उखान पछ्याउँदै जाँदा दुई शताब्दीपछि भेटियो ‘हङरायो’

झापा । ‘हाङ्ग्रोले पाङ्ग्रो निल्छ’ भन्ने उखान पूर्वी पहाडमा निकै चर्चित छ । यही उखानको सहाराले चरा खोजकर्ता देवेन्द्र खरेललाई दुर्लभ पक्षी रुफ्स नेक्ड हर्नबिल (नेपाली नाम–हङरायो)को कीर्तिमानी तस्वीर खिच्न सफलता मिलेको छ ।
पहाडमा पाइने पाङ्ग्रो एक प्रकारको लहरे वनस्पतिको फल हो । जो ज्यादै कडा र चराले खान नसक्ने आकारको हुन्छ । उखानअनुसार एउटा चरा छ, जसले पाङ्ग्रो देख्नेबित्तिकै हतार–हतार खान्छ । मानिसहरूले हतारमा कुनै वस्तु खाँदा ‘हाङ्ग्रोले पाङ्ग्रो’ निलेकोझैँ भनेर उखान जोड्ने चलन छ ।
चरा खोजकर्ता खरेलले इलामको सूर्योदय नगरपालिका–१ सीमधापमा यही पुस ६ गते एक जोडी ‘हङरायो’को तस्वीर खिचेका हुन् । लोप भएको ठानिएको यो चरा नेपालमा १९२ वर्षपछि उहाँले खिचेको हुँदा यसलाई ठूलो उपलब्धिका रूपमा लिइएको छ ।
नेपालमा चराका विषयमा खोज गरेका ब्राइन हड्सन नामका विदेशी विज्ञले सन् १८२९ मा नेपालमा ‘हङरायो’ भेटिएको उल्लेख गरेका थिए । त्यसयता नेपालमा यो पंक्षीको अस्तित्व कसैले पुष्टि गर्न सकेको थिएन । विज्ञहरुले विभिन्न दस्तावेजमार्फत यो चरा नेपालमा लोप भइसकेको जानकारी दिने गरेका थिए ।
चरा खोजीमा रुचि राख्दै आएका मेचीनगर नगरपालिका–६ काँकडभिट्टा निवासी वाइल्ड लाइफ फोटोग्राफर खरेललाई चराविद् कमल मादेनले ‘हाङ्ग्रोले पाङ्ग्रो निल्छ’ भन्ने उखान सुनाउँदै नेपालमा हङरायोको अस्तित्व हुनसक्ने बताएका थिए । मादेनले दिएको प्रेरणाका आधारमा नै उखान पछ्याउँदै जाँदा हङरायोको अस्तित्व पुष्टि गर्ने अवस्थासम्म पु¥याएको खरेलले बताए ।
‘मादेन सरले मलाई हङरायो खोज्न प्रेरित गर्नुभयो, मैले पनि सानैदेखि ‘हाङ्ग्रोले पाङ्ग्रो निल्छ’ भन्ने उखान सुन्दै आएको थिएँ’, उनले भने, ‘त्यही हङरायोलाई गाउँतिर पाङ्ग्रो निल्ने हाङ्ग्रो भन्दा रहेछन् ।’ पत्रकार सम्मेलन गरी उनले आफूले खिचेका हङरायोका तस्वीर सार्वजनिक गराउनुका साथै नेपालमा भएका चराहरूको संरक्षण जरुरी भएको बताए ।
‘हङरायो’ चरा अस्तित्वमा रहेको पुष्टि गरिदिएपछि चरासम्बन्धी खरेलको खोजको प्रशंसा भइरहेको छ । साथै पाङ्रा निल्ने दुर्लभ चरा पूर्वी नेपालमा डुलिरहेको छ भन्ने सत्य सावित भएको छ । ‘चराको खोजीका लागि इलामको जङ्गलमा डुलिरहेका बेला अचानक अनौठो चराको जोडी पखेटा फट्फटाउँदै एउटा रुखबाट अर्को रुखमा उडेर गएको देखेँ’, खरेलले चरा भेट्टाउँदाको क्षण सम्झिँदै भन्नुभयो, “हत्तपत्त क्यामेरा निकालेर ४५ सट तस्वीर खिचेर हेर्दा नेपालमा लोप भइसकेको घोषणा गरिएको हङरायो पो रहेछ भन्ने थाहा भयो ।’
धनेष चराको जस्तो मोटो चुच्चो र टाउकामा सिङजस्तो देखिने कडा भाग भएको ‘हङरायो’ निकै लामो र ठूलो हुने खरेलले बताए । झापाको मेचीनगरमा अरु तीन प्रकारका ‘हङरायो’को प्रजाति फेला पारिसकेको भए पनि रुफ्स नेक्ड हर्नबिल प्रजातिको चरा फेला पार्नु आफ्नो वाइल्ड लाइफ फोटोग्राफी जीवनका लागि अभूतपूर्व उपलब्धि बनेको उनले सुनाए ।
वाइल्ड लाइफ फोटोग्राफीमा रुचि राख्ने खरेलले विगत पाँच वर्षदेखि निजी खर्चमा चराको खोज अनुसन्धान र संरक्षण गर्ने अभियान सञ्चालन गरिरहेका छन् । उनले नेपालमा पाइने ८८७ मध्ये ४०० भन्दा बढी प्रजातिका चराको तस्वीर आफ्नै क्यामेराले कैद गरिसकेका छन् ।
झापाको मेचीनगर नगरपालिकालाई नेपालकै सबैभन्दा बढी चरा पाइने पालिकाका रूपमा चित्रण गर्दै आएका उनले मेचीनगरमा मात्र ३०० भन्दा बढी प्रजातिको चराको तस्वीर खिचिसकेको दाबी गरेका छन् । ‘संरक्षित क्षेत्रबाहेक नेपालमा सबैभन्दा बढी चरा पाइने ठाउँ मेचीनगर नै हो’, उनी भन्छन्, ‘यहाँ खोला चरामात्रै पनि २० प्रजातिका छन् भने दुर्लभ मानिएको तीन प्रजातिका हङरायो भेटिएको रेकर्ड मसँग छ ।’
चराविद् मादेनले नेपालमा लोप भइसकेको घोषणा गरिएको रुफ्स नेक्ड हर्नबिलको पुनः खोजी गर्ने र पहिलो तस्वीर खिच्ने व्यक्ति झापाका खरेल नै भएको बताएका छन् । उनले एउटा लेखमा भारत, भूटान, चीन, म्यान्मार र थाइल्याण्डमा थोरै सङ्ख्यामा पाइने यो चरा नेपालमा लोप भएको भनेर केही विज्ञले झुटो दाबी गरेको भए तापनि आफूले ‘हङरायोले पाङरो निल्छ’ भन्ने प्रचलित उखानका आधारमा पूर्वी पहाडमा यसको अस्तित्व रहेको अनुमान सार्वजनिकरूपमै गर्दै आएको जिकिर गरे ।
क्यारोल इन्स्किप र टी इन्स्किपले संयुक्तरूपमा सन् १९८५ मा प्रकाशित गरेको ‘अ गाइड टु दी बर्डस् अफ नेपाल’ नामक पुस्तकमा यो चरा नेपालबाट सम्भवतः लोप भइसकेको भनेर उल्लेख गरेका थिए । विदेशी विज्ञहरुले पर्याप्त खोज नै नगरी ‘हङरायो’ लोप भयो भनी गरेको घोषणालाई चरा खोजकर्ता खरेलले गलत सावित गरिदिएकामा खुशी लागेको मादेनले उल्लेख गरेका छन् ।
खरेलले नै मेचीनगर–३ बेँसीबजारमा ग्रेट हर्नबिल, मेचीनगर–११ को बाँसबारी वनमा ओरियन्टल हर्नबिल र मेचीनगर–६ काँकडभिट्टामा इन्डियन ग्रे हर्नबिलको तस्वीर खिचेको जानकारी दिए । स्थानीय लोकतन्त्र पोष्ट दैनिकमा फोटो पत्रकारितासमेत गर्दै आउनुभएका खरेलले चराहरूको खोज तथा अनुसन्धानमा हालसम्म रु सात लाख निजी खर्च गरिसकेको र कुनै निकायबाट आर्थिक सहयोग नपाएको बताए । पुरानो भइसकेको क्यामेरा र लेन्सबाट चरा खोज गर्न असजिलो हुँदै गएको समस्या सुनाउँदै उनले अत्याधुनिक प्रविधियुक्त क्यामेरा किन्न सामथ्र्य नरहेको जानकारी दिए ।
तीन सयभन्दा बढी प्रजातिका चरा पाइने मेचीनगरलाई चरा संरक्षित क्षेत्र घोषणा गरेर चरा मार्न निषेध गरिनुपर्ने उनले माग गरेका छन् । यही क्षेत्रमा उनले गत वर्ष विश्वमै दुर्लभ मानिएको हरित परेवाका तस्वीर खिचेका थिए । इलामको रोङमा खिचेको रातोढाडे पुष्पकोकिल नामक चराको तस्वीर खिच्ने पनि उनी नेपालको पहिलो व्यक्ति भएको बताइएको छ ।
नेपालमा चरा पर्यटनको प्रचुर सम्भावना रहेको जनाउँदै उनले स्थानीय सरकारले यस विषयमा चासो नदेखाएकामा दुःख व्यक्त गरे । सीमसार मासिने, जङ्गल क्षेत्रमा मानव अतिक्रमण बढ्ने र खोलाहरुमा ट्र्याक्टर र टिपरको बढ्दो कर्कश आवाजले चराको बासस्थान नासिने क्रम बढेको उनको धारणा छ । (रासस)

















Iranian drones hit Azerbaijan airport, near school
Israeli strikes killed eight people in south Lebanon : state media
शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकामा राष्ट्रपतिद्वारा सबैमा धन्यवाद
Voting concludes: EC says nearly 60 percent voter turnout
PM Karki, her Qatari counterpart hold phone talks, discuss Nepalis’ security in West Asia
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी
Why Tech Innovation Is Central to China’s 15th Five-Year Plan
राष्ट्रिय परिचयपत्र वा लाइसेन्स देखाएर पनि मतदान गर्न पाइने
प्रतिक्रिया