उडान नहुँदा राराताल पुगेका पर्यटक अलपत्र
काठमाडौँ । दसैँको अवसर पारेर मुगुको रारा ताल घुम्न आन्तरिक पर्यटक मनोरञ्जन तथा घुम्ने गरेकामा यही कात्तिक १ गतेदेखि भारी वर्षा भएकाले त्यहाँ पुगेका पर्यटक सडक अवरुद्ध हुँदा अलपत्र परेका छन् । मुगुमा हवाई उडान नहुँदा ताल्चा विमानस्थलमा पर्यटक अलपत्र परेका हुन् ।
कर्णालीमा उडान भर्दै आएका चारवटा हवाई सेवा प्रदायक कम्पनीले जहाज पूर्वतर्फ लगेकाले अहिले उडान ठप्प छ । लगातारको वर्षाले स्थलमार्ग पूर्ण रूपमा बन्द छ भने जहाज नचल्दा दसैँको बिदा मनाउन राराताल पुगेका पर्यटक सातादेखि अलपत्र परेका हुन् ।
बाँकेको नेपालगञ्जका सृजन खत्री काठमाडौँबाट आएका आठ साथीसँगै मोटरसाइकलमा रारा पुगेका थिए । बाटोमा मोटरसाइकल बिग्रिए । उनका साथीहरू जहाजमार्फत नेपालगञ्ज आउनका लागि तीन दिनदेखि विमानस्थलमा विमानको प्रतिक्षामा छन् ।
‘जहाज नआउँदा तीन दिनदेखि विमानस्थलमै अलपत्र परेका छौँ, पैसा पनि सकियो,’ उनले भने, ‘एक सातादेखि विमान नपाएर धेरैजना यहीँ हुनुहुन्छ, उद्धारका लागि धेरै ठाउँमा फोनमार्फत गुहार्यौं, अहिलेसम्म कसैले जवाफ दिएका छैनन् ।’
जल तथा मौसम विज्ञान विभागले शनिबारदेखि फेरि मौसममा खराबी आउने पूर्वानुमान गरेको छ । मौसममा खराबी आउनेबित्तिकै ताल्चामा विमान अवतरण हुँदैन । एक सयभन्दा बढी यात्रु विमानस्थलमा उद्धारको प्रतिक्षामा छौँ ।
आजसम्म उद्धार नभए अझै कति दिन भोकभोकै बस्नु पर्ने हो थाहा छैन । निरन्तरको वर्षाले मौसममा सुधार नहुँदा सोमबारदेखि बुधबारसम्म यस विमानस्थलमा एउटै उडान भएन । बिहीबार जम्मा दुईवटा मात्रै उडान भए । राजधानी काठमाडौँ र अन्य जिल्लाबाट प्याकेजमा आएका पर्यटकलाई हवाई उडान नहुँदा सास्ती भएको उनले बताए ।
मुगुमा नेपाल वायुसेवा निगम, समिट एयर, तारा एयर र सीता एयरले उडान भर्दै आएका छन् । बाढी पहिराका कारण विभिन्न ठाउँको स्थलमार्ग अवरुद्ध हुँदा कर्णालीमा सञ्चालन हुने हवाई सेवा प्रदायक कम्पनीले जहाज पूर्व र सुदूरपश्चिमतर्फ लगेका छन् ।
सीताको जहाजमा खराबी आएर नेपालगञ्जमा थन्क्यिाइएको छ । समिटको जहाज सुदूरपश्चिम प्रदेशमा छ । ताराको जहाजले दैनिक एक–दुई उडान मात्रै गर्दै आएको मुगु विमानस्थल कार्यालयले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी रोम महतले अलपत्र यात्रुको उद्धारका लागि सरोकार निकाय र विमान सञ्चालक कम्पनीलाई पत्राचार गरिएको बताए । उनले गृह मन्त्रालय, कर्णाली प्रदेश सरकार र विमान सञ्चालक कम्पनीहरुलाई नियमित र थप उडान गर्नका लागि जानकारी गराउनाका साथै पत्राचार पनि गरिएको बताए ।
प्रतिक्रिया