शिवाकोटीलाई मानार्थ कोरियाली नागरिक सम्मान

सउल । दक्षिण कोरियाले नेपाली नागरिकलाई कोरियाको मानार्थ नागरिकको सम्मान प्रदान गरेको छ । मोरङ, विराटनगरका नवराज शिवाकोटीले यही मङ्सिर १५ गते सउल महानगरपालिकाद्वारा आयोजित समारोहबीच कोरियाको मानार्थ नागरिकको सम्मान प्राप्त गरेका हुन् ।
महानगरपालिकाले हरेक वर्ष विदेशीलाई यस्तो सम्मान दिन्छ । दक्षिण कोरिया सरकारले नेपाल र कोरियाको सांस्कृतिक, आर्थिक सम्बन्ध निर्माण गर्न पुलको भूमिका निर्वाह गरेवापत उनलाई सम्मान दिएको हो । उनले महानगरपालिकाका प्रमुख उ सेहुन्बाट सम्मानपत्र, मानार्थ नागरिकताको प्रमाणपत्र र एक रजत पदक प्राप्त गरे ।
मानार्थ नागरिक सम्मान
कोरिया सरकारले आफ्नो देशको विकासमा योगदान दिने विदेशीको खोजी गर्दैै मानार्थ नागरिक सम्मान दिन्छ । हरेक वर्ष प्रदान हुने सो सम्मान प्राप्त गर्न निश्चित मापदण्ड तोकिएका छन् । सम्मान प्रदान गर्नुअघि विदेशी नागरिकलाई लक्ष्य गरी यहाँको सउल मेट्रोपोलिसन गभर्मेन्टको योजना तथा प्रशासन मन्त्रालयअन्तर्गतको इन्टरनेशनल रिलेसन डिभिजनले मानार्थ नागरिकका लागि प्रस्ताव आह्वान गर्छ । जसले सम्मान प्राप्त गर्नका लागि आफू योग्य भएको आवेदन दिन्छ, उसका लागि दक्षिण कोरियामा, विशेषगरी सउल महानगरपालिकामा बसोबास गर्ने ३० जनाले सिफारिस गर्नुपर्छ । त्यसपछि महानगरपालिकाले वर्षमा एक देशबाट एक वा दुई जनासम्मलाई सम्मान दिन्छ ।
मानार्थ नागरिक पाउने नेपाली
सन् १९५८ देखि हालसम्म नेपालीसहित विश्वका १०० भन्दा बढी मुलुकका करिब ९०० नागरिकले सो सम्मान प्राप्त गरिसकेको महानगरपालिकाले जनाएको छ । पचास हजारभन्दा बढी नेपाली बसोबास गर्ने कोरियामा नेपालका तर्फबाट शिवाकोटीसहित हालसम्म १० जनाले सो सम्मान प्राप्त गरिसकेका छन् । यसअघि नेपाली नागरिक केपी सिटौला, तेञ्जि शेर्पा, राजु क्षेत्री, हर्कबहादुर गुरुङ, जुनु गुरुङ, गम्भीरमान श्रेष्ठ, विपीन गुरुङ, सुजन शाक्य, भजिन्द्र क्षेत्री र भानु श्रेष्ठले सम्मान पाएका छन् ।
व्यवसायी, संस्कृतिकर्मी र स्वयंसेवक
मोरङका स्थायी बासिन्दा शिवाकोटी सन् २००६ मा कामदारका रूपमा कोरिया प्रवेश गरेका हुन् । अर्थशास्त्र र राजनीतिशास्त्रमा स्नातक गरिरहेका शिवाकोटीले कोरियामा भविष्य छ जस्तो लागेर पढाइ छाडेर आफू विदेशिएको बताए । सो समयमा रोजगार अनुमति प्रणालीको व्यवस्था थिएन । उनले मुनड्रप्स मेनपावरबाट दक्षिण कोरिया प्रवेश गरेका हुन् ।
सन् २००८ देखि कोरिया र नेपाल सरकारबीच इपिएससम्बन्धी सम्झौता भयो । रोजगार संस्थाबाट आउने सबैलाई इपिएस अन्तर्गत पुनः सम्झौता भयो र पालैपालो गरेर अझै थप १० वर्षका लागि प्रवेशाज्ञा लागे । “११ वर्ष एउटै कम्पनीमा काम गरेपछि कमाएको पैसाले कोरियामै व्यवसाय गर्नुपर्छ भन्ने मलाई लाग्यो । सम्भावना पनि यता धेरै थियो”, उनले भने । उनले करिब एक करोड ३० लाखका लगानीमा राजधानी सउलमा निरोशा रेष्टुरेन्ट सञ्चालन गरे । विशेषगरी नेपाली र भारतीय खाना र स्वाद पाइने उक्त रेष्टुरेन्टका सञ्चालक रूपमा उहाँको परिचय विस्तारै कोरियामा फैलिन थाल्यो । सुरुआती चरणदेखि नै यहाँको एनआरएनए, एनसिसी, पूर्वाञ्चल सरोकार समाज दक्षिण कोरियालगायत संस्थामा सल्लाहकारका रूपमा सेवा गरेका शिवाकोटी हाल विभिन्न संघसंस्थामा आबद्ध छन् ।
उनले फुर्सदका समयमा स्थानीय प्रहरीसँग सम्पर्क बढाउने तथा यहाँका संघसंस्थामार्फत स्वयंसेवा गर्ने कार्य गर्दै पनि गए । यसो गर्दै जाँदा कोरियामा सन् २०१७ देखि यहाँको एशियाली संस्कृतिमा सहभागी हुने र नेपाली संस्कृतिलाई पनि सहभागी गराउने मौका मिल्यो । सन् २०१९ देखि २०२१ का लागि उनलाई १८ वर्षमुनिका बालबालिकाका लागूऔषध सेवन रोकथाम अभियानमा स्वयंसेवा गर्ने अवसर मिल्यो ।
स्वयंसेवाकै क्रममा कोरोनाबारे जानकारी दिने तथा कोरोनाविरुद्धको खोप अभियानमा निरन्तर सहयोग पु¥याउने कामले सो सम्मान दिलाएको उनले बताए । “यो मानार्थ नागरिकको सम्मान सिङ्गो नेपालले खुसी विषय हुन सक्छ”, शिवाकोटीले बताए । जीवन खत्री/रासस
















सामाजिक न्यायको हक लागू गर्न सर्वोच्चको आदेश
बज्र ग्रुपद्वारा नयाँ एलभीनेङ इलेक्ट्रिक स्कुटर मोडल सार्वजनिक
एनआईसी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक
एक महिनामा भित्रिए ९२ हजार पर्यटक
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
प्रतिक्रिया