बिहीबार, वैशाख २४, २०८३

जिल्ला प्रशासन कार्यालयको व्यापारीहरुलाई निर्देशन

मेरोन्यूज २०७८ कार्तिक १० गते १८:२७

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले जनस्वास्थ्यमा प्रतिकूल हुने खालका कुनै पनि खाद्यबस्तुको बिक्रीवितरण नगर्न व्यापारीहरुलाई कडा निर्देशन दिएको छ ।

Advertisement
NiccNicc

बुधबार नक्सालस्थित भाटभटेनी सुपर मार्केटको खाद्य स्टोरमा अनुगमन गर्न गएको काठमाडौंको सहायक प्रमुख जिल्ला अधिकारी अनुप केसी नेतृत्वको अनुगमन टोलीले वाणिज्य विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले तोकेको मापदण्ड अनुसारमात्रै खाद्य बस्तुहरुको विक्रीवितरण गर्न व्यापारीहरुलाई सचेत गराएको हो । जनस्वास्थ्यलाई ख्याल गरेर मात्रै खाद्य बस्तुहरुको विक्रीवितरण गर्न व्यापारीहरुलाई सचेत गराइएको सहायक प्रमुख जिल्ला अधिकारी केसीले जानकारी दिए ।

अनुगमन टोलीले भाटभटेनी सुपर मार्केटको खाद्य स्टोरलाई पनि खाद्य बस्तुहरुको उत्पादन मिति र लेबलिङ मिति स्पष्ट देखिने गरी राख्न निर्देशन दिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी केसीले भने, ‘खाद्यबस्तु जस्तो विषयमा अरु बढि नै संवेदनशील बन्नु पर्दछ । खाद्य बस्तु, गुणस्तर तथा नापतौल विभाग र वाणिज्य विभागले भने अनुसार खाद्यबस्तु विक्री वितरण गर्नु होला । त्यसमा उत्पादन मिति र लेवलिङको मिति भने देखिने गरी राख्नु होला । जनताको स्वास्थ्यलाई ख्याल गर्ने र प्रचलित कानुनको पालना गरेर मात्रै व्यापार गर्नु होला भन्ने कुरा गरियो ।’

काठमाडौं जिल्ला प्रशासन कार्यालयले चाडपर्वको अवसर पारेर खाद्य बस्तुजस्तो संवेदनशील विषय बस्तुमा जोड दिएर बजार अनुगमनको कामलाई तीव्रता दिइएको स्पष्ट पारेको छ । अनुगमनका क्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रतिनिधि र वाणिज्य विभागका प्रतिनिधिहरु पनि सहभागी भएका थिए ।

प्रतिक्रिया