‘तिहारको चिल्लो र गुलियोबाट स्वास्थ्यलाई जोगाऔँ’

कैलाली । कैलालीको टीकापुरकी झरना रिमालले तिहारका समयमा थरिथरिका खानेकुरा पकाउछिन् । उनले हरेक वर्षको तिहारमा रमाइलो गर्न, दाजुभाइलाई कोसेली दिन र घरपरिवारमा खानकै लागि भए पनि चिल्ला खानेकुरा पकाउछिन् ।
“रोटी पकाउन सुरु भइसकेको छ । तिहारमा महिनौँसम्म खानका लागि रोटी पकाउने गर्दछु”, उनले भनिन्, “तिहारमा विभिन्न प्रकारका चिल्ला रोटी र मिठाई बनाएर रमाइलो गर्ने चलन छ । भाइटीकाका दिन दाजुभाइलाई पनि विभिन्न प्रकारका रोटी र मसला कोसेली दिने गर्छौँ ।”
तिहार दाजुभाइ तथा दिदीबहिनीको महत्वपूर्ण पर्व भएकाले यसलाई विशेष तवरले मनाउने गरिन्छ । विशेषगरी दाजुभाइ, दिदीबहिनी जमघट भएर भाइटीका लगाउने, मीठो खाने, कोसेली दिने चलन छ । तिहारको समयमा दाजुभाइलाई कोसेली दिन र खुवाउन दिदीबहिनीले विभिन्न चिल्ला परिकार पकाउने गर्दछन् ।
टीकापुरकै सृष्टि शाहलाई पनि तिहारमा रोटी नपकाउँदा रमाइलो लाग्दैन । उनका छिमेका सबै मिलेर रोटी पकाउछन् । थरिथरिका रोटी पकाउँदा, घर झिलिमिली गर्दा बल्ल रमाइलो हुन्छ उनी भन्छिन्, “हामी छिमेकमा मिलेर पालैपालो रोटी पकाउने गर्छौँ”, शाहले भनिन्, “सबै मिलेर पकाउँदा रमाइलो हुन्छ, चाडवाडमा मीठो र चिल्लो खाने, खुवाउने, अरुलाई बाँड्ने गर्छौँ ।”
जानकी गाउँपालिकाकी रुपकला विकको घरमा तिहारका लागि आवश्यक रोटी, फिनी, अर्सा, अनारसा र झिलङ्गी पाकिसके । अब उनी सेलरोटी पकाउने तयारीमा छिन् । चार दाजुभाइलाई टीका लगाउने तयारीमा जुटेकी विकले छिमेकीको सहयोग लिएर रोटी पकाउछिन् । “यसरी पकाएका रोटी एक महिनासम्म राख्छौँ, तेल र घ्यूमात्र प्रयोग गरेका रोटी महिनौँसम्म राख्दा केही बिग्रँदैन ।”
स्वास्थ्यकर्मी मेलिना केसीले पनि तिहारको समयमा रोटी पकाउछिन् । उनी चाडपर्व मनाउनका लागि मात्रै रोटी पकाउछिन् । केसीको परिवारलाई अनावश्यक चिल्लो खानेकुरा खान हुँदैन भन्ने राम्ररी थाह छ । “पर्व मनाउनका लागि थोरै परिकार पाक्छ, पाकेको परिकार देउसीभैलो खेल्नेलाई पनि खुवाउनुपर्छ”, उनी भन्छिन्, “हामी सचेत छौँ, अनावश्यक चिल्लो खादैनौँ, चिल्लो खाइहाले पनि रेसादार, झोलिलो खानेकुरा र हरियो सागपात बढी खान्छौँ ।”
केसीको परिवारलाई एकैपटक बढी चिल्लो र मीठो खानु हुँदैन भन्ने थाहा छ । “मैले मेरा बच्चालाई पनि खानपानमा ध्यान दिनुपर्छ भनी सिकाएकी छु”, उनले भनिन्, “चाडपर्वमा ख्याल नगर्दा स्वास्थ्य समस्या बढ्न सक्छ ।” तिहारमा पकाइने सेलरोटी, फिनी, अर्सा, अनारसा, झिलङ्गी आदि घ्यू वा तेलमा पकाउने भएकाले त्यसमा चिल्लो तथा गुलियोको मात्रा धेरै हुन्छ । चिल्लो तथा गुलियोले कोलेस्टेरोल बढाउँछ, रक्तचाप, मधुमेह र अम्लपित्त आदिको वृद्धि गर्दछ । तसर्थ अघिपछिको तुलनामा एकैपटक शरीरमा चिल्लो तथा गुलियो बढी नहोस् भनेर सतर्क रहनपर्ने चिकित्सकको सुझाव छ ।
टीकापुर अस्पतालका डा सम्वाद खरेल तेलमा पकाएका खानेकुरा पचाउन गाह्रो हुन्छ तसर्थ थोरै मात्रामा सेवन गर्नु उत्तम हुने बताउछन् । “खानेतेलको गुणस्तरमा ध्यान दिने, सकेसम्म शुद्ध तोरीको तेल, मकैको तेल, भटमासको तेल वा सूर्यमुखी तेल प्रयोग गर्नु राम्रो हुनुका साथै फलफूल, सागपात, पानी प्रशस्त सेवन गर्नुपर्छ”, डा खरेल भने, ‘‘खानपानमा ध्यान नदिँदा चाडपर्वका समयमा पनि अस्पतालमा बिरामीको सङ्ख्या बढ्छ । जथाभावी खानपानले मानिसलाई दीर्घकालीन असर पनि गर्न सक्छ ।” डा खरेल चाडपर्वमा चिल्लो रोटीको प्रयोग कम गर्न फलफूल खाने, हरियो सागपात बढी खाएर, रमाइलो गरेर पनि चाडपर्व मनाउन प्रोत्साहन गर्नुपर्ने सुझाव दिन्छन् । “स्वास्थ्य नै मानिसको जीवन भएकाले खानपानमा ध्यान दिऔँ ।” रासस
















चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको होः शिक्षामन्त्री
मनसुन पूर्वानुमानलाई अझ प्रभावकारी बनाउन अनुसन्धान र प्रविधिमा जोड
अवैध लागुऔषधसहित १३ जना पक्राउ
लेबनानमा १० लाख भन्दा बढी विस्थापित
उपकुलपति छनोटसम्बन्धी एकीकृत कार्यविधिः आवेदकले बौद्धिक चोरी र राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा गर्नुपर्ने
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया