बिहीबार, वैशाख ३, २०८३

शिक्षकहरुलाई सक्रिय राजनीति गर्न प्रचण्डको उर्दी

मेरोन्यूज २०७८ मंसिर ७ गते १९:५३

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षकहरुलाई राजनीति गर्न नदिए नेपालको पार्टी प्रणाली नै कमजोर हुने बताएका छन् ।

मंगलबार पार्टी निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिको एकताको दोस्रो राष्ट्रिय परिषद्लाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले शिक्षकहरु सक्रियतापूर्वक राजनीतिक रुपान्तरणको काममा लाग्नुपर्ने बताए ।

नेपालका सबै पार्टीलाई जनतामा स्थापित गराउने काम शिक्षकहरुले नै गरेको भन्दै उनले शिक्षकहरुले राजनीति गर्नु हुँदैन भन्नु पार्टी प्रणालीलाई नै कमजोर पार्ने नीति भएको बताए ।

प्रचण्डले शिक्षकहरुलाई प्राविधिक रुपमा अप्ठ्यारो नपर्नेगरी राजनीति गर्ने वातावरण बनाइने पनि उल्लेख गरे ।

शिक्षकहरुलाई प्रशिक्षित गर्दै प्रचण्डले भने– ‘अब टेक्नीकल्ली के गर्नुपर्छ भन्ने विल्कुल गौण कुरा हो । त्यो सहायक कुरा हो । टेक्नीकल्ली तपाईहरुलाई अप्ठ्यारो नपर्नेगरी सक्रियतापूर्वक जनताको बिचमा काम गर्ने वातावरण बनाइन्छ । बनाउनुपर्छ । तपाईँहरु दुविधामा नरहनु होला ।’

वर्तमान सत्ता गठबन्धनका नेतासमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शिक्षकहरुलाई राज्यले अन्याय गरेको पनि उल्लेख गरे ।
शिक्षकहरुलाई राज्यले विभेदमा पारेका कारण शिक्षकहरुले आन्दोलन गर्नुपरेको र क्रान्तिकारी हुनुपरेको उको भनाई छ ।

प्रचण्डले मधेशमा माओवादीको पक्षमा जनलहर आएको दावी गरे । उनले महन्थ ठाकुर र राजेन्द्र महतोले एमाले अध्यक्ष केपी ओलीसँग आत्मसमर्पण गरेर माओवादी केन्द्रलाई गुन लगाएको बताए ।

उनले एमाले अध्यक्ष केपी ओली मधेशी जनताको आत्मसम्मान र पहिचानविरोधी खलनायक भएको आरोप समेत लगाए ।

प्रचण्डले अहिले माओवादी केन्द्रको भागमा शिक्षा मन्त्रालय रहेको भन्दै शिक्षकहरुको समस्या समाधानका लागि आफ्नो पार्टीले सकेको काम गर्ने प्रतिवद्धता जनाए ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

प्रतिक्रिया