शुक्रबार, चैत २७, २०८२

कोभिड महामारी थप एक वर्ष लम्बिन सक्ने डब्लुएचओ चेतावनी

मेरोन्यूज २०७८ कार्तिक ४ गते १४:१८

काठमाडौँ । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) महामारी थप एक वर्ष लम्बिन सक्ने विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले चेतावनी दिएको छ । संगठनका अनुसार कम आय भएका देशहरुमा कोभिड खोपहरु सजिलै पाउन नसक्दा महामारी सन् २०२२ को अन्त्यसम्म लम्बिने देखिएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

संगठनका वरिष्ठ अधिकारी डा. ब्रुस एल्वर्डले विश्वमा कोभिड संकट ‘सन् २०२२ को अन्त्यसम्मै जाने देखिएको बताए। संगठनका अनुसार अफ्रिकाको पाँच प्रतिशतभन्दा कम जनसंख्याले मात्र कोभिड खोप पाएका छन् । अन्य देश महादेशमा ४० प्रतिशतले खोप पाइसकेका छन् ।

खोपको आवश्यकता रहेका देशहरूलाई बेलायतले एक करोड मात्राभन्दा बढी खोप उपलब्ध गराएको छ । बेलायत सरकारले कोभिड खोपको कूल १० करोड मात्रा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । डा. एल्वर्डले सम्पन्न देशहरूलाई खोपका लागि दिएको माग छोड्न आग्रह गरे ।

उनले खोप उत्पादक कम्पनीहरूले कम आय भएका मुलुकलाई प्राथमिकतामा राख्नु पर्नेमा जोड दिए । उनले भने, ‘हामीले साँच्चिकै गति बढाउन जरुरी छ, नभए तपाईहरूलाई थाहा छ, कि यो महामारी जानु पर्ने समयभन्दा एक वर्ष ढिलो गरी जानेछ ।’

हालै परोपकारी संस्थाहरूको एउटा गठबन्धन ‘द पिपुल्स च्यारिटिज’ले कोभिड खोपसम्बन्धी नयाँ तथ्यांक सार्वजनिक गरेको छ। उक्त तथ्यांकअनुसार उत्पादक कम्पनी र सम्पन्न राष्ट्रहरूले प्रतिबद्धता जनाएका कोभिड खोपका ७ मध्ये एउटा मात्रा मात्रै अति गरिब देशहरूमा पुग्न सकेको छ । अधिकांश कोभिड खोप उच्च अथवा मध्यम आय भएका देशहरूले पाएका छन् । बीबीसी

प्रतिक्रिया