मंगलबार, फागुन ६, २०८१

राष्ट्रपति निवासको आँगनमा देउसी भैलो

मेरोन्यूज २०७८ कार्तिक १८ गते १७:५९

काठमाडौँ । राष्ट्रपति कार्यालय शीतलनिवासको प्राङ्गणमा आज सांस्कृतिक संस्थानका कलाकार र बाल मन्दिरका बालबालिकाले देउसी भैलो प्रस्तुत गरेका छन् ।

Advertisement
IMEnabil

राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा ती कलाकारले देउसी भैलोसहित नेपालका विभिन्न क्षेत्र र भू–भागका लोक संस्कृति प्रस्तुत गरेका थिए । त्यस क्रममा सांस्कृतिक संस्थानका ३० जना कलाकारले नेपालको पूर्व र पश्चिमका देउसीसहित नुगेको डाली, साकेला, घरपट्टि नानी, तिहारै आयो, टप्पा, रोयला, असारे महिनाजस्ता लोक–सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

त्यसैगरी बालमन्दिरका बालबालिकाले पनि देउसी भैलो प्रस्तुत गरेका थिए । राष्ट्रपति भण्डारीले देउसी भैलो प्रस्तुत गर्ने कलाकार टोलीलाई सेलरोटी, फलफूल र दक्षिणासमेत प्रदान गरेकी थिइन् । उनले देउसी भैलोलाई दिइने परम्पराअनुसार नै बलेको दियो नाङ्लोमा राखेर चामल र सेलरोटीसहितको दक्षिणा आफैले दिएकी थिइन् ।

राष्ट्रपति भण्डारीले आफ्ना मौलिक गीत, संगीत, कला र साहित्यले जुनसुकै देशलाई पनि समृद्ध बनाउन सहयोग पुर्याउने भन्दै नेपालको लोक संस्कृति विश्वमै विशिष्ट र अद्वितीय रहेको बताइन् ।

उनले सांस्कृतिक संस्थानले नेपालको लोक–संस्कृति र परम्पराको संरक्षण र प्रवद्र्धनमा निर्वाह गरेको भूमिका अतुलनीय रहेको भन्दै आज प्रस्तुत देउसी भैलोका लागि सबै कलाकारलाई विशेष धन्यवाद दिएकी थिइन् ।

उनले कोरोना महामारीले असहज बनाएको नेपाली समाज र देशको अवस्थालाई सहजतातर्फ उन्मुख गराउन यस्ता सांस्कृतिक कार्यक्रमहरूले पनि योगदान पुर्याउन सक्ने बताइन् । राष्ट्रपति कार्यालयको आँगनमा यसरी आफ्ना प्रस्तुति दिन पाएकामा कलाकारहरुले निकै खुशी व्यक्त गरेका थिए ।

प्रतिक्रिया