी कमिटी सदस्यले भने । उनका अनुसार दुईजना महासचिव हुने कार्यविभाजन विधानमा स्पष्ट गर्न उल्लेख गरिनेछ ।


एक व्यक्ति दुई कार्यकालभन्दा बढी एउटै पदमा दोहोरिन नपाउने भएपछि इश्वर पोखरेल उपाध्यक्षमा जाने संभावना बढेको छ । त्यस्तै सुवास नेम्वाङका लागि अर्को स्थान नभएकाले उनी पनि उपाध्यक्षकै दावेदार हुन् । भीम रावल, अष्टलक्ष्मी र युवराज ज्ञावालीका लागि पनि अर्को उपयुक्त स्थान नभएकाले उपाध्यक्षमै थन्किने संभावना बढेको बेला दुई उपाध्यक्ष रहने व्यवस्थालाई हटाएर फेरी पनि एमालेमा पाँच उपाध्यक्षको व्यवस्था रहने संभावना बढ्दै गएको छ ।


‘पार्टीमै रहेका र पाटीबाट आएका नेताहरुको व्यवस्थापनका लागि नि उपाध्यक्षको संख्या बढाउनु पर्ने आवश्यकता देखिएको छ यो विधान मस्यौदा फेरी पनि संशोधन हुन्छ’, एमाले स्रोतले भन्यो । एमालेमा २०६५ सालदेखि बहुपदीय प्रणाली लागू गरिएको थियो । २०६५ मा भएको आठौं महाधिवेशनबाट अध्यक्ष, तीन जना उपाध्यक्ष, एक जना महासचिव र तीन जना सचिव निर्वाचित भएका थिए ।


त्यसपछि नवौं महाधिवेशनबाट अध्यक्ष, पाँच जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र पाँच सचिव निर्वाचित भएका थिए । निवर्तमान अध्यक्ष स्वतः वरिष्ठ नेता र वरिष्ठ नेता पदाधिकारी हुने विधानमा प्रावधान थियो ।

विधान मस्यौदामाथि देशभर छलफल गरेर सुझाव एमालेले मागेको छ । स्थायी कमिटी बैठकले प्रस्तावमाथि छलफल गरि आवश्यक सुझावसहित केन्द्रीय कमिटी बैठकमा पेश गर्ने तयारी छ । एमालेको केन्द्रीय कमिटी बैठक असोजर १ र २ गते बस्ने बताइएको छ ।
आज बस्ने बैठकले नेताहरुको कार्यविभाजनमा पनि छलफल गर्ने सम्भावना रहेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरवहादुर तामाङले जानकारी दिए ।

प्रतिक्रिया