विपदमा परेकाको उद्धार गर्न निजी हेलिकोप्टर पनि प्रयोग गर्ने सहमति

काठमाडौँ । सरकारले तीन दिनको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेकाहरूको खोजी तथा उद्धारमा नीजि हेलिकोप्टर प्रयोग गर्ने भएको छ । नेपाली सेनाको हेलिकोप्टरले मात्रै उद्धार गरिरहेकोमा अपुग हुने भएपछि निजी कम्पनीका हेलिकोप्टर प्रयोग गर्ने भएको हो ।
मुलुकभर नै निरन्तरको वर्षापछि आएको विपदमा परेकाहरूको खोज तथा उद्धार कार्य गर्न गृहमन्त्री बालकृष्ण खाँणको सक्रियतामा निजी हेलिकोप्टर ‘स्टायण्डबाई’ राख्न लागिएको हो । आज बिहान गृहमन्त्रीको पहलमा गृहसचिव टेकनारायण पाण्डे, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, पर्यटन मन्त्रालयका वायु सेवा हेर्ने सहसचिव बुद्धिसागर लामिछाने, निजी वायु सेवा कम्पनीहरूको एसोसिएसनका कार्यकारी निर्देशक कमलेशकुमार वर्मा र गृहमन्त्रालयको शान्ति सुरक्षा महाशाखाका उपसचिव दिलकुमार तामाङसहितको बैठक बसेको थियो ।
बैठकमा वर्षा निरन्तर भइरहेको र विपदमा परेकाहरूको खोज तथा उद्धारमा निजी हेलिकोप्टर प्रयोग गर्ने विषयमा कुरा भएको थियो । निजी वायु सेवा कम्पनी एसोसिएसनका कार्यकारी निर्देशक वर्माले विपदमा परेकाहरूको खोज तथा उद्धार गर्ने दायित्व आफूहरूको पनि भएको भन्दै सरकारले खोजेमा आफूहरू सेवा दिन तयार रहेको बताए ।
उनले बैठकमा निजी वायु सेवा कम्पनीसँग ३५ हेलिकोप्टर भएको जानकारी दिएका थिए । त्यसपछि बैठकमा ती हेलिकोप्टर कहाँ छन् भन्ने लोकेसन एसोसिएसनले गृहमन्त्रालयलाई उपलब्ध गराउने र गृहले आवश्यकताअनुसार खटाउने सहमति बनेको छ । त्यसको समन्वय गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखाले गर्ने सहमति पनि बनेको छ ।
निजी हेलिकोप्टर प्रयोग भएबापतको भुक्तानी गृह मन्त्रालयले दिने छ । बैठकमा गृह मन्त्री खाँणले राष्ट्रिय विपदको सामना गर्दै नागरिकको जीवन रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले विपदमा परेकाहरूको उद्धार गर्न ‘कम्प्रमाइज’ सेवा उपलब्ध गराउन निजी वायु सेवा कम्पनीहरूलाई आग्रह गरे ।
प्रतिक्रिया