लयमा फर्किंदै पर्यटन क्षेत्र, आन्तरिक पर्यटनले आशा बढायो

काठमाडौं । कोभिड महामारीका कारण करिब दुई वर्षदेखि थलिएको मुलुकको पर्यटन क्षेत्र विस्तारै लयमा फर्किन थालेको छ ।
शरद्कालीन पर्यटकीय सिजन, कोरोना संक्रमणको घट्दो अवस्था, यसविरुद्धको खोप अभियान र बाह्य पर्यटकलाई अनअराइभल भिसाको व्यवस्था लगायत कारण पर्यटन क्षेत्रले गति लिन थालेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
पछिल्लो समय विशेषगरी आन्तरिक पर्यटनले आशा जगाएको छ । काठमाडौंको ठमेलसहित उपत्यकाबाहिरका प्रमुख गन्तव्यहरु पोखरा, चितवन, बन्दीपुर लगायतका साथै मुख्य ट्रेकिङ गन्तव्यहरुमा पर्यटक आगमन बढेको बोर्डले जनाएको छ ।
पर्यटकीय चहलपहल बढेसँगै सम्बद्ध व्यवसायीहरु उत्साहित भएका छन् । सरकारले गरेको पछिल्लो व्यवस्थाले बाह्य पर्यटक आगमन समेत बढ्ने अपेक्षा पर्यटन व्यवसायी विकल तुलाचनले जनाएका छन् ।
सरकारी तथ्यांकले पनि पछिल्लो महिना विदेशी पर्यटकको संख्या बढेको देखाउँछ । अध्यागमन विभागका अनुसार गत अगष्ट महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ५ हजार ८३ पर्यटक भित्रिएकोमा सेप्टेम्बरमा यो संख्या बढेर ६ हजार ९४२ पुगेको छ ।
प्रतिक्रिया