शनिबार, फागुन ३, २०८१

राखेप सदस्य सचिव सिलवाललाई बर्खास्त गर्ने सरकारको निर्णय

मेरोन्यूज २०७८ कार्तिक १ गते १८:३२


काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेश सिलवाललाई बर्खास्त गर्ने सरकारले निर्णय गरेको छ । उनलाई प्रक्रिया पूरा गरेर बर्खास्त गर्ने सरकारले निर्णय गरेको छ ।

Advertisement
IMEnabil

अघिल्लो केपी ओली नेतृत्वको सरकारले सदस्य सचिव नियुक्त गरेका सिलवाल एमाले निकटका हुन् । उनलाई वर्खास्त गरी नयाँ राखेप सदस्य सचिव नियुक्तिको तयारीका लागि सोमबार मन्त्रीपरिषद् बैठकमा निर्णय भएको छ । प्रधानमन्त्री शेरवहादुर देउवाले युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकलाई यस बारेमा प्रक्रिया अगाडी बढाउन निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीको अनुमतिपछि अव सिलवाललाई प्रक्रिया पूरा गरेर सरकारले बर्खास्ती गर्ने सरकारका एक मन्त्रीले जानकारी दिए । उनलाई दशैं अगाडी नै स्पष्टीकरण सोधिएको थियो । त्यही स्पष्टीकरणको प्रक्रियाका आधारमा सरकारले उनलाई बर्खास्त गरेको हो ।

सिलवाल २३ असार २०७६ मा पहिलो पटक राखेप सदस्य सचिव नियुक्त भएका थिए । राष्ट्रिय खेलकुद ऐन २०७७ का कारण एक वर्षमै पदमुक्त भएका सिलवाललाई केपी शर्मा ओली नेतृत्वको सरकारले पूनः १२ साउन २०७७ मा नियुक्त गरेको थियो ।

ऐन अनुसार सदस्य सचिवका लागि आह्वान गरिएको आवेदनमा २७ जनाले निवेदन दिएका थिए । त्यसपछि सिलवाललाई तत्कालिन प्रधानमन्त्री केपी ओलीको दवावमा नियुक्त गरिएको थियो ।

त्यस्तै सरकारले केपी ओली नेतृत्वको सरकारले नै नियुक्त गरेका राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेल र युवा स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष डा कल्याण रोक्कालाई पनि बर्खास्त गर्ने तयारी गरेको छ । उनीहरुलाई पनि वर्खास्त गर्ने प्रक्रियाका लागि सरकारले स्पष्टीकरण दशै अगाडी नै सोधिसकिएको छ । उक्त प्रस्ताव पनि सोमबारको मन्त्रिपरिषद बैठकमा पुगेको छ । उनीहरुलाई अव प्रक्रिया पूरा गरेर हटाइने ति मन्त्रीले बताएका छन् ।

प्रतिक्रिया