बाढीपहिरो : सुदूरपश्चिममा मृत्युको संख्या ३० पुग्यो

कैलाली । सुदूरपश्चिममा वर्षासंगै आएको बाढी पहिरोमा परेर ३० जनाले ज्यान गुमाएका छन् । जसमध्ये सबैभन्दा बढी डोटीमा १५ जनाको मृत्यु भएको छ । बझाङमा आठ, बैतडीमा चार, डडेल्धुरा दुई र कैलालीमा एक जनाको मृत्यु भएको छ ।
डोटीको सायल गाउँपालिकामा ६ जना, जोरायल गाउँपालिकामा ७ जना, बडिकेदार गाउँपालिका र शिखर नगरपालिकामा एक÷एक जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलालीले जानकारी दिएको छ ।
सायल गाउँपालिका–६ मा पहिरोले घर भक्किँदा १४ बर्षीय सागर कुन्जेडा, ११ बर्षीय आशिष कुन्जेडाको मृत्यु भएको छ । यस्तै सोही गाउँपालिका–१ का ७४ बर्षीष वीरे रोकायाको खोलाले बगाउँदा मृत्यु भएको छ ।पहिरोमा परेर सायल गाउँपालिका–५ का ५८ बर्षीय लहरे लुहार, ५८ बर्षीय हिरुवा लुहार र ७५ बर्षीय देव डुम्रेलको पहिरोमा परी मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी वरिष्ठ उपरीक्षक बिक्रम चन्द्रले जानकारी दिए ।
यसैगरी पहिरोले घर पुरिएर जिल्लाको जोरायल गाउँपालिका वडा नम्बर–३ का ७३ बर्षीय जोगी सार्की, ६१ बर्षीया झुपरी सार्कीको मृत्यु भएको छ । सोही गाउँपालिका–४ का शेरवहादुर बिक, मोहन बिक, पवित्रा बिक र सोही गाउँपालिका–१ का रविन बिकको मृत्यु भएको छ । भने सोही गाउँपालिका –४ का पुष्कर बिकको उपचारका क्रममा मृत्यु भएको छ । शिखर नगरपालिका–११ की ३५ बर्षीया मन्धरा बलायरको पहिरोसंगै आएको ढुङ्गा टाउकोमा लागेर मृत्यु भएको छ ।यस्तै बडिकेदार गाउँपालिका–५ का चनरीदेवी नेपालीको पनि मृत्यु भएको छ ।
यसैगरी बझाङमा पहिरोमा च्यापिएर खप्तडछान्ना गाउँपालिकामा ६ जना र थलराका दुई जनाको मृत्यु भएको छ । खप्तड छान्ना गाउँपालिका वडा नम्बर ४ माझीगाउँका धर्मराज रोकाया, उनकी श्रीमती जयसरा रोकाया र वडा नम्बर ५ कालुखेतीका विरु गिरी, उनकी श्रीमती चन्द्रा गिरी,खप्तड छान्ना गाउँपालिका ५ का धनराज जोशीको पहिरोमा पुरिएर मृत्यु भएको छ । भने खप्तड छान्ना गाउँपालिका ६ की रने आग्रीको चिप्लेर मृत्यु भएको हो ।
यस्तै पहिरोले पुरिएर बेपत्ता भएका थलारा गाउँपालिका डिख्लाका २३ जनामध्ये दुई बालकको शव फेला परेको छ । पहिरोमा परी बेपत्ता भएका नरे पार्कीका छ वर्षीय छोरा आयुष पार्कीको पहिचान भएको छ भने अर्को सात बर्षीय बिास सार्कीको मृत्यु भएको हो । मौसम अनुकूल भएपछि पहिरोमा पुरिएकाहरूको उद्धार तथा खोजबिनका लागि नेपाली सेना र सशस्त्र प्रहरीको टोली हेलिकोप्टरमार्फत घटनास्थलमा खटिइसकेको छ । थलारा गाउँपालिका–४ डिक्लामा मंगलबार बिहान पहिरो जाँदा २३ जना बेपत्ता भएका थिए ।
पहिरोले तल्लो डिक्ला र माथिल्लो डिक्लाका एक सय ४८ परिवार विस्थापित भएका छन् भने ७ घर पुरिएका छन् । विस्थापित ७ सय जना विद्यालयमा बसिरहेका छन् । नेपाली सेनाको हेलिकोप्टरमाफर्त पहिरोमा परेकाहरुको उद्धार र खोजी कार्यको लागि आवश्यक राहात र औषधिको व्यवस्था गरिएको छ ।

यस्तै, बैतडीको शिवनाथ गाउँपालिका वडा नम्बर ६ बसेडीका रामी पार्कीको घर पहिरोले बगाउँदा उनका २ बुहारी र एक नातिको मृत्यु भएको छ । मृत्यु हुनेमा २१ वर्षीया पवित्रा पार्की, २५ वर्षीया भानु पार्की र ३ वर्षीय देवन पार्की रहेका छन् ।सुर्नया गाउँपालिका ५ रामकी बरायलमा घर भत्किँदा ७१ वर्षीया परुदेवी महराको पनि मृत्यु भएको छ ।
यस्तै डडेल्धुरामा घरमाथिबाट आएको पहिरोमा पुरिएर गन्यापधुरा गाउँपालिका–१ भात्काडाका ३२ वर्षीय विष्णु अवस्थी र गन्यापधुरा गाउँपालिका–३ बस्ने अन्दाजी ६५ वर्षीय नरपता शाहीको खोलाले बगाएर मृत्यु भएको छ ।
यता कैलालीमा कर्णाली नदीको बाढी गाउँ पसेपछि भएको डुबानमा परेर टीकापुरमा एक जनाको ज्यान गएको छ । टीकापुर नगरपालिका ८ कालिमाटीका ८६ वर्षीय करवीरे ढोलीको मृत्यु भएको प्रहरीले जनाएको छ । सुदूरपश्चिममा भर अझै २३ जना बेपत्ता रहेका छन् । उनीहरुको खोजी भइरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया