चार महिनामा पाँच करोड रुपैयाँको कोदो आयात

काठमाडौँ । पूर्वी नाका काँकडभिट्टा हुँदै चालु आर्थिक वर्षको पहिलो चार महिनामा पाँच करोड रुपैयाँभन्दा बढीको कोदो नेपाल आयात गरिएको छ ।
क्वारेन्टिन कार्यालय काँकडभिट्टाका अनुसार चालु आर्थिक वर्ष २०७८–०७९ को साउन, भदौ, असोज र कात्तिकमा पाँच करोड १५ लाख मूल्य बराबरको एक हजार ६१० मेट्रिक टन कोदो आयात गरिएको हो । गत वर्ष सोही अवधिमा चार करोड ५२ लाख मूल्यको एक हजार ५७० मेट्रिक टन कोदो आयात भएको थियो ।
क्वारेन्टिन कार्यालय काँकडभिट्टाका वरिष्ठ बाली संरक्षण अधिकृत देविन्द्र साहुले भारतको उत्तरखण्ड, झारखण्ड र सिलगुढीबाट कोदो आयात हुने गरेको बताए । उनले गत वर्षको तुलनामा यस वर्ष ४० मेट्रिक टन बढी कोदो आयात भएको जानकारी दिए ।
विर्तामोड नगरपालिका–५ मा मोती इन्टरनेशनल बिक्री केन्द्रमार्फत पवनकुमार अग्रवालले मासिक साढे सात हजार किलो कोदो भारतबाट खरिद गरेर ल्याउने गरेको बताए । उनले भारतबाट ल्याइने कोदोलाई ५० किलोका बोरामा प्याकेजिङ गरेर बिक्री गर्ने गरेको जानकारी दिए । अग्रवालजस्तै अन्य पाँच बिक्री केन्द्रले भारतबाट कोदो ल्याएर नेपालमा प्याकेजिङ गरेर बिक्री गर्दै आएका छन् ।
नेपाल २० वर्ष अघिसम्म हेटौँडाबाट उत्पादन हुने कोदोमा आत्मनिर्भर रहेको तर, हेटौँडामा कोदोको उत्पादन हुन छाडेपछि भारतीय कोदो ल्याएर बिक्री गर्दै आएको उनले बताए । ‘गुणस्तरीय कोदो उत्पादन हुन्थ्यो हेटौँडामा,’ उनले भने, ‘युवा जति पलायन हुन थालेपछि र कोदो खेती हुने जमिनमा सहरीकरण भएपछि नेपाल कोदोमा परनिर्भर हुनुपर्यो ।’
कृषि ज्ञान केन्द्रका अर्थविज्ञ शालिकराम भट्टराईले झापामा ९५० हेक्टर जमिनमा मात्र कोदो खेती हुँदै आएको बताए । नेपालको पहाडी तथा तराईका जिल्लामा कोदो खेती प्रशस्तै हुने भए पनि किसानको ध्यान त्यतातिर नजाँदा परनिर्भर हुनुपर्ने बाध्यता भएको बताएका थिए ।
उनले विशेष गरी जाँड रक्सी बनाउनका लागि कोदो भारतबाट आयात हुने गरेको जानकारी दिए । उनले पछिल्लो समय होमस्टे, रेष्टुराँमा कोदोको रोटी, ढिँडोको परिकार बनाउनसमेत आयात हुने गरेको बताए ।










प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया