राष्ट्रपति ढोरपाटन र मुक्तिनाथ जाँदै

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार ढोरपाटन र आइतबार मुक्तिनाथ जाने भएकी छन् । उनको भ्रमणलाई मध्य नजर गर्दै सुरक्षा र व्यवस्थापकीय प्रबन्ध चुस्त पारिएको छ । प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले राष्ट्रपति भण्डारी शनिबार दिउँसो ढोरपाटन आइपुग्ने जानकारी दिएका हुन् ।
‘अवलोकन भ्रमणका लागि राष्ट्रपति ढोरपाटन आउनलाग्नु भएको हो, केही समय ढोरपाटन क्षेत्रमा आराम गरेर उहाँ भोलि नै फर्कनुहुन्छ,’ प्रजिअ कार्कीले भने । राष्ट्रपतिको भ्रमण तालिकाबारे विस्तृत जानकारी भने आफूसँग नआइपुगेको उनको भनाई छ ।
राष्ट्रपति आउने भएपछि प्रजिअको नेतृत्वमा सुरक्षा निकायका प्रमुखलगायत सरकारी निकायका पदाधिकारी आजै ढोरपाटन पुगेका छन् । ढोरपाटन देशकै एकमात्र सिकार आरक्ष रहेको क्षेत्र हो । सिकार पर्यटनका लागि विश्वकै विख्यात ढोरपाटनमा अहिले सिकारको याम चलिरहेको छ ।
सौखिन र खर्च गर्ने सक्ने विदेशी सिकारीको रोजाईमा ढोरपाटन पर्ने गरेको छ । एक हजार ३२५ वर्ग किमीमा फैलिएको आरक्ष बागलुङ, म्याग्दी र रुकुमको उच्च पहाडी तथा हिमाली भू–भागमा अवस्थित छ । पर्यटकीय क्षेत्र ढोरपाटन देशकै ठूलो उत्तरगंगा जलाशय युक्त जलविद्युत् आयोजना बनाउने सरकारी घोषणाले पनि चर्चामा छ ।
ढोरपाटनपछि राष्ट्रपति भण्डारी आइतबार सीधै मुस्ताङको मुक्तिनाथ जाने भएकी छन् । उनले मुक्तिनाथको दर्शन गरेर त्यहाँ बन्न लागेको गुरुयोजनाका विषयमा जानकारी लिने कार्यक्रम रहेको छ ।
मुक्तिनाथमा बुद्धको ३८ फिट अग्लो ढुंगाको बुद्धमूर्ति निर्माण भएको छ । सोही हाइटकै विष्णुको मूर्ति पनि बनाउने गुरुयोजना तयार भएको छ । त्यसका लागि एनआरएनका पूर्व अध्यक्ष डा. शेष घलेले ५० लाख रुपैयाँ आफ्नोतर्फबाट सहयोग गर्ने घोषणा गरिसकेका छन् ।
राष्ट्रपति भण्डारीले त्यस परियोजनाको जानकारी लिने कार्यक्रम तय भएको छ । त्यसपछि उनी काठमाडौँ आउने कार्यक्रम रहेको बताइएको छ ।
पहिले प्रकाशित समाचारमा केही थप गरी सच्याइएको छ । सम्पादक
प्रतिक्रिया