उपसचिवबाट अवकाश भएका रानाले गरे कागती खेती

दमौली । तनहुँको बन्दिपुर गाउँपालिका १ बानियाँटारका धनबहादुर रानाले सरकारी जागिरको अवकाशपछि कागती खेती शुरु गरेका छन् । पैतिस वर्ष सरकारी सेवामा बिताएका रानाले उपसचिव पदबाट अवकाश लिएपछि कागती खेती शुरु गरेका हुन् ।
उनले २१ रोपनी क्षेत्रफलमा आठ सय कागतीका बिरुवा लगाएका छन् । कृषि ज्ञान केन्द्र तनहुँले उक्त बिरुवा निःशुल्क उपलब्ध गराएको हो । ज्ञान केन्द्रको प्रविधि प्रदर्शन कार्यक्रमअन्तर्गत कागती खेती शुरु गरेको रानाले बताए ।
“व्यावसायिक रुपमा कागती उत्पादन गर्ने उद्देश्य लिएर कागती खेती शुरु गरेको हुँ”, उनले भने, “कागतीका बिरुवा रोपेको एक वर्ष भयो ।”
सुन्तला खेतीभन्दा कागती खेती गर्न परिश्रम बढी लाग्ने उनको भनाइ छ । “सुन्तला खेतीका लागि वर्षमा एक पटक परिश्रम गरे हुन्छ, तर कागतीलाई महिनाको एकचोटी विषादी हाल्नै पर्छ”, उनले भने । कागती खेतीमा क्याङ्कर रोगको समस्या बढी हुने भएकाले महिनाको एकपटक विषादी हाल्नै पर्ने उनको अनुभव छ । “रोग लागे नि नलागे पनि सुरक्षाका लागि महिनाको एकपटक विषादी हाल्नैपर्छ”, उनले भने ।
रानाले कागती खेतीका लागि मलचिङ प्रविधि प्रयोग गरेका छन् । मलचिङ गरेपछि चिस्यानबाट संरक्षण गर्ने, कम मल प्रयोग गरे हुने र बिरुवा राम्रो हुने उनको भनाइ छ । “मलचिङ गरेपछि पानीको संरक्षण, झार आउन नदिने, मलको काम गर्ने र विषादीको पनि काम गर्ने भएकाले यसको फाइदा छ”, उनले भने ।
कागती खेतीका लागि सुख्खा मौसममा फागुनदेखि जेठसम्म १५÷१५ दिनमा अनिवार्य पानी हाल्नु पर्छ । “मैले कागती खेतीका लागि थोपा सिंचाई पनि प्रयोग गरेको छु, यसले कागती खेतीका लागि सहयोग पुगेको छ”, रानाले भने, “पहाडी भेगमा कागती खेती गर्दा थोपा सिंचाई अति उपयोगी हुन्छ ।”
पानीको सुविधा, मलको उचित व्यवस्थापन र स्याहार सम्भार गर्न सके पहाडी भेगका जुनसुकै ठाउँमा पनि कागती खेती गर्न सकिने रानाले बताए ।
कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले यस ठाउँको कागती खेतीलाई तनहुँकै नमूनाको रुपमा विकास गर्न लागिएको बताए । “गत वर्ष यस ठाउँमा थोपा सिंचाई प्रविधि प्रदर्शन र सुन्तलाका जात प्रदर्शन गरेका थियौ, कागतीको नमूना फार्म बनाउन पनि सहयोग गर्यौ,” उनले भने ।
नमूना कागती फार्म भएकाले कागती खेती गर्नेले एकपटक यस ठाउँको अवलोकन गर्न प्रमुख तिवारीले सुझाव दिए । “यो ठाउँ हेरेपछि कागती खेती कसरी गर्नुपर्छ भन्ने थाहा हुन्छ”, उनले भने ।










झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबलाई
प्रधानमन्त्रीद्वारा स्थानीय जनप्रतिनिधिसँग छलफल
दिल्लीमा वायु प्रदूषण चरम स्तरमा, सडकमा विरोधमा
नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त
दिल्लीमा वायु प्रदूषण चरम स्तरमा, सडकमा उत्रिए बासिन्दा
क्रिकेटः नेपालद्वारा भारत ९२ रनले पराजित
बागलुङमा पिकअप दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो
कांग्रस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
मधेश प्रदेशका सांसद रहबर अन्सारीले आफ्नै अनुहारमा दले कालो मोसो
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
प्रतिक्रिया