बिहीबार, पुष ३, २०८२

राष्ट्रकवि घिमिरेको सम्मानमा हुलाक टिकट प्रकाशन

मेरोन्यूज २०७८ मंसिर २२ गते १७:४९

काठमाडौं । सरकारले राष्ट्रकवि माधवप्रसाद घिमिरेको सम्मानमा हुलाक टिकट प्रकाशन गरेको छ ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा राष्ट्रकविको सम्मानस्वरुप हुलाक टिकट प्रकाशन गरिएको जानकारी दिइएको हो ।

कार्यक्रममा बोल्दै नेपाल सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्वर्गारोहणपछि पनि राष्ट्रकवि घिमिरे सबैको प्रेरणाको श्रोत रहेको बताए ।

उनले धर्ती रहुन्जेल नेपाल र नेपाली रहने र नेपाली रहुन्जेल राष्ट्रकविको संस्मरण भइरहने बताए ।

मन्त्री कार्कीले राष्ट्रकवि घिमिरेको योगदानलाई ताजा गराउन हुलाक टिकट प्रकाशन गरिएको र यो नेपालीहरुको लागि गौरवको विषय भएको उल्लेख गरे ।

कार्यक्रममा राष्ट्रकवि घिमिरेकी छोरी डा.किरण रेग्मीले मृत्युपछि पाएको हुलाक टिकटको सम्मान हरेक नागरिकका घरमा पुग्ने बताइन् ।

उनले मानिसहरुले देहावसानपछि बिस्तारै बिर्सिंदै जाने भनेपनि पिताका गीत र कविताहरु कहिल्यै बिर्सिन नसकिने बताइन् ।

डा. रेग्मीले गाउँछ गीत नेपाली भन्ने गीत राष्ट्रगानबाट हटाएकोप्रति चिन्ता व्यक्त गरिन् । उक्त गीतमा नेपाल र नेपालीहरुको बारेमा सबै यथार्थ चित्रण गरिएकोले नेपालको बारेमा धेरै कुरा जानकारी मिल्ने समेत उनको भनाई छ ।

‘राष्ट्रगानमा देशको सीमा, दलित, जनजाती सबैलाई छोएको गीत गाउँछ गीत नेपाली भन्ने थियो, अब हुन पाएन, केही कारणले होला, समयले होला । त्यो गीतले शरीर नै तात्थ्यो ।’– डा. रेग्मीले भनिन् ।

डा. रेग्मीले पिताका कविता र गीतहरुले राष्ट्रको परिचय दिने र कालजयी रहने बताइन् ।

प्रतिक्रिया