शनिबार, फागुन ३, २०८१

जंगली हात्तीले सामुदायिक वनको भवन भत्काउँदा लाखौँ क्षति

मेरोन्यूज २०७८ कार्तिक १४ गते १४:५५

काठमाडौँ । शुक्लाफाँटा नगरपालिका ८ फुलेलीमा रहेको बैजनाथ सामुदयिक वन उपभोक्ता समितिको कार्यालय भवन आज बिहान जंगली हात्तीको बथानले भत्काई दिएको छ ।

Advertisement
IMEnabil

सामुदायिक वनको कार्यालय भवन भत्काएपछि त्यसभित्र रहेका महत्वपूर्ण कागजपत्र, दराज, कम्प्युटर लगायतमा क्षति पुगको छ । “बिहानको झिसमिसेमै आएको हात्तीको बथानले कार्यालय भवन भत्काएको छ”, सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महराले भने, “पूरै भवनको पर्खाल भत्काई दिएकाले ठूलै क्षति भएको छ ।”

कार्यालयभित्र राखेका सबै सामान कामै नलाग्ने गरी क्षति भएको उनले जानकारी दिए । केही दिनअघि हात्तीको बथान सामुदायिक वन क्षेत्रमै रहँदै आएकाले सतर्कता अपनाउँदै आएको उनले जानकारी दिए ।

सतर्कता अपनाउँदा पनि हात्तीको बथानले कार्यालय भवन भत्काएको छ । कार्यालयमा चौकीदारलगायत वनका पदाधिकारी कोही नभएकाले मानवीय क्षति हुनबाट जोगिएको उनले जानकारी दिए ।

केही दिनअघि मात्रै हात्तीको बथानले बेलडाँडी गाउँ नजिकै रहेको थारू संग्रहालयको भवनसमेत भत्काई क्षति गरेको थियो । झण्डै दुई साताअघि मात्रै शुक्लाफाँटा १२ वसन्तपुरका दम्पतीको हात्तीले आक्रमण गरी ज्यान लिएको थियो । गत वर्ष शुक्लाफाँटा १ बन्साहामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया