ओलीले भने– लिपुलेकदेखि सुस्तासम्म नेपाली भूमि मिचियो, कुटनीतिक पहल भएन
प्रचण्ड’ले पार्टीलाई विभाजन गर्ने काम गरेको आरोप

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कालापानीदेखि सुस्तासम्मको नेपाली भूमि मिचिँदा पनि कुनै कुटनीतिक पहल नभएको बताएका छन् ।
शुक्रबारबाट ललितपुरको गोदावरीमा सुरु भएको विधान महाधिवेशनमा बोल्दै ओलीले लिपुलेक, लिम्पियाधुरा, कालापानी र सुस्तामा नेपाली भूमि मिचिएको उल्लेख गरे ।
मिचिएको भूमि फिर्ता ल्याउन आफ्नो पार्टीले चाहेको ओलीको भनाई छ । उनले छिमेकी मुलुक भारत र चीनका जायज माग सम्बोधन गर्न आफूहरु प्रतिवद्ध रहेको बताए ।
एमाले अध्यक्ष ओलीले नेपाल–भारतबीच देखिएका सीमालगायतका समस्या समाधान गर्न सरकारले जिम्मेवारी कूटनीतिक पहल गर्नुपर्ने आवश्यकता औंल्याए ।
राजनीतिक प्रतिवेदन पेश गर्दै उनले कसैसँग पनि वैरभाव नराख्नु आफ्नो पार्टीको विदेश नीति भएको ओलीले स्पष्ट गरे ।
‘हामी चीन र भारतसँग सार्थक वार्ता गरेर सीमा समस्या समाधान होस भन्ने चाहन्छौं’, ओलीले भने– ‘यसले त्रिदेशीय सहकार्यको सम्भावना पनि बढ्नेछ ।’
नेपाल–भारत सिमा वारपार अपराध नहोस् र आतंककारीले लाभ उठाउन नपाउन् भन्ने कुरामा भारतको चासो देखिएको उनले बताए ।
‘प्रचण्ड’ले पार्टीलाई विभाजन गर्ने काम गरेको आरोप
एमाले अध्यक्ष ओलीले पार्टी कब्जा गर्ने प्रयास असफल भएपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई विभाजन गर्ने काम गरेको आरोप लगाए ।
अध्यक्ष ओलीले सके पार्टी कब्जा गर्ने नसके विभाजन गर्ने प्रचण्डका सोच र व्यवहारका कारण एकीकरण प्रक्रिया निष्कर्षमा नपुगी टुंगिएको बताए ।
पार्टीको विधान महाधिवेशनमा राजनीतिक प्रतिवदन पेश गर्दै उनले माधव नेपालको कुण्ठा, निहित स्वार्थ र विभाजनकारी क्रियाकलापले पनि पार्टी विभाजनमा ठूलो भूमिका खेलेको बताए ।
उनले कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध बनाउने प्रयास जारी राख्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
‘सके पार्टी कब्जा गर्ने नसके विभाजन गर्ने प्रचण्डका सोच र व्यवहारका कारण एकीकरणको प्रक्रिया निष्कर्षमा नपुगी टुंगिएको छ’, ओलीले भने– ‘यसो हुनुमा नवौं महाधिवेशनबाट पारित नीति र नेतृत्वविरुद्ध अन्त्यहिन गुटबन्दीमा संलग्न माधन नेपालको कुण्ठा, निहित स्वार्थ र विभाजनकारी क्रियाकलापको समेत ठूलो भूमिका छ ।’
प्रतिक्रिया