बुधबार, पुष ९, २०८२

इलाम नगरपालिकाले सञ्चालनमा ल्यायो आँखा अस्पताल

मेरोन्यूज २०७८ पुष ११ गते ८:२९

काठमाडौँ । इलाम नगरपालिकाले आँखा अस्पताल सञ्चालनमा ल्याएको छ । नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गरेर छुट्टै कार्यविधि जारी गरी अस्पताल निर्माण गरेको हो ।

जिल्लामा स्थापना भएको सामुदायिक आँखा अस्पताल स्थानीय तहले सञ्चालन गरेको देशकै पहिलो अस्पताल रहेको बताइएको छ । अस्पताल निर्माणका लागि अघिल्लो आर्थिक वर्षमा नगरपालिकाले रकमान्तर गरेर ५० लाख जुटाएको थियो ।

चालु आवमा एक करोड विनियोजन भएको छ । विनियोजित रकममध्ये ५७ लाख ९० हजार खर्च भएको छ । यसमध्ये ५३ लाख २४ हजार पूँजीगतमा र चार लाख ६५ हजार सञ्चालनमा खर्च भएको छ ।

अस्पतालमा अहिले शल्यक्रियाबाहेकको सेवा उपलब्ध छ । आँखाको जनरल ओपिडी, जनरल उपचार, सामान्य शल्यक्रिया, चश्मा बनाउनेलगायतका सेवा दिइनेछ । जिल्लामा आँखा अस्पताल नहुँदा आँखाका सामान्य बिरामीले पनि जिल्ला बाहिर गएर सेवा लिनु पर्ने अवस्था थियो ।

अस्पतालमा सातौँ तहको एक नेत्र विषेशज्ञ, पाँचौँ तहका एक नेत्र सहायक, एक फार्मेसिष्ट र एक चश्मा बनाउने प्राविधिक राखिएको छ । यस आँखा अस्पताल सञ्चालनपछि जिल्लाका ग्रामीण भेगका बासिन्दालाई समेत सहज हुने भएको छ ।

आँखा अस्पतालको सेवा प्रारम्भ भएको नगरउपप्रमुख सुशीला नेम्वाङले जानकारी दिइन् । उनका अनुसार यस अस्पताल सञ्चालनपछि स्थानीय तह र जिल्लाका अन्य स्थानीय तहका बासिन्दाले समेत सेवा लिनसक्ने नगर प्रमुख महेश बस्नेतले बताए ।

प्रतिक्रिया