बिहीबार, जेठ १, २०८२

झापामा टिप्परको ठक्करबाट बोलेरो चालकको मृत्यु

मेरोन्यूज २०७८ असोज ११ गते १७:१३

झापा । पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको झापाको शिवसताक्षी–१० मा भएको सवारी दुर्घटनामा परी बोलेरो चालकको मृत्यु भएको छ ।

शिवसताक्षी १० माइधारस्थित राजमार्गमा ट्राफिक प्रहरीले जाँच गर्ने क्रममा को २ च २६३२ नम्बरको बोलेरोलाई रोक्न खोज्दा पछाडिबाट आउँदै गरेको प्र ०३–००१ क ००९५ नम्बरको टिपरले ठक्कर दिँदा बालेरो चालक दमक– ९ निवासी ४० वर्षीय नेत्र खड्काको मृत्यु भएको हो ।

ठक्करका कारण अनियन्त्रित बोलेरो कन्काई सिँचाइ आयोजनाको नहरमा खसेको थियो ।

बोलेरो चालक गाडी भित्रबाट निस्किन नसकेपछि मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार बोलेरो नहरबाट निकाल्दा चालक मृत भेटिए पनि त्यसमा सवार दुई जना नहरमै बेपत्ता भएका छन् ।

दुर्घटनापछि मकवानपुरको थाहा नगरपालिका–८ निवासी २४ वर्षीय टिपर चालक सहदेव कार्कीलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।

सोही घटनालाई लिएर स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग केही समय टायर बालेर अवरुद्ध पारेका थिए ।

प्रतिक्रिया